Techie IT
×
गृहपृष्ठनेपालकिशोरीहरुलाई पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड वितरण

किशोरीहरुलाई पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड वितरण


महेन्द्र शाही
सोलुखुम्बु, पुस ७
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाले नगर क्षेत्रका किशोरीहरुलाई पुनः प्रयोग गर्न मिल्ने कपडाको सेनेटरी प्याड वितरण गरेको छ । नगरपालिकाले वडा नम्बर ५ मा रहेको जनजागृति आधारभूत विद्यालयका किशोरीहरुलाई प्याड वितरण गरेको हो । नगरपालिकाभित्रका विद्यालयमा कक्षा ८ देखि १० सम्मका किशोरीहरुलाई रजस्वलाको समयमा सहजताका लागि कपडाको प्याड वितरण थालिएको नगरपालिकाले जनाएको छ ।

रजस्वलाको समयमा पनि विद्यालय नछुटोस् भन्नका लागि चालू आर्थिक वर्षमा ७ सय ५० किशोरीलाई प्याड वितरण गरिने नगरपालिकाले जनाएको छ । बजारमा पाइने प्याड प्रयोग गरेपछि फाल्नुपर्ने हुँदा त्यसले प्रदूषण बढाएकाले व्यक्तिगत र सामुदायिक सरसफाइका लागि पुनः प्रयोग गर्न मिल्ने प्याड वितरण सुरु गरेको नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले बताए । यस्ता कार्यक्रम आगामी वर्षमा पनि समावेश गर्ने र कपडाको प्याड स्थानीयस्तरमै प्रयोग गर्नसक्ने गरी तालिमको समेत व्यवस्था मिलाउने मेयर शेर्पाको भनाइ छ ।

तीन वर्षसम्म प्रयोग गर्न मिल्ने कपडाको प्याड स्वास्थ्य र सरसफाइमैत्री रहेकोले पनि प्रयोग गर्नु किशोरीका लागि फलदायी बन्ने उपमेयर कल्पना राईले बताइन् । रजस्वलाको विषयमा किशोरीहरु लाजभन्दा पर बस्न सके र पुनः प्रयोग गर्न मिल्ने प्याडको प्रयोगले स्वस्थ बन्न सहयोग मिल्ने उनको भनाइ छ । वितरण कार्यक्रममा प्याड प्रयोग र पुनः प्रयोगका विषयमा सल्लेरी स्वास्थ्यचौकीका नर्सिङ निरीक्षक सोनाम डोल्मा शेर्पाले किशोरीहरुलाई अभिमुखीकरण गराएकी थिइन् । बाँकी विद्यालयमा क्रमशः कपडाको प्याड वितरण र प्रयोगको सम्बन्धमा जानकारी कक्षा समेत लिइने नगरपालिकाले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया