Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालघाइते अवस्थाको कस्तुरी मृगको उद्धार

घाइते अवस्थाको कस्तुरी मृगको उद्धार


महेन्द्र शाही
सोलुखुम्बु, जेठ ५
सगरमाथा राष्ट्रिय निकुञ्जले खुम्बुपासाङ ल्हामु गाउँपालिको थुम्ली छाँगास्थित त्याङ्बोचे पावर हाउसको जगंलबाट घाइते कस्तुरी मृगको उद्धार गरेको छ । निकुञ्जका कर्मचारी र शमशेर गुल्म नाम्चेका सेनाको संयुक्त गस्ती टोलीले घाइते कस्तुरी मृगको उद्धार गरेको हो । उद्धार गरेको कस्तुरी मृगको ढाडमा चोट लागेको अवस्थामा उद्धार गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले जानकारी दिए । उनका अनुसार घाइते कस्तुरी मृगलाई उपचारका लागि निकुञ्जको कार्यालयमा ल्याइएकोे र निको भएपछि निकुञ्जमै छाडिनेछ ।

करिब ५–६ वर्षको जस्तो देखिने पोथी कस्तुरी लडेर घाइते भएको हुनसक्ने अनुमान गरिएको छ । आस पासमा कुनै पनि पासो नभेटिएकाले लडेको हुनसक्ने उपाध्याको भनाइ छ । लकडाउनको समयमा वन्यजन्तुको जोरी शिकारी बढेको निकुञ्जको भनाइ छ । चोरी शिकारी नियन्त्रणका लागि स्थानीयसँगको सहकार्य भइरहेको छ । संरक्षणमा स्थानीय नै सक्रय हुनुपर्ने उपाध्यालले बताए । कुनै निकायले मात्र भन्दा पनि सबैको साथ भएको खण्डमा संरक्षणमा सफलता मिल्ने विश्वास गरिएको छ ।

यसैबीच सगरमाथा राष्ट्रिय निकुञ्जमा भएको चोरी सिकारीमा संलग्न भएको आरोपमा पक्राउ परेका ३ जनालाई निकुञ्जले जिल्ला प्रहरी कार्यालयलाई बुझाएको छ । गत वैशाख १५ गते निकुञ्ज क्षेत्रमा ६ ओटा कस्तुरी मृत भेटिएपछि पक्राउ परेका उनीहरूलाई निकुञ्जले आवश्यक अनुसन्धानका लागि प्रहरीलाई बुझाएको निकुञ्जका प्रमुख सरंक्षण अधिकृत भुमिराज उपाध्यायले बताए । चोरी सिकारीको आरोपमा गत वैशाख १९ गते खुवासभा घर भई खुम्बु पासङ ल्हमु गाउँपालिका ४ बस्ने ४७ वर्षीय विष्णु राई, महाकुुलुङ गाउँपालिका २ घर भई खुम्बुको फोर्चेमा बसोबास गर्ने ३६ वर्षीय रमेश राई र महाकुलुङ गाउँपलिकाको गुदेल घर भई खुम्बुमै बस्ने जनता रार्ई पक्राउ परेका थिए ।

निकुञ्ज स्रोतका अनुसार उनीहरू नै चोरी सिकारीमा सलंग्न भएको अनुसन्धानबाट खुल्न आएको छ । अनुसन्धान अन्तिम चरणमा पुगेकाले उनीहरूविरुद्ध मुद्दा चलाउने तयारी भइरहेको जनाइएको छ । उनीहरूले केही वर्ष पहिले कस्तुरी मारी विणा बिक्री गरेको समेत स्वीकार गरिसकेको बताइएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया