Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालदलित युवालाई कुटपिट गर्नेलाई पक्राउ गर्न माग

दलित युवालाई कुटपिट गर्नेलाई पक्राउ गर्न माग


महेन्द्र शाही
सोलुखुम्बु, असार १७
घरको ढोका छोएको निहुँमा दलित किशोरमाथि हातपातमा संलग्नलाई तत्काल पक्राउ गर्न सोलुखुम्बुका दलित समुदायका अगुवाहरूले माग गरेका छन् । गत जेठ ३१ गते सोलुदूधकुण्ड नगरपालिका ९ सिसाखोलाका स्थानीय तारा थापामगर र श्याम थापामगरले १६ वर्षीय दिपक विश्वकर्मामाथि हातपात गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा मुद्दा समेत दर्ता भएको छ । मुद्दा दर्ता भए पनि पक्राउ नगरेको भन्दै अधिकारकर्मीले कानुनी दायरामा ल्याउन मागसहित जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

जातीय भेदभावविरुद्धको कसुरमा असार ७ गते जिल्ला प्रहरी कार्यलयमा उजुरी दर्ता भएर पक्राउ पुर्जी जारी भए पनि पक्राउ नगरिएको भन्दै प्रशासन र प्रहरीको ध्यानाकर्षण गराउनु परेको दलित अगुवा विनोद कालीकोटेले बताए । यदि घटनालाई सामान्यरूपमा लिएर दोषीलाई उन्मुक्ति दिने कोसिस भएमा जिल्लाका सिंगो दलित समुदाय सशक्त आन्दोलन गर्न बाध्य हुने समेत ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी (सीडीओ) रमा आचार्यले आफू जातीय विभेदविरुद्धकै अभियानमा रहेको भन्दै यथार्थ बुझेर पक्राउमा सहजीकरण गर्ने बताइन् । कसैले पनि जातीय विभेद गरेको पाइएमा कडाभन्दा कडा कारबाही गरिने उनको भनाइ छ । यता जिल्ला प्रहरी कर्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकुनन्द इवा लिम्बुले किटानी जाहेरीको आधारमा आरोपितको खोजीकार्य जारी रहे पनि नभेटिएको जानकारी दिए । ध्यानकर्षणपत्रको सोलुदूधकुण्ड नगरपालिका र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सोलुखुम्बुलाई समेत बोधार्थ दिइएको छ । इन्सेक सोलुखुम्बुको सहयोगमा नै उक्त मुद्दा दर्ता भएको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया