Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालआत्मनिर्भर बन्ने पेशामा तिलोत्तमाका गृहिणीहरु

आत्मनिर्भर बन्ने पेशामा तिलोत्तमाका गृहिणीहरु


पोसकान्त पोखरेल
बुटवल, साउन २५
तिलोत्तमा–४ भक्तपुर, रुपन्देहीका महिलाहरुले घर गृहस्थीको साथै आत्मनिर्भर बन्ने बाटो पहिल्याएका छन् । उक्त वडाका केही महिलाहरुले समूह बनाएर फूल खेती गरेर बिक्रीवितरण गर्नथालेका हुन् । १५ जनाको समूह बनाएर दुई कठ्ठा जग्गामा फूल खेती गरेका महिलाहरुले अहिले उक्त क्षेत्रफल र व्यवसायलाई वृद्धि गरेर १२ कठ्ठामा फूल खेती गर्दै आएका छन् ।

१५ जनाको समूह भएपनि फूल खेतीमा अध्यक्ष मायादेवी भट्टराई, सचिव तारा पोखरेल, उपाध्यक्ष रेणुका पाण्डे, कोषाध्यक्ष लक्ष्मी ज्ञवाली र सदस्य विष्णु पराजुली गरी पाँच जनाको संयुक्त लगानीमा भएको बताउँदै अध्यक्ष मायादेवी भट्टराईले बाँकी दश जना सदस्यहरुले माला बुन्न सघाउने र उनीहरुलाई प्रतिमालाको हिसाब गरेर भुक्तानी दिने गरेको बताइन् ।

कोरोना भाइरसको महामारीले गत आर्थिक वर्षमा राम्रो व्यापार हुन नसकेको बताउँदै उपाध्यक्ष रेणुका पाण्डेले सुरुमा १७ धूर जग्गामा सुरु गरेको बताइन् । ‘१७ धूरमा हामीले ३० हजार आम्दानी ग-यौँ । पछि आम्दानी हुने रहेछ भन्ने सोचेर थप जग्गा लिज (भाडा)मा लिएर व्यवसायलाई वृद्धि त ग¥यौँ कोरोना भाइरसले सोचेजस्तो सफलता प्राप्त गर्न सकिएन । तर पनि हार मान्नुहुँदैन अहिले नभए पनि भोलिका दिनमा अवश्य हुन्छ भन्ने दृढ संकल्पका गर्दै उच्च मनोबल बनाएर बसेका छौँ’, उनले भनिन् ।

उनले सानो परिमाणमा पाएको सफलताले क्रमशः स्वरुप फेर्दै भविष्यलाई राम्रो मार्ग देखाउने बताउँदै फूल खेतीमा भविष्य छ भन्ने संकेत र सन्देश प्राप्त गरेको बताइन् । सचिव तारा पोखरेलले बदलिँदो समयसँगै महिलाहरुले पनि आफूहरुलाई परम्परागत सोच र प्रचलनबाट बाहिर निकाल्न जरुरी रहेको बताउँदै पछिल्लो समयमा राजनीतिमा दिइएको महिला आरक्षणले नेपाली महिलाहरुको गरिमा बढाएको उल्लेख गरिन् ।

‘हामी सक्दैनौँ र हुँदैन भन्ने कुरा मन मस्तिष्कबाट हटाउनुपर्छ । गरे जे पनि हुन्छ नगरे केही पनि हुँदैन । महिलाहरु घरभित्रै हराउनुपर्छ भन्ने कहीँ कतै उल्लेख गरेको छैन’, अवसर पाए महिलाहरु पनि पुरुषभन्दा कम नभएका विभिन्न उदाहरणहरु दिँदै उनले भनिन्, ‘घरको काम गरेर पनि टिभी हेरेर बस्ने फुर्सदको समयमा धेरै सीपमूलक कामहरु गर्न सक्छौँ । सीपमूलक कामहरुले एकातिर हाम्रो क्षमतामा वृद्धि गर्छ भने अर्कोतिर आम्दानी पनि थपिँदै जान्छ।’ उनले सक्षम र दक्ष धेरै महिला दिदीबहिनीहरुले राज्यका विभिन्न तहतप्कामा बसेर काम गरेको बताउँदै क्षमता कम हुनेहरुले सीपमूलक तथा व्यावसायिक पेशातर्फ हात बढाउनुपर्ने बताइन् । यसो गर्दा स्वतः आफ्नो खुट्टामा आफैं उभिन सकिने उनको भनाइ छ ।

मौसमी तथा बेमौसमी फूलहरु उत्पादन गर्ने गरेको जानकारी गराउँदै कोषाध्यक्ष लक्ष्मी ज्ञवाली र सदस्य विष्णु पराजुलीले विशेष गरेर सयपत्री फूल लगाएको बताए । उनीहरुले समयको आवश्यकता अनुसारका फूलहरुमा विशेष जोड दिने योजनाअनुरुप सञ्चालित भएको बताउँदै मखमली, थुङ्गेलगायतका फूलहरु लगाउने र उक्त फूलहरुका बिरुवा आफूहरुले नै उत्पादन गर्ने गरेको बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया