Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमहानगरीय प्रहरी कार्यालयद्वारा हालसम्म २७ सय जनालाई निःशुल्क खाद्य सामग्री वितरण

महानगरीय प्रहरी कार्यालयद्वारा हालसम्म २७ सय जनालाई निःशुल्क खाद्य सामग्री वितरण


काठमाडौं, वैशाख २१
महानगरीय प्रहरी कार्यालय रानीपोखरीले हालसम्म २७ सय जनालाई खाद्य सामग्री वितरण गरेको छ । सरकारले लकडाउनको घोषणा गरेपश्चात् चैत १६ गते निःशुल्क खाद्य सामग्री वितरणको अभियान सुरु गरेको कार्यालयले शनिबारसम्ममा २७ जनालाई राहत सामग्री वितरण गरेको हो ।

कोरोना भाइरस (कोभिड १९) महामारी रोकथामको लागि नेपाल सरकारले अंगिकार गरेको लकडाउन नीतिको कारण असहाय, अपाङ्गता भएका, फरक क्षमता भएका व्यक्तिहरू तथा ज्यालादारी गरी गुजारा चलाउने व्यक्तिहरू समस्यामा पर्न गई दैनिक खाना खानसमेत मुस्किल परेको छ । यो विषम परिस्थितिमा महानगरीय प्रहरी कार्यालयको विशेष पहल एवं विभिन्न बैंकहरूसँगको सहकार्यमा निःशुल्क खाद्य सामग्री वितरण गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेले बताए ।

कार्यालयले खाद्य सामग्री वितरणका क्रममा नेपाल बाल संगठन (बाल मन्दिर) नक्सालमा आश्रित एक सय जना बालबालिका, नेपाल बाल संगठन (बाल मन्दिर) सिफलमा आश्रित एक सय जना, निःसहाय सेवा सदन रहेका ३६ जनावृद्ध वृद्धाहरू, फ्युचर होप नेपाल गोठाटारमा संरक्षित २२ जना बालबालिकाहरू, सिर्जनशील बाल सेवा परिवारमा आश्रित १८ जना, नेपाल स्नेही काख एकान्तकुनामा आश्रित ७५ जना, पीडित सेवा संघमा रहेका नौ जना, न्यू विगिनर्स चिल्ड्रेन होम काँडाघारीमा रहेका १० जनासहित हालसम्म २७ सय जनालाई खाद्य सामग्री सहयोग गरेको उनले जानकारी दिए । ‘मुलुक लकडाउनको यस विषम परिस्थितिमा भोको पेटकै कारण सिर्जित हुनसक्ने विभिन्न अपराधहरू जस्तैः चोरी, डकैती, हत्या, हिंसा, ठगी आदिको रोकथाम तथा नियन्त्रणका साथै मानव सेवाको ध्येयले खाद्य सामग्री सहयोगको अभियानलाई लकडाउनको अवधिभर सञ्चालन गरिन्छ’, पोखरेलले भने ।

लकडाउनको अवधिभर उपत्यकामा अवस्थित कोही कसैले खाद्य सामग्री अभाव भएमा नजिकको प्रहरी कार्यालय वा महानगरीय प्रहरी कार्यालयको हटलाइन नम्बर १०० मा फोन गरी आफ्नो गुनासो टिपाउनसमेत प्रहरीले अनुरोध गरेको र सोही अनुुरोधका आधारमा पनि राहत सामग्री मागिने गरेको उनले बताए । प्रहरीले सुरु गरेको खाद्यान्न सहयोग कार्यक्रममा एनआईसी एसिया बैंक, प्रभुु बैंक, सानिमा बैंक, महालक्ष्मी विकास बैंक आदिले सहयोग गरेका छन् । यसैगरी हात धुुने व्यवस्थाको लागि माछापुुच्छ्रे बैंक, प्रहरीको मेस सुधारको लागि एनआईसी एसिया बैंकलगायतका विभिन्न संघसंस्थाहरूले सहयोग गरेको पनि उनले बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया