Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालबजार खुकुलो बनाउन व्यवसायीको माग

बजार खुकुलो बनाउन व्यवसायीको माग


बाँके, जेठ २१
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गलाई नेपालगञ्ज उद्योग वाणिज्य संघले मंगलबार स्वागत गर्दै बजार खुकुलो बनाउन माग गरेको छ । लकडाउनका कारण उद्योगी तथा व्यवसायीहरु मारमा परेको भन्दै विस्तारै बजार खोल्न दिन माग गर्दै संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गलाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।

संघले नयाँ प्रमुख जिल्ला अधिकारीलाई कुशल एवं उत्कृष्ट प्रमुख जिल्ला अधिकारीका रुपमा स्वागत गर्न पाउँदा बाँकेका उद्योगी, व्यवसायी हर्षित भएको उल्लेख गरेको छ । ‘बधाईका साथै सफल कार्यकालका लागि हार्दिक शुभकामना व्यक्त गर्दै जिल्लाको शान्ती, सुरक्षा एवं अमनचयन कायम गर्न निजीक्षेत्रका तर्फबाट सदैव सक्रियतापूर्वक सहयोग रहने दृढ बिश्वास दिलाउँछौं’, संघले भनेको छ । संघले बजार खुकुलो बनाउने उद्योगी, व्यवसायीको राय प्रमुख जिल्ला अधिकारी समक्ष पेश गरेको छ । ‘एकातिर कोरोनाको कहर छ भने अर्कोतर्फ लकडाउनका कारण उद्योग, व्यवसाय ठप्प भएका कारण उद्योगी, व्यवसायी घाटा ब्यहोरीरहेको अवस्था सिर्जना भएको छ’, संघले भनेको छ । उसले व्यापार नचलेपनि बैंकको ऋणदेखि सरकारलाई बुझाउनुपर्ने करहरु तिर्नुपर्ने ताकेता आउँदा व्यवसायीहरु दिनप्रतिदिन मर्कामा पर्दै गएको बताएको छ ।

नेपालगञ्ज पश्चिम नेपालको आर्थिक केन्द्र हो । यहाँको उद्योग, व्यवसाय ठप्प हुँदै यस क्षेत्र नै प्रभावित भएको छ । लकडाउन कहिले खुल्ने भन्ने निश्चित नभएको अवस्थामा उद्योगी, व्यवसायी अझ अन्यौलग्रस्त भइरहेका छन् । यसबीचमा उद्योगी, व्यवसायीले लकडाउनकै बीचमा स्वास्थ्य सजगता अपनाएर बजारलाई उचित, आवश्यक विधि र प्रक्रिया अपनाएर बजारलाई खुकुलो बनाउँदै लैजानुपर्ने विषयमा एकमत छन् । कोरोना महामारीबाट जोगिने गरी व्यापार व्यवसाय सञ्चालन गर्न प्रशासनका तर्फबाट आवश्यक सहयोग र समन्वयका लागि संघले अनुरोध गरेको प्रवक्ता टंक बहादुर धामीले बताए । स्वागत कार्यक्रममा निवर्तमान अध्यक्ष नन्दलाल वैश्य, वरिष्ठ उपाध्यक्ष आदेश अग्रवाल, उपाध्यक्ष अमित बस्नेत, महासचिव चिरञ्जीवी ओली लगायतका पदाधिकारी एवं कार्यसमिति सदस्य उपस्थित रहेका थिए ।

स्वागत कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गले उद्योगी, व्यवसायीका जायज मुद्दामा साथ रहने बताए । बाँकेका कोरोनाको हटस्पट भएको बताउँदै तत्काल बजार खुकुलो बनाउने परिस्थीति नरहेको स्पष्ट पारेका छन् । प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गले लकडाउनका मोडालिटीबारे छलफल भइरहेको बताउँदै जेठ ३२ गतेको अवस्थासम्म पर्खिन व्यवसायीहरुलाई सुझाव दिएका छन ।’


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया