Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालहिउँ परेसँगै दोलखामा आन्तरिक पर्यटक बढे

हिउँ परेसँगै दोलखामा आन्तरिक पर्यटक बढे


सुबास बस्नेत
दोलखा, मंसिर २९
हिउँ परेसँगै दोलखामा आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको छ । जिल्लाको हिमाली क्षेत्र कालिन्चोक, शैलुङ, खरीढुङ्गा लगायतका उच्च भूभागहरुमा शुक्रबार बिहादेखि नियमित हिमपात भइरहेको छ । जिल्लामा हिउँ परेसँगै हिउँमा रमाउने पर्यटकको चाप पनि एक्कासि बढेको हो । मौसम बदली भएसँगै दोलखाको उच्च हिमाली क्षेत्रमा शुक्रबार हिमपात भएको हो । दोलखाको धार्मिक एवम् पर्यटकीय क्षेत्र कालिञ्चोकसहित उच्च क्षेत्रमा हिमपात भएको हो । कालिञ्चोक क्षेत्रमा बाक्लो हिमपात भएको छ भने जिल्लाको अन्य उच्च भूभाग जिरीको चेर्दुङ, शैलुङ, खरीढुङ्गालगायतका ठाउमा हिमपात भएको स्थानीयले बताएका छन् ।

गत वर्षको तुलनामा यस वर्ष निकै अगाडिदेखि नै हिमपात सुरु भएकोले पर्यटकको संख्यामा पनि वृद्धि हुने अनुमान गरिएको छ । यो वर्षको पहिलो हिमपात भएको दिन शुक्रबार पनि करिब ३० हजार पर्यटक कालिञ्चोक हिउँ खेल्न पुगेको कालिन्चोक होटल व्यवसायी चन्द्र कुमार तामाङले जानकारी दिए । हिमपातका कारण कालिञ्चोक क्षेत्रमा सवारीसाधन सञ्चालनमा कठिन भएको प्रहरीले जनाएको छ । हिमपात सुरु भएसँगै जिल्लाको उच्च भूभाग तथा तथा डाँडाहरु सेताम्य देखिन थालेका छन् ।

काठमाडौंबाट १ सय ३३ किलोमिटर दूरीमा रहेको कालिञ्चोक मन्दिर पुग्न सदरमुकाम चरीकोटबाट १७ किलोमिटर सडक यात्रा पार गर्नुपर्ने हुन्छ । साथै हिउँदे वर्षा भएपछि हिउँदे बाली लगाउने कृषक उत्साहित बनेको छन् । गहुँ, आलु र बेमौसमी तरकारी खेती गर्ने कृषकलाई हिउँदे झरीले थप उत्साही बनाएको स्थानीय कृषकको भनाइ छ । केही दिनयता मौसम बदली भएसँगै चिसो बढेपछि जिल्लाभरको जनजीवन भने थप प्रभावित भएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया