Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालखुम्बु क्षेत्रमा आउने पर्यटकमा ५० प्रतिशतले गिरावट

खुम्बु क्षेत्रमा आउने पर्यटकमा ५० प्रतिशतले गिरावट


महेन्द्र शाही
सोलुखुम्बु, साउन १६
गत आर्थिक वर्ष २०७६/०७७ मा सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या करिब ५० प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७५/७६ मा ५७ हजार दुई सय ९८ जनाले सगरमाथा राष्ट्रिय निकुञ्जको भ्रमण गरेकोमा आर्थिक वर्ष २०७६–०७७ मा ३२ हजार छ सय ३७ जनाले मात्र भ्रमण गरेका छन् ।

निकुञ्जको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ३१ हजार पाँच सय ३५ जना विदेशी र एक हजार एक सय दुई जना नेपाली पर्यटकले निकुञ्ज क्षेत्रको भ्रमण गरेका छन् । जसमा एक हजार एक सय ६७ जना सार्क राष्ट्रका हुन् । भ्रमण वर्ष २०२० को सुरुवाती चरणमै कोरोना महामारीका कारण पर्यटन क्षेत्रमा ठूलो असर परेको र सोही कारण सगरमाथा क्षेत्रमा आउने पर्यटकको संख्या दोब्बरले घटेको टानका प्रथम उपाध्यक्ष चोलेन्द्र कार्कीले बताए । यसैबीच, सगरमाथा राष्ट्रिय निकुञ्जले आर्थिक वर्ष २०७६/७७ मा साढे नौ करोड रूपैयाँँभन्दा बढी राजस्व संकलन गरेको छ ।

गत आर्थिक वर्षमा निकुञ्ज क्षेत्र भ्रमणमा आउने विदेशी तथा स्वदेशी पर्यटक तथा अन्य गतिविधिबाट नौ करोड ५७ लाख ६० हजार नौ सय ९४ रूपैयाँँ राजस्व संकलन भएको हो । वन रोयल्टीबाट नौ करोड ४२ लाख ४३ हजार नौ सय ६१, अन्य प्रशासनिक सेवा शुल्कबाट चार लाख आठ हजार, वन क्षेत्रको रोयल्टीबाट १० लाख ९२ हजार आठ सय दुई रूपैयाँँ राजस्व सकंलन भएको निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । कार्यालयका प्रमुख भूमिराज उपाध्यायका अनुसार १६ हजार दुई सय ३० रूपैयाँ बेरुजु असुली गरिएको छ ।

निकुञ्जले खुम्बु पासाङल्हामु गाउँपालिकाको जोरसल्ले र काठमाडौंको भृकुटीमण्डपमा काउन्टर स्थापना गरेर राजस्व संकलन गरिरहेको छ । कार्यालयका अनुसार नाम्चेस्थित कार्यालयबाट आठ करोड ५६ लाख ११ हजार नौ सय ९४ र काठमाडौँको भृकुटीमण्डपस्थित काउन्टरबाट एक करोड १४ लाख नौ हजार रूपैयाँ राजस्व संकलन भएको छ ।

निकुञ्जले विदेशी पर्यटकबाट प्रतिपर्यटक तीन हजार रूपैयाँ प्रवेश शुल्क लिनेगरेको छ भने सार्क मुलुकका नागरिकबाट एक हजार पाँच सय रूपैयाँ शुल्क लिँदै आएको छ । त्यस्तै, एकपटक हेलिकोप्टर अवतरण गरेबापत अवतरण शुल्क तीन हजार लिने गरिएको संरक्षण अधिकृत उपाध्यायको भनाइ छ । विसं २०३२ सालमा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्गकिमि क्षेत्रफलमा फैलिएको छ । पूर्वी नेपालको सोलुखुम्बुमा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुराहरू रहेका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया