Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालहोटल व्यवसायी महासंघले आन्दोलन गर्दै

होटल व्यवसायी महासंघले आन्दोलन गर्दै


रामहरी चौलागाइँ
काठमाडौं, असार १
होटल व्यवसायी महासंघ नेपालले सरकारविरुद्ध आन्दोलन गर्ने भएको छ । कोरोना भाइरस महामारीका कारण करिब तीन महिनादेखि मुलुकमा लकडाउन जारी रहेकै अवस्थामा व्यवसायीहरु आन्दोलनमा उत्रिन लागेका हुन् । बन्द भएका होटलहरुप्रति सरकार बेखबरझैँ भएर प्रस्तुत हुनथालेपछि महासंघ आन्दोलनमा उत्रिन लागेको बताइएको छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि गत जेठ १५ गते सार्वजनिक गरेको बजेटमा व्यवसायीहरुले भोग्दै आएको पीडालाई कुनै सम्बोधन नगरेपछि उनीहरु आन्दोलन गर्न बाध्य भएका हुन् । चैत ११ गतेदेखि मुलुकमा लकडाउन भएसँगै व्यवसायीहरुले व्यहोर्नुपरेको पीरमर्कालाई बजेटले कुनै किसिमको सम्बोधन गरेन । ‘त्यसपछि थप निराश भएका हामी व्यवसायीहरु सरकारविरुद्ध आन्दोलनमा जान बाध्य भयौं’, महासंघका कार्यवाहक महासचिव शेरबहादुर थापाले आर्थिक दैनिकसँग भने ।

अहिले पनि मुलुक पूर्ण रुपमा कोरोना महामारीकै चपेटाबाट अगाडि बढिरहेको छ । आन्दोलनमा जानुपर्नाका कारणबारे बताउँदै थापाले भने, ‘वर्तमान पर्यटन नीतिमा महासंघ मातहतका सदस्य होटलहरुलाई मन्त्रालयले समावेश गर्न नचाहेको, होटलहरुलाई रेड जोनमा राखेर स्टार होटलहरुको पक्षपोषण गर्न मन्त्रालयका हर्ताकर्ताहरु लागेपछि बाध्य भएर आन्दोलनमा उत्रिन लागेका हौँ ।’

खासगरी पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारी, मन्त्री योगेश भट्टराई, पर्यटन विभाग र केही विभागीय प्रमुखहरुले महासंघका समस्यालाई गम्भीरताका साथ नलिएको आरोप महासंघको छ ।

केही समयअगाडि तारे होटलहरुको हानले विज्ञप्ति नै निकालेर आगामी असोजसम्म आफ्ना होटलहरु बन्द गर्ने चेतावनी दिइसकेको छ । उसले यस्तो चेतावनी दिएपछि पर्यटन मन्त्रालयले महासंघलाई बोलाएर सहयोग गर्न आग्रह गरेको थियो । सरकारको आग्रहलाई महासंघले शिरोपर गर्दै सघाउने वचन पनि दिएको थियो । ‘तर हामीले गर्न लागेको सहयोगको सरकारले पूरै बेवास्ता गर्ने काम गरेको छ’, उनले भने । अहिले रोजगारीका लागि विदेश गएकाहरु कोरोनाका कारण उतै अलपत्र परेकालाई सरकारले धमाधम नेपाल भित्र्याउन लागेको छ ।

विदेश जाँदा हाम्रो होटलमा बास बसेर गएकाहरुलाई सरकारले धमाधम तारे होटल र पार्टी प्यालेसमा राख्ने व्यवस्था मिलाइरहेको छ । करिब २० हजारदेखि माथि तलबमा काम गर्न विदेश गएकाहरुलाई ५ हजारदेखि १६ हजार दैनिक खर्च लाग्ने तारे होटलहरुमा राख्ने काम हुँदै आएको छ । धमाधम तारे होटलहरुको कोठाहरु बुक गर्ने काम मन्त्रालयले कसको उक्साहट गरिहेकोे रहेको भन्दै व्यवसायीहरुले गुनासो गरेका छन् ।

सरकारले व्यवसायीहरुसँग होटलको विवरण मागेर १४ दिनसम्म गौशाला क्षेत्रका होटलमा शिक्षण अस्पतालका करिब ५२ जना डाक्टरहरुलाई राखेको पनि थियो । तर अहिले उनीहरुको क्वारेन्टाइन अवधि सकिएको भन्दै त्यहाँबाट हटाइसकेको छ ।

महासंघले मुलुकमा लकडाउन हुनुअगावै चैत ९ गते विज्ञप्तिमार्फत आफ्ना सम्पूर्ण ८० हजार होटललाई क्वारेन्टाइनका लागि सरकारलाई उपलब्ध गराउन तयार रहेको बताएको थियो । ‘कोरोना भाइरस महामारीका कारण मुलुकमा अप्ठ्यारो परिस्थिति आउनसक्ने पूर्वअनुमान गरेर नै हामीले समयमा सरकारलाई सचेत गरायौं तर सरकारले हाम्रो भनाइको सुनावाइ गरेन’, कलंकी होटल एसोसिएसनका अध्यक्ष एवं महासंघका केन्द्रीय सदस्य मोहिनी प्रसाद आचार्यको भनाइ छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया