Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालअवसर गुमाउँदै ओली सरकार

अवसर गुमाउँदै ओली सरकार


काठमाडौं, जेठ ६
सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम भर्खरै सार्वजनिक भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ २ गते शुक्रबार आगामी आर्थिक वर्षभित्र सरकारले के–के काम गर्नेछ भन्ने योजनासहितको फेहरिस्त संसद्का दुवै सदनमा एकसाथ बाचन गरिन् । राष्ट्रपतिद्वारा सार्वजनिक भएको सो नीति तथा कार्यक्रमले नेपाली जनतालाई भने उत्साहित बनाउन सकेन । सर्वसाधरण नागरिकलाई सरकारले सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रमले उत्साह बढाउनेभन्दा पनि निरासा बढी थपिदिएको छ ।

मुलुक गतवर्ष चैत्र महिनाको ११ गतेदेखि पूर्णरूपमा बन्दाबन्दीको अवस्थाबाट गुज्रिरहेको छ । मुलुकले यति लामो समयदेखि भोग्नुपरेको यो विषम परिस्थितिलाई सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा हल्कारूपमा मात्र समेट्न खोजेको देखिन्छ अर्थात् नजरअन्दाज गरेको प्रस्ट छ । अहिले पूरै विश्व नै कोरोना महामारीका कारण त्राहीमाम बनिरहेको छ । अझ भन्नुपर्दा विश्वका मै हुँ भन्ने विकसित मुलुकहरू पनि यो भाइरसबाट त्राहीमाम बनेर डराइरहेका छन् ।

सम्पूर्ण बिश्व नै यस्तोे विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा नेपाल भने यो संक्रमण केही होइन भने जसरी हल्कारूपमा प्रस्तुत हुन खोज्नु कतिको जायज होला ? सरकार किन यसरी हल्कारूपमा प्रस्तुत हुन खोज्यो र खोज्ने काम किन गरिरहेको छ यसले आशंका जन्माएको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई अध्ययन गर्दा अहिले मुलुकमा कुनै ठूलो समस्या नरहेको र एक किसिमले भन्नुपर्दा रामराज्यको अवस्था रहेको छ भन्ने कुरा नीति तथा कार्यक्रमले दिन खोजेको बुझ्न सकिन्छ ।

कोभिड–१९ को भयबाट कसरी ज्यान जोगाउने र मुक्त हुन सकिएला भन्दै सर्वसाधरण नागरिक त्रसित बनेर पलपल मरेर पनि बाँच्न विवश छन् । यो संक्रमणबाट कसरी सुरक्षित रहने उपाय सरकारले सुझाइदेला भन्ने पर्खाइमा रहेका थिए । यस्तो अवस्थामा सरकारले केही न केही नयाँ उपाय लगाएर भए पनि जनताको जीउधनको रक्षा गर्ला भन्ने सोचेका थिए । सार्वजनिक भएको नीति तथा कार्यक्रममा त्यस्तो आशातित नयाँ कुरा केही पनि आउन सकेन । अहिले नेपाली जनताले भोग्नु परिरहेको यो त्रास र पीडालाई कसरी सुरक्षितसँग अवतरण गर्ने भन्ने विषयमा नीति तथा कार्यक्रम मौन रहेको जो कोहीले पनि सजिलै बुझ्न सक्छन् । सरकारले विपद्मा परेका नागरिकलाई सुरक्षित नेपाल फर्काउन र यो महामारीबाट जोगाउने उपाय र योजना ल्याउनुको सट्टा बरु आगामी वर्षहरूमा के–के गर्ने भन्ने योजना अगाडि सरारे निराशा थप्ने काम बढी गरेको छ । तत्कालका भन्दा पनि दीर्घकालीन योजना केका लागि र त्यो अहिलेको आवश्यकताभन्दा बाहिरको विषयमा सरकार गएको भन्दै नीति तथा कार्यक्रममाथि प्रश्नहरू उठिरहेको छ ।

मुलुकबाहिर रहेका नागरिक आफ्नो मुलुकमा फर्किनको लागि सीमा नाकामा कुरेर बसेको पनि महिनौ बितिसकेको छ । उनीहरूलाई नेपाल ल्याएर कसरी सुरक्षित गर्ने भन्ने अहिलेको टडकारो समस्या मुलुकसामु छन् । यसैगरी क्वारेन्टानमा बसेको महिनौ बित्दा पनि उनीहरूको परीक्षण हुन सकिरहेको छैन । परीक्षण गर्ने स्वास्थ्य सामग्रीको अभावमा उनीहरू त्यसरी कुरेर बसिरहेका हुन् । यही कारण उनीहरू घर फर्कन समेत पाएका छैनन् । समयमा चेकजाँच हुन नसक्दा बाँकेमा क्वारेन्टाइनमा बसेकै अवस्थामा एक जना नवजवानले अकालमै ज्यान गुमाउनुपरेको छ । उनीलाई क्वारेन्टाइनबाट अस्पतालसम्म लान एम्बुलेन्सले नै मानेन । समयमा नै उपचार हुन नसक्दा उनको मृत्यू भयो ।

कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन कसरी गर्ने भन्ने कुरामा सरकारले चासो नदिँदा उनको सब दोजरको बकेटले उठाएर जमीनमा गाड्नु प-यो । यही घटनाबाट प्रस्ट हुन्छ कि सरकार कोरोनाप्रति गम्भीर छैन । प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भनेझैँ ‘सरकारलाई कोभिड–१९ ले गरेको र गर्नसक्ने क्षतिबारे ज्ञान नै छैन । सरकारलाई जनताको दुःखप्रति कुनै वेदना छैन र जनताको पीडा बुझ्नसक्ने हृदय छैन । सरकारसँग यो अप्ठेरो बेला भविष्यका लागि जनता आश्वस्त हुने कुनै योजना छैन ।’ यस्तो गम्भीर विषयलाई पनि सरकारले हल्कारूपले लिइरहेको रहेछ भन्ने कुरा मृतकको अन्त्योष्टिबाट पनि पुष्टि भइसकेको छ । यो घटनाबाट पनि सरकारले अब पाठ सिक्न जरुरी छ । करिब दुई महिना मुलुकमा लकडाउन हुँदा पनि सरकारले यो अवधिमा आफूले गर्नुपर्ने तयारी के–कसरी गरिरहेको रहेछ भन्ने कुरा बाँके घटनाले प्रस्ट पारिदिएको छ । अब सरकारले कुनै पनि नागरिकले कोरोना भाइरस संक्रमणका कारण र परीक्षण अभावले अकालमा मृत्युवरण गर्नुपर्ने छैन भनेर आश्वस्त पार्ने खालका योजना ल्याउने काम गर्न जरुरी छ ।

मुलुकमा अहिले पूर्ण बहुमतको सरकार छ । २०१५ सालपछि नेपालको इतिहासमा यस्तो दुईतिहाई नजिकको सुविधाजन सरकार बनाउने अवसर कुनै पनि राजनीतिक दलले पाएका थिएनन् । यस्तो सुर्वण मौका र अवसर नेपाली जनताले नेकपालाई दिएका छन् । यो सुवर्ण अवसरलाई सदुपयोग गर्दै नयाँ इतिहास रच्नुपर्ने वर्तमान सरकारका त्यो बाटोमा अग्रसर हुनुको साटो आफ्नै पार्टीभित्रको आन्तरिक खिचातानीमा अल्झेर हल्का बनिरहेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया