Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालपर्सामा निषेधाज्ञा हट्यो संक्रमित परिवारको कोरोना परीक्षण भएन

पर्सामा निषेधाज्ञा हट्यो संक्रमित परिवारको कोरोना परीक्षण भएन



सन्तोष पौडेल
बीरगञ्च, जेठ ७
पर्सामा गत वैशाख ३० गते एकैपटक ३९ जनामा कोरोना संक्रमण फेला परेपछि जारी गरिएको निषेधाज्ञा हटेको छ । तर, सो निषेधाज्ञा जारी भएको अवधि समाप्त भए पनि संक्रमित क्षेत्रको कोरोना परीक्षण हुन सकेको छैन । वैशाख ३० गते एकैपटक ३९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले सोही दिन राति ८ बजेदेखि जेठ ५ गते राति १२ बसेसम्म निषेधाज्ञा जारी गरेको थियो । स्थानीय प्रशासनबाट निषेधा जारी भएको राति नै फेरि थप १८ जना संक्रमण पुष्टि भएको थियो । सोसँगै एकैदिन संक्रमित फेला परेको संख्या ५७ पुग्यो । ती संक्रमितहरू वीरगञ्ज महानगरपालिकाको विभिन्न वडा सहित पर्साको छिपहरमाई गाउँपालिकापालिका थिए । यसभित्रकै संक्रमितमध्ये २ जना पत्रकार समेत थिए ।त्यसपछि फेरि कालिकामाई गाउँपालिकामा पनि एक जना, सखुवा प्रसौनी गाउँपालिकामा एक जना र वीरगञ्जको मुर्लीमा समेत एक जना संक्रमित फेला परेका छन् । तर, यी सबै क्षेत्रमा हालसम्म पीसीआर टेष्टको लागि स्वाब संकलन समेत हुन सकेको छैन ।

वीरगञ्जको पीसीआर परीक्षणको अवस्थाको बारेमा महानगरका मेयर विजयकुमार सरावगीसँग बुझ्दा यसको बारेमा नारायणीका मेसुसँग नै बुझ्दा राम्रो हुने बताए । उनले भने ‘वीरगञ्जमा पीसीआर परीक्षणको अवस्था एकदम दयनीय छ, वीरगञ्जमा १० हजार जति पीसीआर परीक्षण गर्नुपर्नेमा एक दिनमा दुई सयर तीन सय जति मात्र भइरहेको छ।’ वीरगञ्जको पीसीआर परीक्षणको लागि संघ र प्रदेश सरकारले ध्यान नदिएका कारण समेत समस्या भएको उनको भनाइ थियो । नारायणी अस्पतालका मेसु डा. मदनकुमार उपाध्यायले सोमबारदेखि भीटीएम अभावमा पीसीआर परीक्षणको लागि स्वाब संकलन रोकिएको बताए । उनले भने, ‘हालसम्म पर्सामा करिब दुई हजार जतिको पीसीआर परीक्षण भएको छ, हाल हामीसँग भीटीएम नभएर रोकिएको हो ।’

छिपहरमाई गाउँपालिकाकाको क्वारेन्टाइनमा रहेकाहरूमध्ये १४ जनामा कोरोना संक्रमण फेला परेको ७ दिन बित्न लाग्दा समेत पीसीआरपरीक्षणको लागि स्वाब समेत संकलन हुन सकेको छैन । हाल संक्रमित फेला परेको छिपहरमाई गाउँपालिकाको वडा नं. ५ भिस्वास्थित श्री मंगल माविको क्वारेन्टाइनमा ४७ जना रहेका छन् ।संक्रमण फेला पर्नुअघि छिपहरमाई गाउँपालिकाको क्वारेन्टाइनमा रहेकाहरूसँगै डिजे बजाएर डान्स गरेको भिडियो समेत सार्वजनिक भएको थियो । यसका साथै छिपहरमाईका क्वारेन्टाइनमा फेला परेका संक्रमितहरूसँग तिनीहरूका घरपरिवारका सदस्यहरू क्वारेन्टाइनमा आएर भेटे पनि तिनिहरूको समेत स्वाब संकलन हुन सकेको छैन् ।स्थानीयहरूका अनुसार तिनिहरू खुलेआमरूपमा गाउँ मै घुमिरहेका छन् ।

गाउँपालिकाले संक्रमण फेला परेको दिनदेखि नै स्वाब संकलन गरी पीसीआरपरीक्षणको लागि निरन्तर पहल गर्दा समेत हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले वताए । उनले भने, ‘हामी जब फोन गर्छाैं नारायणीको मेसुसाहेब कहाँ तब उहाँ भन्नु हुन्छ, भोलि भइहाल्छ तर हुँदैन । हिजो पनि फोन गर्दा आर्मी किट लिन गएका छन्, आएपछि भइहाल्छ र आज पनि गर्दा आर्मी किट लिन गएका छन् आएपछि हुने जवाफ आएको हो ।’ उनले थपे ‘गाउँबासी त्रसित छन्, हामीलाई गालीसमेत गरिरहेका छन् तर संक्रमितको सम्पर्कमा रहेकाहरूको समेत कोरोना परीक्षण नहुँदा झन् त्रास बढाएको छ ।’ यस्तै अवस्था कालिकामाई गाउँपालिका र सखुवा प्रसौनी गाउँपालिकाको समेत रहेको छ ।निषेधाज्ञा समेत हटे पीसीआरपरीक्षण नहुँदा संक्रमित क्षेत्रका जनतालाई झन् त्रसित बनाएको छ ।

संघ र प्रदेशबाट सहयोग नपाएको गुनासो : सर्वदलीय नेताहरूको अगुवाइमा कोरोनाविरुद्धको लडाइँ कसरी जित्न सकिन्छ भन्ने विषयलाई लिएर मंगलबार स्थानीय सरकारका प्रमुखहरूबीच छलफल भएको छ । छलफलको क्रममा गाउँपालिका र नगरपालिकाका प्रमुखहरूले आफूहरू झमेलामा फसेको बताए । छलफलमा कोरोनाविरुद्ध अहिलेसम्म गरेका कामबारेमा बताउँदा स्थानीय तहका प्रमुखहरू कोरोना महामारीमा अतिविपन्न, गरीबभन्दा उनीहरू बढी बिपत्मा परेकोजस्तो देखिएका थिए ।

वीरगञ्जको नगरसभागृहमा सम्पन्न सर्वदलीय नेता तथा स्थानीय सरकारबीच छलफलको क्रममा कोरोनाविरुद्धको लडाइँसँगै किसानहरूलाई आवश्यक मल, बीउ, डिजेल उपलब्ध गराउनेबारेविमर्श भएको थियो । छलफलको क्रममा नेपालीहरू सीमामा आएर रोकिएका र उनीहरूलाई नेपाल भित्र्याउन चुनौती रहेको स्थानीय तहका प्रमुखहरूले बताएका थिए । महामारीको बेला संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय नहुँदा अवस्था विकराल बनिरहेको स्थानीय सरकारका प्रमुखहरूले जानकारी गराए ।

लकडाउन जारी भएको करिब दुई महीनामा अहिलेसम्म स्थानीय सरकारसँग संघ र प्रदेश सरकार कसैले समन्वय नगरेको उनीहरूले बताए । छलफलमा भाइरसविरुद्धको लडाइँसँगै विकास निर्माणका कार्य पनि अगाडि बढाउन सुझाव दिइएको थियो ।सो क्रममा स्थानीय तहबाट आएका संक्रमितहरूलाई राख्न समस्या भइरहेको वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले बताए । पर्साका स्थानीय तहका प्रमुखहरूले पनि आर्थिक सहयोग गर्न महानगरप्रमुख सरावगीले आग्रह गरे । नेपाल सरकारले अहिलेसम्म एक हजार भिटिएम किट पठाए पनि तत्काल पाँच हजार किटको आवश्यकता रहेको उनले बताए । महानगरले भ्याएसम्म काम गरिरहेको र दुई हजार शैयाको क्वारेन्टाइनको व्यवस्थामा अगाडि बढेको उनले बताए । स्थानीय तहका प्रमुखहरूले दिशानिर्देश दिने व्यक्ति कोही नभएको कारण आफूखुशी काम गरिरहेको बताए । उनीहरूले संघ र प्रदेश सरकारले राहतको नाममा स्थानीय तहमा झगडा लगाउने काम गरिरहेको बताए ।

छलफलमा १४ वटै स्थानीय तहका प्रमुखले छुट्टै भीटीएम किटको व्यवस्था गर्न माग गरेका थिए । उनीहरूले गाउँमा मल, बीउ, डिजेलको हाहाकार भएको र स्थानीय प्रहरी प्रशासनसँग समन्वय गर्दा चासो नदेखाएको बताएका थिए । खेत जोतिरहेको ट्याक्टर नियन्त्रणमा लिई जरिवाना गरिरहेकोमा सो कार्य रोक्न माग गरेका थिए । पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीको नेतृत्वहीन कामप्रति दुःख व्यक्त गर्दै स्थानीय तहका प्रमुखहरूले तत्काल सरुवाको माग गरे । प्रहरी ज्यादतीविरुद्ध स्थानीय जनता आजित भएको र सो कार्य तत्काल रोक्न पनि माग गरेका थिए ।बैठकमा नेपाली कांग्रेसका अजय द्विवेदी, नेकपाका प्रभु हजरा, जनता समाजवादी पार्टीका रामनरेश यादव,प्रदेश सांसद जन्नत अन्सारी, मन्जुर आलम, प्रह्लाद गिरी, करीमा बेगम, सिंहासन साह कलवार, शंकर चौधरी, रमेश पटेल, भीमा यादवलगायत १४ वटै स्थानीय तहका प्रमुखहरूको सहभागिता थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया