Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालवर्षात्को पानी संकलनबारे अन्तर्राष्ट्रिय वेबिनार हुने

वर्षात्को पानी संकलनबारे अन्तर्राष्ट्रिय वेबिनार हुने


काठमाडौं, साउन २९
नेपालको सहरी र ग्रामीण क्षेत्रमा देखिएको पानीको संकटलाई समाधान गर्न सघाउने उद्देश्यले स्मार्ट वास सोलुसन्सले एक अन्तर्राष्ट्रियस्तरको वेबिनारको आयोजना गर्ने भएको छ । स्मार्ट वास सोलुसन्स प्रालिका अध्यक्ष इ. रामदीप साहले बिहीबार र शुक्रबार वेबिनारको आयोजना गर्न लागिएको जानकारी दिए ।

वेबिनारमा इन्टरनेशनल रेनवाटर हार्भेस्टिङ एलायन्स जेनेभाका अध्यक्ष हान हेइज्नान, भारतको तामिलनाडु राज्यको रेन सेन्टरका निर्देशक डा. शेखर राघवन, लंका रेनवाटर हार्भेस्टिङ फोरम श्रीलंकाका प्रमुख कार्यकारी अधिकृत तनुजा अरियानन्दन, वाटर एड यूकेका अर्बन वास एडभाइजर इ. पुनित कुमार श्रीवास्तवको मुख्य प्रस्तुति रहनेछ । त्यस्तै नेपालको अवस्थाबारे काठमाडौं महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष इ. सरोज बस्नेतको प्रस्तुति रहनेछ भने सम्मेलनमा पूर्वसचिवद्वय किशोर थापा र सुमन शर्माले टिप्पणी गर्नेछन् ।

एसएनभी नेपालको क्याप्टेन आउटडोरको सहयोगमा स्मार्ट वास सोलुसन्सद्वारा आयोजित यस वेबिनारको सञ्चालन सहजीकरण पूर्वविज्ञान, प्रविधि तथा वातावरणमन्त्री इ. गणेश साहले गर्नेछन् । स्मार्ट वास सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत इ. हरिप्रसाद शर्माले यो अन्तर्राष्ट्रिय वेबिनार नेपालका सहरी र ग्रामीण दुवै क्षेत्रमा वर्षात्को पानी संकलन, प्रशोधन र बहुपयोगबारे ज्ञान, अभ्यास र प्रविधिका बारेमा जानकारी लिन चाहनेका लागि निकै उपयोगी हुने बताए ।

सम्मेलनको पूर्वसन्ध्यामा एक प्रेस नोट जारी गर्दै स्मार्ट वास सोलुसन्स प्रालिका अध्यक्ष इ. रामदीप साहले नेपालमा वर्षात्को पानी संकलन र उपयोग गर्ने मौलिक परम्परा र अभ्यास भए पनि त्यस्ता ज्ञान र अभ्यासको संरक्षण नभएकोले अहिले ग्रामीण र सहरी दुवै क्षेत्रमा सतही र भूमिगत पानीको अभाव हुँदै बताए ।

खानेपानी तथा पानी व्यवस्थापनका क्षेत्रमा उपलब्ध मौलिक ज्ञान, सीप र प्रविधिको संरक्षण तथा विश्वमा विकसित नयाँ ज्ञान, सीप र प्रविधिको उपयोगितालाई प्रवद्र्धन गर्दै आम नेपाली जनतालाई सहज रुपमा, सस्तोमा गुणस्तरीय सुरक्षित पिउने पानी उपलब्ध गराउने, पानीका स्रोत संरक्षण र व्यवस्थापन गर्ने, सहरी ढलको व्यवस्थापनजस्ता क्षेत्रमा काम गर्ने उद्देश्यले स्मार्ट वास सोलुसन्सको स्थापना भएको हो ।

स्थापनाको छोटो अवधिमा नै यसले गत वर्ष जुलाई २७ र २८ मा काठमाडौंमा वर्षात्को पानी संकलन र व्यवस्थापनसम्बन्धी एक राष्ट्रिय सम्मेलनको आयोजना गरेको थियो । वर्षात्को पानी संकलनलाई राष्ट्रिय प्राथमिकतामा ल्याउने अभिप्रायले आयोजित उक्त सम्मेलन निकै उपयोगी साबित भएको थियो ।

विश्वमा कोरोना भाइरसको संक्रमणको महामारी फैलिएर नेपालमा लकडाउन सुरु भएपछि हातको सरसफाइ र खानेपानीको गुणस्तर तथा उपलब्धताबारे विज्ञहरु, नीतिनिर्माता, अभ्यासकर्ता, अध्येता र आम उपभोक्तालाई सजग र सचेत गराउन स्मार्ट वास सोलुसन्सले यस क्षेत्रका नीतिनिर्माता, वैज्ञानिक, विज्ञ, प्राज्ञ, प्राविधिक तथा प्रशासनिक कर्मचारी, उपभोक्ता, सञ्चारकर्मी र स्थानीय तहका पदाधिकारीहरुको सहभागितामा केन्द्र र प्रदेशस्तरमा १८ विभिन्न विषयमा वेबिनार आयोजना गरेको थियो । स्मार्ट वासको वेबिनारका कारण केन्द्र, प्रदेश र स्थानीय तहमा क्वारेन्टाइन तथा आइसोलेसन कक्षहरु व्यवस्थित गर्न धेरै सहज हुन गएको दाबी पनि सो संस्थाले गरेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया