Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालक्वारेन्टाइनमा रहेका २ सय भारतीयलाई भारत पठाइयो

क्वारेन्टाइनमा रहेका २ सय भारतीयलाई भारत पठाइयो


बीरगञ्ज, जेठ ७
नेपालमा लकडाउन सुरु भएदेखि घर जान नपाई वीरगञ्जमा करिब ५० दिनदेखि फसेका १ सय ९८ भारतीयलाई मङ्गलबार भारत सरकारको जिम्मा लगाएर पठाइएको छ । आईसीपीमा वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत नितेशकुमारको रोहवरमा भारत बिहारको पूर्वी चम्पारण जिल्लाका डीएम सर्वत अशोक कपीललाई जिम्मा लगाएर पठाइएको प्रहरी उपरीक्षक गंगा पन्तले बताए । त्यस अवसरमा पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्की, सशस्त्र प्रहरी उपरीक्षक कुँवर पनि उपस्थित थिए ।

वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा चैत दोस्रो सातादेखि राखिएका ९८ र वीरगञ्जस्थित आफन्तको घरमा बसेका १ सय जनालाई भारत पठाइएको हो । वीरगञ्जस्थित एकीकृत भन्सार जाँच चौकी आईसीपी नाकामा भारतीय अधिकारीहरुको जिम्मा लगाएर पठाइएको पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिए । उनीहरुलाई लिन भारतबाट आईसीपीमा ७ वटा बस आएको थियो । त्यही बसमा चढेर भारतीय आफ्नो घर फर्किएका हुन् ।

लकडाउनमा नेपाल–भारत नाका बन्द रहेका कारण नेपालका विभिन्न स्थानबाट घर फर्किने भनेर वीरगञ्ज आइपुगेका कतिपय भारतीयहरु वीरगञ्ज र आसपासको स्थानमा रहेका आफन्तको घरमा बसेका थिए । लकडाउनका कारण घर फर्किन नपाएका १ सय ९८ जना पठाइएको ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतानले जानकारी दिए ।

ठाकुररामको क्वारेन्टाइनमा ५० दिनसम्म राखिएका भारतीयको लागि खाना र खाजाको निःशुल्क प्रबन्ध ग्रिन सिटी सामुदायिक सेवा केन्द्रले नै गरेको थियो । नेपालमा चैत ११ गतेदेखि लकडाउन सुरु भएपछि विभिन्न सहरमा रोजगारी र अन्य काम गर्ने उनीहरु घर फर्किने क्रममा वीरगञ्ज नाकामा चैत दोस्रो साता आइपुगेका थिए । उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर ठाकुरराम क्याम्पसको क्वारेन्टाइनमा राखेको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया