Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालदोलखामा कोरोनाको जोखिम बढ्यो

दोलखामा कोरोनाको जोखिम बढ्यो


सबास बस्नेत
दोलखा, जेठ १८
कोरोना संक्रमणको हिसाबले सुरक्षित मानिएको दोलखा जिल्लामा गत बिहीबार एक जनामा कोरोना पुष्टि भएसँगै कोरोना संक्रमण जिल्लाको सूचीमा परेको छ । बिहीबार जिल्लाको भीमेश्वर नगरपालिकाका एक ७६ वर्षीय वृद्धमा कोरोना संक्रमण देखिएको हो । भीमेश्वर नगरपालिकामा कोरोना संक्रमण देखिएपछि यहाँका स्थानीय त्रसित भएका छन् । भीमेश्वर नगरपालिका वडा नम्बर २, तिखातलका एक ७६ वर्षीय वृद्धलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिए ।

केएमसी अस्पतालमा उपचारकै क्रममा आरडीटी परीक्षण पोजेटिभ देखिएपछि स्वाब संकलन गरेर टेकुमा गरिएको पीसीआर परीक्षणमा पनि पोजेटिभ देखिएपछि गतबुधबार राती नै उनलाई महाराजगंजस्थित टिचिङ अस्पतालमा लगेर भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । संक्रमितलाई उनकी बुहारीले उपचारको लागि काठमाडौं लगेकी थिइन् । संक्रमितको घरलाई बाह्य सम्पर्कका लागि रोक लगाइएको दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । घरमा रहेका २ छोरीसहित उनको सम्पर्कमा रहेका २५ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएकोमा शुक्रबार सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य प्रमुख झाले जानकारी दिए । हिँडडुल गर्न नसक्ने ती वृद्धलाई उच्च रक्तचाप देखिएपछि गतशनिबार स्थानीय अस्पतालमा उपचारको लागि लगिएकोमा टाउकोमा रगत जमेको कारण काठमाडौं रिफर गरिएको थियो ।

पछिल्लो समय कोरोना संक्रमण फैलिएको छिमेकी देश भारतलगायत नेपालका संक्रमित जिल्लाबाट पछिल्ला दिनमा मानिस लस्कर लागेर गाउँ फर्किन थालेका छन् । यो साता मात्र भारतबाट करिब दुई सयको हाराहारीमा दोलखाली गाउँ फर्केका छन् । गत आइतबार करिब एक सय जना भारतबाट फर्केका नागरिकलाई गाउँका विद्यालयमा निर्माण गरेका क्वारेन्टाइनमा राखिएको छ । भारतबाट दैनिक गाउँघरमा मानिस आउन थालेपछि सहरभन्दा गाउँमा कोरोनाको जोखिम बढेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया