Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकोरोना संक्रमण पुष्टि भएपछि आत्महत्या

कोरोना संक्रमण पुष्टि भएपछि आत्महत्या


आशिष बहादुर सिंह
बझाङ, असार २१
कोरोना संक्रमण पुष्टि भएपछि बझाङका एक युवाले आत्महत्या गरेका छन् । खप्तड छान्ना गाउँपालिका ७ का १८ वर्षीय युवकले संक्रमण पुष्टि भएको भोलिपल्टै आत्महत्या गरेका हुन् । गत जेठ १९ गते १६ जनाको समूहमा भारतबाट फर्किएका १८ वर्षीय शेरबहादुर राउत शुक्रबार बिहान क्वारेन्टाइन नजिकैको जंगलको रुखमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका हुन् ।

कोरोना संक्रमण पुष्टि भएपछि बिहीबारदेखि उनी वडा नं ७ मा नै रहेको लामागडा प्राथमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा एक्लै बसिरहेका थिए । उनीसँगै आएका १६ जनाको गत असार १ गते आरडीटी परीक्षण गर्दा तीन जनाको आरडीटी पोजेटिभ आएको थियो । आरडीटी नेगेटिभ आएकालाई घर पठाएर राउतलगायत तीन जनाको पीसीआर परीक्षण गरिएको थियो ।

बिहीबार आएको पीसीआर परीक्षणको नतिजामा उनको मात्रै पोजेटिभ आएपछि उनी तनावमा रहेको बुझिएको खप्तड छान्ना गाउँपालिका ७ का वडा अध्यक्ष रामबहादुर सिंहले बताए । ‘बिहान ७ बजेसम्म आफन्तसँग कुरा गरेको रहेछ’, खप्तड छान्ना गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा अध्यक्ष सिंहले भने, ‘संक्रमण भयो, अब बाँच्दैन होला भन्ने खालका निराश कुरा गरेको थियो रे । त्यसैकारण आत्महत्या गरेको हुनसक्छ ।’


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया