Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालवैतेश्वरमा चालू वर्षका महत्वपूर्ण योजना सम्झौता सम्पन्न

वैतेश्वरमा चालू वर्षका महत्वपूर्ण योजना सम्झौता सम्पन्न


सुबास बस्नेत
दोलखा, जेठ २०
दोलखाको वैतेश्वर गाउँपालिकामा चालू आर्थिक वर्षको १० महिनामा आइपुग्दा पालिकाले महत्वपूर्ण बिकास योजना सम्झौता सम्पन्न गरेको जनाएको छ । गाउँपालिकाका योजनामध्ये करिब ९८ प्रतिशत सम्झौता गरिसकेको छ । बैतेश्वर गाउँपालिकाले चालू आर्थिक वर्ष २०७६/०७७ मा गाउँपालिकामा आएको करिब ४७ करोड बजेटमध्येको करिब १३ करोड बजेट विकास पूर्वाधारमा खर्च गर्ने योजना बनाएको थियो । जसअनुसार चालू आर्थिक वर्षमा सञ्चालित योजना संख्या तीन सय १५ रहेकामा तीन सय छवटा योजना सम्झौता गरी कार्यान्वयन भएको गाउँपालिका अध्यक्ष छवि लामाले जानकारी दिए ।

वैतेश्वरका कुल योजनामध्ये सानो बजेटका दुई सय ९० वटा योजना उपभोक्ता समितिमार्फत र २५ वटा ठूला आर्थिक लागतमा निर्माण गरिने योजना पालिकाले जारी गरेको सूचना टेन्डरमार्फत कार्यान्वयन भएको लामाले बताए । उपभोक्ता समितिमार्फत कार्यान्वयन भएका योजना लकडाउनका बीच पनि सञ्चालन भइरहेकाले चालू वर्षको असार मसान्तसम्म सबै पूरा हुने उनले बताए । हालसम्म वैतेश्वर गाउँपालिकाले २८ लाखका करिब १० वटा साना योजनाबाहेकका अरु ९८ प्रतिशत योजना सम्झौता गरिसकेको जनाएको छ ।

कुल दुई सय ९० साना योजनामध्ये दुई सय ८३ वटा योजना उपभोक्ता समितिसँग सम्झौता गरी कार्यान्वयन भएको छ । ७ वटा योजना कार्यान्वयनका लागि उपभोक्ता समिति गठन गरी सम्झौता प्रक्रियामा रहेको वैतेश्वर गाउँपालिका उपाध्यक्ष रविचन्द्र आचार्यले जानकारी दिए । त्यसैगरी कुल योजनाको ६० प्रतिशत योजना कार्यान्वयन सम्पन्न गरी भुक्तानी समेत दिइसकेको गाउँपालिकाले जनाएको छ । तीन सय १५ योजनामध्ये एक सय ७८ वटा योजनासम्पन्न भएका छन् । वागमती प्रदेश पुर्वाधार विकास कार्यक्रमअन्तरगत प्रदेश सरकारबाट ५ वटा योजना परेकोमा सबै सम्झौता भई कार्यान्वयन भएको छ । कुल बजेट छ करोड रहेको उक्त योजना ठेक्कामार्फत कार्यान्वयन भएका हुन् ।

त्यसैगरी स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम संघीय संसद् प्रतिनिधिसभा सदस्यअन्तर्गत तीनवटा योजना रहेकोमा तीनवटै योजना सम्झौता भई कार्यान्वयन अन्तिम चरणमा पुगेको पालिकाले जनाएको छ । ५० लाख कुल बजेट प्राप्त भएको उक्त योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन भएको हो । वैतेश्वर गाउँपालिकालाई आगामी आर्थिक वर्षको लागि ३२ करोड २७ लाख बजेट विनियोजन भएको छ । गाउँपालिकाले विकास आयोजनाका लागी चालू आर्थिक वर्षमा कुल ८ वडाका लागि १३ करोड बजेट विनियोजन गरेको थियो । त्यसैगरी कोरोना भाइरसको त्रासमा जोखिम मोलेर लकडाउनबीचमा कार्यालय खोलेर निरन्तर काम गर्ने गाउँपालिकाभित्रका सबै कर्मचारीको प्रतिव्यक्ति १० लाखबराबरको बिमा गर्ने पनि गाउँपालिकाले घोषणा गरेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया