Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालक्वारेन्टाइनमा नै वाइफाइको सुविधा

क्वारेन्टाइनमा नै वाइफाइको सुविधा


महेन्द्र शाही
सोलुखुम्बु, जेठ १२
सोलुखुम्बु जिल्लाको महाँकुलुङ गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा वाइफाइसहितको सुविधा राखेको छ । गाउँपालिकाले वडा नम्बर २ सोम्रो डाँडामा निर्माण गरेको २५ बेडको क्वारेन्टाइनमा वाइफाइ सेवासहितको सुविधान राखिएको गाउँपालिकाका अध्यक्ष सागर किराँतीले जानकारी दिए । क्वारेन्टाइनमा बस्नेहरूलाई दिन कटाउन सजिलो होस भन्ने उद्देश्यले वाइफाइको व्यवस्था गरिएको उनले बताए । क्वारेन्टाइनमा वाइफाइको व्यवस्था भएकाले दिन कटाउन सजिलो भएको क्वारेन्टाइनमा बसेकाहरूको भनाइ छ ।

गाउँपालिका अध्यक्ष किराँतीले १४ दिनसम्म क्वारेन्टाइनमा बस्दा सञ्चारबाट नजिक रहन तथा समय बिताउन सहज होस् भन्ने उद्देश्यले वाइफाइ सेवा जडान गरिएको जानकारी दिए । दिन र रातभरि एकै ठाउँमा बस्दा मोनोटोनस हुनसक्ने सम्भावन रहन्छ । सामाजिक सञ्जाल चलाउने तथा चलचित्रहरू हेरेर क्वारेन्टाइनमा बसेकाहरूले दिन बिताइरहेको उनले सुनाए । अहिलेको सूचना र सञ्चारको जमानामा मानिसलाई एकै ठाउँमा बस्न निकै कठिन हुनेगरेको गाउँपालिका अध्यक्षको भनाइ छ । अध्यक्ष स्वयम् पनि क्वारेन्टाइनमा बसेर फेर्केका हुन् ।

यसैबीच गाउँपालिकाले अहिलेसम्म १५ जनाको आरडीटी परीक्षण गरेको छ । गाउँपालिकाले विभिन्न समयमा विदेश तथा काठमाडौँलगायत स्थानबाट आएका १५ जनाको आरडीटी परीक्षण गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक हरि आर्चयले जानकारी दिए । आचार्यका अनुसार विदेशबाट आएका ४ जना, लकडाउनपछि खुम्बु क्षेत्रबाट फर्किएका २ जना र कोरोना रोकथाममा सक्रिय ९ जना कर्मचारी तथा जनप्रतिनिधिहरूको आरडीटी गरिएको हो । उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । यसैबीच गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका २ जनालाई घर पठाइएको छ । नाम्चेबाट आएका उनीहरूलाई १४ दिन क्वारेन्टाइनमा राखेर घर पठाइएको स्वास्थ्य शाखा संयोजक आर्चयले बताए । काभ्रेबाट शुक्रबार आएका एक जनालाई भने क्वारेन्टाइनमा राखिएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया