Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालधनुषाका १३ सहित प्रदेश २ मा थप १५३ मा कोरोना संक्रमण, तीन जनाको मृत्यु

धनुषाका १३ सहित प्रदेश २ मा थप १५३ मा कोरोना संक्रमण, तीन जनाको मृत्यु


जनकपुरधाम, साउन २७
प्रदेश २ मा लगातार रुपमा कोराना संक्रमितको संख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा मात्र एक सय ५३ जनामा कोरोना संक्रमण देखिएको हो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जननकपुर र नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए । यससँगै यस प्रदेशमा संक्रमितको संख्या पाँच हजार आठ सय ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पर्सामा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै सर्लाहीमा २२, रौतहटमा १९, धनुषामा १३, बारामा चार र महोत्तरीमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साको वीरगञ्जमा ५६ जना, पर्सागढी नगरपालिकामा तीन जना, पटेर्वा सुगौली गाउँपालिकामा एक, जीराभवानी गाउँपालिकामा एक, भारतीय राजदूतावासमा एक, नारायणी अस्पताल क्वार्टरमा दुई, बहुदरमाई नगरपालिकामा एक, जिल्ला प्रहरी कार्यालयमा १३, पकहा मैनपुर गाउँपालिकामा दुई, अमरपत्तीमा तीन, बेल्वा हेल्थ पोष्टमा एक, मागनस फार्ममा तीन, पोखरिया अस्पतालमा तीन र ओम आश्रम, श्रीपुरमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए । त्यस्तै सर्लाहीको गौर अस्पतालमा एक जना र मलङ्गवा नगरपालिकामा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटको राजदेवी नगरपालिकामा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

धनुषाको जनकपुरधाममा एक जना, स्वास्थ्य कार्यालय धनुषामा एक, मिथिला नगरपालिकामा एक, औरही गाउँपालिकामा एक, नगराइन नगरपालिकामा एक, मिथिला विहारी नगरपालिकामा एक, प्रादेशिक अस्पताल जनकपुरमा तीन र ठाउँ नखुलेको स्थानका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराको कलैया उपमहानगरपालिकामा एक जना, परवानीपुर गाउँपालिकामा एक जना, फेटा गाउँपालिकामा एक जना र नारायणी अस्पतालका एक जना स्टाफमा कोराना संक्रमण पुष्टि भएको छ ।

महोत्तरीको जलेश्वर नगरपालिकामा दुई जना र रामगोपालपुर नगरपालिकामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यस प्रदेशमा कोरोनाबाट थप तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । धनुषाका एक जना पुरुष र पर्साको दुई जना महिलाको कोरोनाको कारण मृत्यु भएको पुष्टि भएको हो । यससँगै यस प्रदेशमा मृत्यु हुनेको संख्या २९ पुगेको छ भने तीन हजार तीन सय ८३ जना निको भएर आफ्नो घर फर्केका छन् । सोमबार नै २६ जना डिस्चार्ज भएका छन् ।

८८ सुरक्षाकर्मी कोरोना संक्रमित : प्रदेश २ मा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा काम गरिरहेका सुरक्षाकर्मीहरु समेत संक्रमित भएका छन् । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक अंशु कुमार सिंहले दिएको जानकारीअनुसार हालसम्म यस प्रदेशका ८८ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

भारतसँगको खुल्ला सीमाका कारण सर्वसाधारणहरु चोरबाटो हुँदै आउने गरेकोले लकडाउनको कार्यान्वयन गराउन खटेका सुरक्षाकर्मीहरुमा कोरोना फैलिँदै गएको छ । ८८ जना संक्रमित सुरक्षाकर्मीमध्ये ३८ जना निको भई डिस्चार्ज भइसकेको प्रहरी प्रवक्ता सिंहले बताए । प्रदेश प्रहरी कार्यालयका अनुसार अहिलेसम्ममा सबैभन्दा बढी पर्सा जिल्लामा २६ जना नेपाल प्रहरीका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये एक जना निको भएर डिस्चार्ज भइसकेका छन् भने धनुषामा २२ जना संक्रमितमध्ये १५ जना डिस्चार्ज भएका छन् ।

त्यस्तै बारामा १४ मध्ये सात, सप्तरीमा १३ मध्ये पाँच, रौतहटमा पाँचमध्ये चार र सर्लाहीमा चारमध्ये दुई जना डिस्चार्ज भइसकेका छन् । सिरहा र महोत्तरीमा दुई/दुई जना प्रहरी कर्मचारी संक्रमित भएको र उनीहरु सबै डिस्चार्ज भइसकेका छन् । प्रवक्ता सिंहका अनुसार संक्रमित भएका सुरक्षाकर्मीहरुको सम्पर्कमा आएका र कोरोनाको लक्षण देखिएकाहरुको मात्र पीसीआर परीक्षण गरिएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया