Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालदेवदह मेडिकल कलेजलाई नमुना कलेजका रूपमा विकास गरिने

देवदह मेडिकल कलेजलाई नमुना कलेजका रूपमा विकास गरिने


बुटवल, साउन २७
देवदह नगरपालिकाको भलुही रुपन्देहीमा अवस्थित देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युट प्रालिलाई प्रदेश नं. ५ को नमुना मेडिकल कलेजको रूपमा विकास गरिने भएको छ । पाल्पा मेडिकल कलेज प्रभास पाल्पाको व्यवस्थापन पक्षले स्वामित्व लिने योजना अगाडि बढेसँगै नयाँ व्यवस्थापन समितिले नमुना कलेजको रूपमा विकास गर्ने योजना बनाएको हो । यसअघि निलकण्ठ काफ्ले र डाक्टर रजनीसिंह जिन्दालको टिमले सञ्चालन गरेको उक्त मेडिकल कलेजलाई पाल्पा मेडिकल कलेजका सफल कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेलको टिमले सञ्चालन गर्ने भएपछि देवदह नगरपालिकाका स्थानीयहरूमा खुशी छाएको छ ।

नगरपालिकाभित्र प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाको आवश्यकता भैरहेको समयमा स्वास्थ्य क्षेत्रमा सफलता प्राप्त गरेको नेतृत्वको हातमा मेडिकल कलेज जानु प्रशंसनीय भएको स्थानीयहरूको भनाइ छ । संस्थाका कम्पनीसचिव एवं प्रमुख प्रशासक कृष्णप्रसाद पराजुलीका अनुसार नयाँ नेतृत्व गत वर्षको माघ १ गतेदेखि कलेजमा प्रवेश गरे पनि विभिन्न कानुनी प्रक्रियाहरू मिलाउँदा असोज मसान्तसम्म पूर्णरूपमा स्वामित्व हस्तान्तरण हुने आँकलन गरिएको छ ।

नयाँ नेतृत्वले चुस्तदुरुस्त सेवा प्रवाह गर्दै वर्तमान अवस्थालाई थप व्यावस्थापन र व्यवस्थित गरेर नयाँ ढंगबाट प्रदेश नंं ५ कै नमुना कलेज बनाउने लक्ष्य राखेको छ । पुरानो नेतृत्वले पनि स्वास्थ्य सेवा प्रवाह राम्रै र व्यवस्थित रूपमै गरे पनि जुनरूपमा हुनुपर्ने हो त्यो रूपमा हुन नसकेको स्थानीयको भनाइ छ ।

नयाँ नेतृत्वले जनचाहना र आवश्यकताको आधारमा सेवा सुविधाहरू विस्तार गर्दै अन्यत्र जानुपर्ने बाध्यतात्मक अवस्थाको अन्त्य गर्नेगरी योजनाबद्धरूपले अगाडि बढेको बताएको छ । टिचिङ र क्लिनिकमा गरी ८० जना डाक्टरहरू कार्यरत छन् । ४० बेडबाट स्थापना भएको मेडिकल कलेजले हाल एक सय बेडको स्वीकृति प्राप्त गरे पनि चार सय बेड क्षमता रहेको छ । एमबीबीयसतर्फ वार्षिक ५०, नर्सिङ र एचएतर्फ वार्षिक ४०/४० विद्यार्थीहरूलाई मेडिकल शिक्षा प्रदान गर्दै आएको कलेजले सन् २०१४ बाट एमबीबीयसका कक्षाहरू सञ्चालनमा ल्याएको हो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया