Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसुनचाँदीको दैनिक मूल्य निर्धारणलाई थप वैज्ञानिक र पारदर्शी बनाउने सुझाव दिन महासंघको आग्रह

सुनचाँदीको दैनिक मूल्य निर्धारणलाई थप वैज्ञानिक र पारदर्शी बनाउने सुझाव दिन महासंघको आग्रह


काठमाडौं, साउन ८
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले सुनचाँदीको दैनिक मूल्य निर्धारणलाई थप वैज्ञानिक र पारदर्शी बनाउने सुझाव दिन उपभोक्ता तथा सुनचाँदी व्यवसायी संघसंस्थाहरुसँग आग्रह गरेको छ । सरकारले सुनचाँदीको दैनिक मूल्य निर्धारण गर्नको लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उप–सचिव देवीप्रसाद थपलियाको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

कार्यदलमा महासंघको पनि प्रतिनिधित्व रहेकोले सुनचाँदीको मूल्य निर्धारण कार्यलाई वैज्ञानिक, पारदर्शी व्यवसाय–मैत्री र आम उपभोक्ताको हक, हितको समेत प्रत्याभूति हुने गरी स्पष्ट प्रणालीको तर्जुमा गर्न अवलम्बन गरिनु पर्ने विषयहरुबारे आ–आफ्ना सुझावहरु दिई सहयोग गर्न महासंघमा आवद्ध सदस्य संस्थाहरु, गहना व्यवसायीहरु तथा उपभोक्तासँग महासंघले आग्रह गरेको हो ।

विगत १० वर्षदेखि कोटा प्रणालीअन्तर्गत नेपाल राष्ट्र बैंकले तोकेका वाणिज्य बैंकहरु मार्फत सुनको पैठारी हुँदै आएको र चाँदीको आयात भने खुला रहेको छ । बैंक मार्फत पैठारी हुने सुनको थोक बिक्री नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ, नेपाल रत्न तथा आभुषण संघ, नेपाल सुनचाँदी कला व्यवसायी संघका साथै अन्य दुई महासंघहरु समेत गरी विभिन्न ५ संस्थाबाट सिफारिश गरिएको आधारमा व्यवसायीहरुले सम्बन्धित बैंकबाट खरीद गर्ने परिपाटी रहेको महासंघका महासचिव कृष्णलाल महर्जनले बताए ।

महासंघले बुधबार एक विज्ञेप्ती जारी गर्दै आयातकर्ता बैंकले विक्री गर्ने सुनको मूल्य एकै दिनमा बैंक पिच्छे फरक–फरक हुने गरेकोले त्यसको असर खुद्रा मूल्यमा पर्ने र यसबाट गहना व्यवसायी र आम उपभोक्तामा अन्योल सिर्जना हुन सक्ने विषयलाई ध्यानमा राखी महासंघले बैंकबाट खरिद गरिएको आधारमा दैनिक खुद्रा मूल्य निर्धारण गर्दै आएको जनाएको छ ।

आयातकर्ता बैंकले दैनिक मूल्यमा एकरुपता कायम नगरेको र कतिपय संस्थाले ‘आधिकारिक मूल्य’ भन्दै बैंकको आधार–मूल्य भन्दा पनि कम रकमको दैनिक खुद्रा मूल्य तोकेर बजारलाई अराजक बनाएकोले मूल्य निर्धारण कार्यलाई वैज्ञानिक र पारदर्शी बनाउन महासंघले गृहकार्य थालेको पनि जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया