Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालविश्वविद्यालयले चलाएको अनलाइन कक्षा ७० प्रतिशत विद्यार्थीको पहुँच छैन

विश्वविद्यालयले चलाएको अनलाइन कक्षा ७० प्रतिशत विद्यार्थीको पहुँच छैन


धनबहादुर जप्रेल
कञ्चनपुर, असार २५
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका अधिकांश विद्यार्थीहरूले आफूहरू अनलाइन कक्षाको पहुँचभन्दा बाहिर रहेको गुनासो गरेका छन् । कोरोना भाइरसको महामारीका कारण गत जेठदेखि विश्वविद्यालयले पढाइमा असर नपुगोस् भन्नका लागि सुचारु गरेको अनलाइन कक्षामा ७० प्रतिशत विद्यार्थीहरू पहुँचभन्दा बाहिर रहेका पाइएको छ ।

अधिकांश विद्यार्थीहरू दुर्गम क्षेत्रमा बसोबास गर्ने र दुर्गम क्षेत्रमा नेटवर्कको समस्या भएका कारण अनलाइन कक्षामा सहभागी हुन नसकेको उनीहरूको गुनासो छ । विद्यार्थीहरूको सहभागिता न्युन मात्रामा भएको भन्दै विद्यार्थीहरूले नै असन्तुष्टि जनाएपछि स्नातक तहको इन्जिनियरिङ पाँचौ समेस्टरको पढाइ नै स्थगित गरिएको इन्जिनियरिङ संकाय पाँचौ समेस्टरमा अध्ययनरत विद्यार्थी प्रकाश जप्रेलले बताए । आफ्नो ब्याजमा ४८ जना विद्यार्थीहरू रहेकोमा अनलाइन कक्षामा मुस्किलले १० जनासम्म पुग्ने गरेकाले कक्षा नै बन्द गराउनुपरेको उनको भनाइ छ । व्यवस्थापन संकायमा अध्ययनरत कृष्णसिंह ऐरले पहाडी क्षेत्रमा नेटवर्कको समस्याले अनलाइन कक्षामा सरिक हुन नसकिरहेको गुनासो गरे । उपयुक्त नीति अवलम्बन गरी विश्वविद्यालयले विद्यार्थीहरूको शैक्षिक उपलब्धिमा चासो दिनुपर्ने उनले माग गरे ।

विश्वविद्यालयले सुचारु गरेको अनलाइन कक्षाप्रति प्राध्यापकहरूले नै असन्तुष्टि जनाएका छन् । अनलाइन कक्षामा सबै विद्यार्थीहरूको पहुँच पुग्न नपाएको भन्दै उनीहरू असन्तुष्ट बनेका हुन् । ‘अनलाइन कक्षा हचुवाका भरमा अगाडि बढाइयो’, प्राध्यापक भूपेन्द्र विष्टले भने, ‘३० प्रतिशत विद्यार्थी मात्रै अनलाइन कक्षामा सरिक भएको पायौँ ।’ उनले अगाडि थपे, ‘अनलाइन कक्षाका लागि सर्वप्रथम विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीको पारिवारिक तथा आर्थिक अवस्थालाई पनि मध्यनजर गरिनुपर्ने हो तर त्यसमा हामी चुक्यौ ।’

विश्वविद्यालय अनुदान आयोगले यसअघि अनलाइन कक्षा सञ्चालनका लागि विद्यार्थीहरूबाट नम्बर, इमेल आइडी समेटी प्रपोजल तयार पार्न निर्देशन जारी गरेको थियो । सोहीअनुरूप रजिष्टारको आदेशमा विभागीय प्रमुखहरूले अनलाइन कक्षा सुचारुका लागि आवश्यक पर्ने विद्यार्थीहरूबाट व्यक्तिगत जानकारी माग गरेका थिए । व्यवस्थापन संंकायमा मात्रै ४ सय विद्यार्थीहरूबाट इमेल तथा फोन नम्बर संकलन गरिएको विभागीय प्रमुख शंकर दत्त भट्टले बताए ।

‘अन्य विभागका विद्यार्थीहरूको अनलाइनबाट पढाइ सुरु भइसकेको छ’ उनले भने, ‘साउन दोस्रो साताबाट व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीको पनि अनलाइन कक्षा सुरु हुनेछ ।’ तर अन्य विभागमा सुरु भएको अनलाइन कक्षामा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता नपाउँदा व्यवस्थापन संकायमा पनि सबै विद्यार्थी सहभागी हुनेमा विश्वस्त नभएको उनले बताए ।

एकातिर अनलाइन कक्षामा सरिक हुन नपाउँदा चिन्तित बनेका विद्यार्थीहरू परीक्षाको विषयमा समेत अन्यौलमा छन् । निश्चित वर्षको पाठ्यक्रम अध्ययन पूरा गरिसकेपछि परीक्षाको तयारीमा बसेका विद्यार्थीहरू विश्वविद्यालयले लिने जाँचका विषयमा कुनै निर्णय नगर्दा अन्यौलमा परेको बताउँछन् । विश्वविद्यालयले तत्काल परीक्षा लिने विषयमा कुनै निर्णय भइनसकेको उपकुलपति अमरराज जोशीले बताए ।

विद्यार्थीहरूको पढाइलाई निरन्तरता दिन विश्वविद्यालयले अवलम्बन गरेको अन्तिम र उपयुक्त विकल्पका रूपमा अनलाइन कक्षालाई लिइएको थियो । तर सबै विद्यार्थीहरू इन्टरनेटको पहुँचमा पुग्न नसक्दा अनलाइन कक्षाबाट पढाउन नसकिरहेको विश्वविद्यालयको जिकिर छ । ‘विद्यार्थीहरूका इमेल आईडी लियौ, एनटीसीले सस्तोमा इन्टरनेट सुविधा उपलब्ध गरायो विश्वविद्यालयका उपकूलपति अमरराज जोशीले भने, ‘हाम्रा विद्यार्थीहरूमा स्रोतसाधनको अभाव छ, ल्याप्टब छैन स्मार्ट फोन छैन विविध समस्याले स्नातक तहका थुप्रै कक्षाहरू चलाउन सकिएन ।’

विद्यार्थीहरूको तत्काल परीक्षा लिने या नलिने विषयमा अन्य विश्वविद्यालयहरूसँग पनि छलफल भइरहेकाले तत्कालका लागि भ्याएसम्म बढीभन्दा बढी अनलाइन कक्षामा सरिक गराउन लागिपरेको उनले जनाए । ‘तत्काल परीक्षा लिने विषयमा हाम्रो विश्वविद्यालयले मात्रै निर्णय गर्न सक्दैन उनले भने, ‘अरू विश्वविद्यालय कुन तरिकाले जान्छन् हेरौँ ।’


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया