Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमध्यपहाडी लोकमार्गको कास्की खण्ड हिलाम्मे

मध्यपहाडी लोकमार्गको कास्की खण्ड हिलाम्मे


कृष्ण दवाडी
कास्की, असार १४
धौलागिरी अञ्चलका पर्वत, म्याग्दी, बाग्लुङ र मुस्ताङको ‘लाइफलाइन’ रहेको पोखरा–बाग्लुङ राजमार्गमा यात्रा गर्ने यात्रुले यति बेला सास्ती व्यहोर्नुपरेको छ । राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी लोकमार्ग अन्तर्गत कास्की खण्डको पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोलासम्मको सडक वर्षायाममा हिलाम्मे हुँदा सो लोकमार्ग भएर यात्रा गर्नेले कष्ट भोग्न बाध्य बनेका छन् ।

बन्दाबन्दीले लोकमार्गको काम रोकिँदा वर्षात्मा सडक हिलो र पानीले भरिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका र माछापुच्छ्रेसमेतको केही वडाबासी सोही सडक भएर यात्रा गर्ने गर्दछन् । मध्यपहाडी लोकमार्ग विस्तार सुरु भएपछि साविकको दुई लेनको पक्की कालोपत्रे सडक अहिले भत्काइएपछि ठाउँ–ठाउँमा सडकमा पानी जमेर हिलो हुँदा राजमार्गमा यात्रा गर्नेले हैरानी व्यहोर्न बाध्य छन् भने अत्यावश्यक एम्बुलेन्ससमेत रोकिने र हिलोमा फस्ने गरेको छ । सुइखेतदेखि घट्टेखोलासम्मको दुई किमि सडक अहिले सवारी चालक तथा यात्रुका लागि धराप बनेको र स्तरोन्नतिका लागि विस्तार गरिएको सडकमा पानी पर्नथालेपछि सवारीसाधन हिलोमा फस्ने, दुर्घटना हुने र बाटोमा रोकिनुपर्ने बाध्यता रहेको स्थानीयबासीको गुनासो छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुसका वैकुण्ठ भण्डारी पोखरा आवतजावतका लागि अहिले अन्नपूर्ण गाउँपालिकाको नागडाँडा निस्केर सराङकोट हुँदै जानुपर्ने बाध्यता रहेको बताउँछन् । घर नजिकको लोकमार्ग हुँदै जाँदा आधा घण्टामा पोखरा आउनजान सकिने अवस्था रहे पनि जोखिमपूर्ण र हिलाम्मे सडकमा गाडी चलाउन नसकिने हुँदा एक घण्टाभन्दा बढी समय लाग्ने घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यतामा रहेको उनले बताए । ‘मध्यपहाडीको बाटो अहिले हाम्रा लागि धराप बनेको छ, हिलाम्मे सडकमा मोटरसाइकल र साना चारपांग्रे सवारी चलाउनसक्ने अवस्था छैन, कतिपय अवस्थामा बाटोमा सवारी साधन छोडेर हिँड्नुपर्ने अवस्था आयो, वर्षात्मा सो बाटो भएर कुनै पनि यातायात सहज सञ्चालन गर्ने सक्ने अवस्था छैन’, उनले भने ।

पोखरा–२५ हेमजाका माधवशरण पौडेलले अहिलेको सडकको दुरवस्थाका कारण बिरामीलाई अस्पताल पु¥याउन एम्बुलेन्ससमेत जान नसक्ने अवस्था रहेको बताए । कास्कीका दुई पालिका र चार जिल्लाको प्रमुख सडकमार्ग खाल्डाखुल्डीसहितको हिलाम्मे हुँदा दुर्घटना बढेको उल्लेख गर्दै उनले अहिलेको सडक निर्माणको कामबाट स्थानीयवासी सन्तुष्ट हुन नसकेको बताए । पोखराबाट साविकका धौलागिरी अञ्चलका जिल्ला जोड्ने प्रमुख सडकयात्रा जोखिमपूर्ण हुँदा यात्रुले आक्रोस व्यक्त गर्ने गरेका छन् ।

मध्यपहाडी लोकमार्गको ३७ किमि लामो कास्की खण्ड तीन वर्षभित्र निर्माणसम्पन्न गर्ने गरी तीन भागमा विभाजन गरेर वि.सं. २०७४ असारमा दुई अर्ब ९३ करोड ६६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । याम्दीदेखि सुइखेतफाँटसम्म स्वच्छन्द इलाइट जेभीले ९८ करोड ७९ लाख ६१ हजार ४ सय १५ रुपैयाँ तथा सुइखेतदेखि घट्टेखोलासम्म शर्मा एण्ड कम्पनीले ९८ करोड १२ लाख ५० हजार ५ सय २९ रुपैयाँ लागतमा कामको जिम्मा पाएका थिए ।

त्यसैगरी घट्टेखोलादेखि नयाँपुलसम्मको २६ किमि दूरीमा श्रेष्ठ दिवा एपेक्स कन्स्ट्रक्सनसँग ९६ करोड ७४ लाख ११ हजार १ सय ७ रुपैयाँमा मध्यपहाडी लोकमार्ग आयोजना पर्वतले ठेक्का सम्झौता गरेको थियो । राजमार्ग छ लेन (३० मिटर) चौडाइ तथा तीन मिटरको डिभाइडर(मेडियन) तथा दायाँबायाँ दुई÷दुई मिटरको नाला निर्माण गरिने सम्झौतामा उल्लेख छ । पहाडी क्षेत्रका कारण घट्टेखोलादेखि नयाँपुलसम्म भने दुई लेन मात्र हुनेछ ।

उच्च प्रविधिको ‘अस्पात कंक्रिट’ प्रविधिको माध्यमबाट सडक कालोपत्रे गर्ने सम्झौता भए पनि काममा ढिलाइ हुँदा नागरिकले हैरानी र सास्ती पाएका छन् । चालू आवभित्रमा निर्माण सम्पन्न हुनुपर्ने सडकको काम अहिले बन्दाबन्दीका कारणले प्रभावित बनेको छ । त्यसअघि सडक विस्तारमा अधिकांश स्थानमा बिजुली र खानेपानीका पाइप स्थानान्तरण गर्न ढिलाइ हुँदा आयोजनाको भौतिक प्रगति कम भएको दाबी निर्माण कम्पनीको छ ।

घट्टेखोलादेखि नयाँपुलसम्मको सडकमा भने कार्य प्रगति भएको छ । सो सडकखण्डमा अधिकांश स्थानमा कोलोपत्रे गरिए पनि याम्दीदेखि घट्टेखोलासम्मको सडक यात्रा कष्टकर छ । हालसम्म बाटो फराकिलो पार्ने, नाली निर्माण तथा सोमाथि स्ल्याब, कल्भर्डको निर्माण, आवश्यक ठाउँमा रिटेलिङ्ग वालको काम सकिएको आयोजनाका ईन्जिनियर अनन्त बरालले जानकारी दिए । उनले हालसम्म समग्रमा ७० प्रतिशत हाराहारीमा काम सम्पन्न भएको जानकारी दिए ।

लामो समय बाटोमा हैरानी भोग्न बाध्य बनेपछि शुक्रबार धम्पुस र हेमजाका स्थानीयवासी, जनप्रतिनिधि, आयोजनाका प्राविधिक तथा निर्माण व्यवसायीको छलफलले सडकको तुरुन्त स्तरोन्नति गरी वर्षात्मा सहज यातायात सञ्चालनको व्यवस्था मिलाउन निर्माण व्यवसायीलाई निर्देशन दिएको छ । छलफलमा निर्माण व्यवसायी राजु रानाभाटले आगामी तीन दिनभित्रमा सडकबाट हिलो हटाएर बाटो सफा गर्ने प्रतिबद्धता जनाए ।

विगतमा ४६ मजदुरले काम गरेपनि बन्दाबन्दीपछि आधाभन्दा कम मात्र रहेको र मेसिन चलाउने अपरेटरसमेत नपाउने अवस्था रहेको बताउँदै उनले हाल स्थानीयवासी तथा यात्रुले भोग्नुपरेको समस्या छिट्टै समाधान गरिने जानकारी दिए । लकडाउनले आयोजना सम्पन्न गर्न अझै एक वर्ष थप समय लाग्ने दावी उनको छ । गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले राष्ट्रिय गौरवको आयोजनालाई सुव्यवस्थित रुपमा सम्पन्न गर्नुपर्ने दायित्व निर्माण व्यवसायी, प्राविधिक तथा स्थानीयवासीको रहेको बताउँदै तात्कालीन समस्यालाई तुरुन्त समाधान गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका थिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया