Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालअस्पतालको आन्तरिक किचलोले ‘सिटी स्क्यान मेसिन’ खरिदमा ढिलाइ

अस्पतालको आन्तरिक किचलोले ‘सिटी स्क्यान मेसिन’ खरिदमा ढिलाइ


जीवन बिष्ट
धनगढी, साउन २३
सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अझै सुरु हुन सकेको छैन । अस्पताल प्रशासनको चरम लापरबाहीका कारण मेसिन खरिदका लागि गत आर्थिक वर्ष २०७६/०७७ मा विनियोजित साढे आठ करोड रकम फ्रिज भएको छ । अस्पतालले आन्तरिक किचलोका कारण मेसिन खरिदका लागि हालसम्म टेन्डरसमेत गर्न सकेको छैन ।

गत आर्थिक वर्षका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन खरिद गर्न साढे आठ करोड र यसकै भवन निर्माणका लागि छ करोड विनियोजन गरेको थियो । तर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हेमराज पाण्डेले भने आन्तरिक कारण देखाउँदै सिटी स्क्यान मेसिन खरिद गर्न समस्या रहेको भन्दै आलटाल गरे । उनले रकमान्तरका लागि मन्त्रालयमा परिपत्र समेत गरे ।

डा. पाण्डेले हाल अस्पतालमा उक्त मेसिन खरिद गर्न नसकिने भन्दै मन्त्रालयमा रकमान्तरका लागि पत्र पठाएका थिए । अस्पताल विकास समितिसँग छलफलबिना नै मेसु पाण्डेले रकमान्तरका लागि पत्र पठाएको भन्दै चर्को आलोचना पनि भएको थियो । मेसु पाण्डेले त्यतिबेला अस्पतालमा तत्काल सिटी स्क्यान खरिद गरिए पनि यसलाई कसरी सञ्चालन गर्ने भन्ने संरचना अभाव देखिएकाले रकमान्तरका लागि पत्र पठाएको स्वीकार गरेका थिए ।

सामाजिक विकास मन्त्रालयले पटक–पटक ताकेता गर्दा पनि अस्पताल प्रशासनको लापरबाहीका कारण गत आर्थिक वर्षको बजेट फ्रिज भएको जनाएको छ । अस्पताल प्रशासन र व्यवस्थापन समितिको आन्तरिक किचलोका कारण बजेट फ्रिज गएको मन्त्रालयको जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए ।

चालू आर्थिक वर्षमा पनि ५० लाख थपेर मेसिन खरिदका लागि नौ करोडको बजेट विनियोजन भएको उनले बताए । मन्त्रालयबाट मेसिन खरिदका लागि झकझकाउने काम भइरहेको उनको भनाइ छ । प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पाण्डेले गत वर्ष आन्तरिक कारणले खरिद प्रक्रिया सुरु हुन नसकेको स्वीकार गरे ।

उनले भने, ‘गत आर्थिक वर्षमै मेसिन खरिदका लागि साढे आठ करोडको बजेट आएको थियो तर त्यसलाई कार्यान्वयन गर्न सकिएन । चालू आर्थिक वर्षमा पनि ५० लाख थप भएर नौ करोडको बजेट आएको छ । सबै तयारी भइसकेको छ अबको १० दिनभित्रै टेन्डर हुन्छ ।’ उसो त सुपरिटेन्डेन्ट पाण्डेको बाहिर रहेको सिटी स्क्यान मेसिनमा लगानी रहेको आरोप लाग्दै आइरहेको छ । तर मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पाण्डे निजी क्षेत्रको सिटी स्क्यान मेसिनमा आफ्नो लगानी नरहेको दाबी गर्छन् । उनले भने, ‘कसैले प्रमाणसहित आओस् त्यसको सजाय म भोग्छु, मैले कुनै नर्सिङ होम अथवा निजी अस्पतालको सिटी स्क्यान मेसिनमा लगानी गरेको छैन ।’ उनले थपे, ‘मेरो सामान्य क्लिनिक छ म त्यसमा बिहान–बेलुका बस्छु अन्य समय म अस्पतालमै बिताउँछु ।’ सिटी स्क्यान खरिद गर्न आफूबाट कुनै अवरोध नगरेको उनले बताए ।

बिरामीलाई सास्ती : प्रदेशको एक मात्र रेफरल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा नहुँदा बिरामीहरू सास्ती खेप्न बाध्य छन् । उक्त सेवाको लागि अस्पताल पुग्ने बिरामीलाई अहिले निजी अस्पताहरूमा पठाइने गरिएको छ । त्यो पनि प्रभावकारी नभएको बिरामीको गुनासो छ ।

मन्त्रालयले मेसिन खरिदका लागि बजेट विनियोजन गर्दा पनि अस्पताल प्रशासनले खरिद प्रक्रिया सुरु नगरेको भन्दै सेवाग्राहीहरूले आक्रोश पोखेका छन् । धनगढी उपमहानगरपालिका १० जुगेडाका भगीरथ रानाले अस्पतालमा तत्काल सिटी स्क्यान सेवा सुरु हुनुपर्ने माग गरे । उनले भने, ‘अहिले अस्पतालमा आउने बिरामीहरूलाई सिटी स्क्यानका लागि निजी अस्पतालहरूमा पठाइने गरेको छ, यो निकै खर्चिलो छ ।’ उनले थपे, ‘हामी सेती प्रादेशिक अस्पतालबाट यो सेवा लिन चाहन्छौँ हामीलाई निकै सहज हुन्छ ।’ बिरामीहरू निजी क्षेत्रको सिटी स्क्यान मेसिनबाट सामान्य सेवाको लागि आठ हजारदेखि १८ हजारसम्म तिर्न बाध्य छन् । जब कि सेती प्रादेशिक अस्पतालमै यो सेवा सुरु भए बिरामीले चार हजारमै सेवा पाउनेछन् ।

सेवाग्राही यथाशिघ्र अस्पतालमा सिटी स्क्यान सेवा सुरु हुनुपर्ने बताउँछन् । अस्पतालमा रहेका डाक्टरहरूको निजी अस्पतालमा लगानी भएका कारण प्रादेशिक अस्पतालमा सिटी स्क्यान खरिद गर्न नखोजेको अर्का सेवाग्राही रूपबहादुर कुँवरको आरोप छ । उनले भने, ‘अस्पतालजस्तो संवेदनशील क्षेत्रमा राजनिजी मौलाउँदै गएको छ । यो गलत परम्परा हो ।’ सबैले आवाज उठाएर यसको समाधान खोजिनु पर्छ, रेफरल अस्पतालका रूपमा रहेको यस अस्पतालमा बिरामीको निकै चाप छ सिटी स्क्यान मेसिन यथाशीघ्र खरिद गरिनुपर्छ ।’ कसैको व्यक्तिगत स्वार्थका कारण नागरिकहरू स्वास्थ्य सेवाबाट वञ्चित हुन नहुने उनको तर्क छ  ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया