Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालस्थानीयसँगको झगडापछि सम्पर्कविहीन बनेका प्रहरी पक्राउ

स्थानीयसँगको झगडापछि सम्पर्कविहीन बनेका प्रहरी पक्राउ


महेन्द्र शाही
सोलुखुम्बु, जेठ २८
स्थानीयसँग झगडा गरी सम्पर्कविहीन बनेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी कर्मचारी रिन्जी शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । गत जेठ २ गते जिल्ला प्रहरी कार्यालय सल्लेरीबाट जिल्लाकै नेचासल्यान हिंडेका शेर्पा र स्थानीय युवाबीच गाउँपालिकाको वडा नम्बर २ खाल्पामा झगडा भएपछि उनी सम्पर्कविहीन बनेका थिए । कार्यालयकै कामको सिलसिलामा सल्यान गएका बेला स्थानीयले लकडाउनको बेला हिँडेको भन्दै रोकेर आफूमाथि कुटपिट गर्नुका साथै मोबाइल र मोटरसाइकलको चाबीसमेत थुतेको शेर्पाको भनाइ छ ।

स्थानीय दुई युवाले आफूमाथि कुटपिट गरी खुकुरीसमेत प्रहार गरेको शेर्पाको आरोप छ । घरेलु हातहतियारसहित गाउँका अन्य स्थानीयले समेत लखेटेपछि आफू जंगलमा गएर बसेको शेर्पाले बताएका छन् । मोबाइलसमेत साथमा नभएको तथा गाउँमा आउँदा आफूमाथि कुटपिट हुने डरले जंगलमा गएर बसेको उनले बताए । शेर्पालाई आइतबार साँझ ६ बजे प्रहरीले पक्राउ गरेको जनाएको छ । नेचा सल्यान गाउँपालिका र सोलुदूधकुण्ड नगरपालिकाको सिमानामा पर्ने तिङ्लाबाट उनलाई प्रक्राउ गरिएको सोलुखुम्बुका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए । २४ दिनसम्म पनि सम्पर्कमा नआएको र गाउँमा डुली हिँडेको भन्ने सूचनाअनुसार उनलाई अनुसन्धान गर्नका लागि हिरासतमा राखिएको प्रहरीको भनाइ छ । अनुसन्धानपछि मात्रै बास्तविकता थाहा हुने प्रहरीको भनाइ छ । झगडा भएपछि शेर्पा फरार भएको र स्थानीय युवासँग उनको मोबाइल फेला परेको थियो भने उनले लिएर गएको मोटरसाइकल पनि सोही स्थानमा रहेको थियो ।

दर्नालका अनुसार शेर्पालाई प्रहरीले हिरासतमा राखी अनुसन्धानसहित विभागीय कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । सोही घटनामा संलग्न भएको आरोपमा सल्यानका ३० वर्षीय सान्तोष राई र २७ वर्षीय मिनबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरूलाई समेत केही दिन प्रहरी हिरासतमा राखी अनुसन्धानपश्चात् धरौटीमा छाडिएको प्रहरीको भनाइ छ । घटनापछि सम्पर्कविहीन बनेका शेर्पाको खोजीकार्यमा स्थानीयसहित प्रहरी टोली खेटेको थियो । केही दिनअघिदेखि प्रहरी कर्मचारी शेर्पा सोही गाउँको जंगलमा बस्ने गरेको जानकारी पाएपछि स्थानीयमा त्रास पैदा भएको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया