Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसीमापारि बसेका दुई सयभन्दा बढी नेपाली स्वदेशमा प्रवेश

सीमापारि बसेका दुई सयभन्दा बढी नेपाली स्वदेशमा प्रवेश


कञ्चनपुर, वैशाख ३१
विगत लामो समयदेखि भारतीय क्वारेन्टाइनमा रहेका नेपालीहरूलाई भारतले रातारात सीमा क्षेत्र गड्डा चौकीमा ल्याएर छाडेपछि उनीहरूलाई नेपालको क्वारेन्टाइनमा राख्नेगरी प्रवेश गराइएको छ । भारतीय पक्षले ४० दिनपछि आइतबार र सोमबार राति गरी सीमावर्ती भारतीय बजार वनवासाको स्कुलमा क्वारेन्टाइन बसेका दुई सय ५१ जना नेपालीलाई सिमानाका ल्याएर छाडेको थियो । पहिलो दिन आइतबार ७५ र सोमबार राति एक सय ६७ जनालाई भारतीय पक्षले टनकपुर नाका हुँदै ब्रम्हदेव ल्याएर छाडेपछि उनीहरूलाई कञ्चनपुरमा क्वारेन्टाइनमा राखिएको हो । उनीहरूलाई आरडीटी परीक्षण गरेर भीमदत्त नगरपालिकावडा नम्बर ४ महेन्द्रनगरमा भीमदत्त नगरपालिकाद्वारा निर्मित बैजनाथ माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखेको बताइएको छ ।

‘भारतीय क्वारेन्टाइनमा बस्दा कुनै ठूलै अपराध गरेका छौँ भन्ने लाग्थ्यो’, डडेल्धुरा पर्शुराम नगरपालिका–८ जोगबुढाका केशव धामीले भने,‘४० दिनपछि स्वदेश फर्किदा पाउँदा खुसी लागेको छ ।’ क्वारेन्टाइनबाट बसमा राखेर टनकपुर नाका भएर ब्रम्हदेव छाडिएको बताउँदै उनले स्वदेशी भूमिमा पुगेपछि कुनै ठूलो युद्ध जितेर आएजस्तो भइरहेको बताए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले स्वदेश फर्किएका नेपालीहरूको स्वास्थ्य परीक्षण गरिने बताए । भारतीय प्रहरीले नेपाली पक्षको सहमति र समन्वयबिनै एक्कासी सीमासम्म ल्याएर छाडेको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया