Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालदोलखामा निजी आवास निर्माणको काम ८८ प्रतिशत सम्पन्न

दोलखामा निजी आवास निर्माणको काम ८८ प्रतिशत सम्पन्न


सुबास बस्नेत
दोलखा, साउन ३०
पुनर्निर्माण प्राधिकरणअन्तर्गतको अनुदान व्यवस्थापन तथा पूर्वाधार विकास कार्यालय दोलखाले हालसम्म निजी आवास पुनर्निमार्णको काम ८८ प्रतिशत सम्पन्न भएको बताएको छ । ८८ प्रतिशत निमार्णका लागि जिल्लामा हालसम्म १८ अर्ब ४४ करोड ९३ लाख ५० हजार खर्च गरेको पनि कार्यालयले जनाएको छ ।

हालसम्म ६० हजार सात सय २६ घर पुनर्निमाण सम्पन्न भएको र उनीहरूको अन्तिम भुक्तानी समेत दिइसकेको कार्यलयका निमित्त प्रमुख अश्विन पोखरेलले बताए । निजी आवास पुनर्निर्माणका लागि लाभग्राही संख्या ७० हजार आठ सय छ रहेको छ भने प्रबलीकरणका लागि लाभग्राहीको संख्या दुई हजार छ सय ६२ समेत गरी जिल्लामा लाभग्राहीको संख्या ७३ हजार चार सय ६८ रहेको पाइएको छ । जसमध्ये अनुदानका लागि सम्झौता गर्नेहरूको संख्या ६९ हजार रहेको छ । अनुदान सम्झौता गर्नेको प्रतिशतलाई हेर्दा ९४ प्रतिशत रहेको पाइन्छ ।

त्यसैगरी अनुदान सम्झौताका लागि चार हजार चार सय ६५ लाभग्राहीले सम्झौता गरेका छैनन्, यो ६ प्रतिशत हो । अनुदान सम्झौता गरेर पहिलो किस्ता लागि सक्ने लाभग्राहीको संख्या ६८ हजार नौ सय १५ रहेको कार्यालयले जनाएको छ । दोस्रो किस्ता लिनेमा ६३ हजार सात सय ६ जना रहेका छन् । तेस्रो किस्ता भुक्तानी लिनेमा ६० हजार सात सय २६ रहेको कार्यालयका निमत्ति प्रमुख पोखरेलले बताए ।

यसैगरी पुनर्निर्माण सम्पन्न गर्ने ३० हजार परिवारले आवास निर्माण सम्पन्न प्रमाणपत्र समेत पाइसकेको कार्यालयले जनाएको छ । हाल कार्यलयले गैरलाभग्राही सूचीमा नाम प्रकाशन भई आएकाहरूको पुनरावेदनका लागि फारम संकलन गरिरहेको छ । पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनः जाँच गर्न ३५ दिनको सूचना जारी गरेको हुँदा जिल्लाका ९ स्थानीय तहका दुई हजार पाँच सय जनाले प्राधिकरणमा पुनरावेदन दर्ता गराएको पनि कार्यालयले जनाएको छ । दुई नगरपालिका र ७ गाउँपालिका रहेको दोलखा जिल्लामा सात हजार एक सय ५५ जना गैरलाभग्राही सूचीमा परेका छन् ।

त्यसैगरी भीमेश्वर नगरपालिका वडा नम्बर ४ मा रहेको जिलु एकीकृत बस्तीमा पनि पुनर्निर्माणको कामले तीव्रता पाएको छ । जिलुको फस्मे भन्ने स्थानमा एक सय आठ परिवारले निजी आवासको कामलाई तीव्रता दिएका छन् भने डिई भन्ने स्थानमा ७५ घरको काममा केही ढिलाइ भइरहेको र छिटो सक्न कार्यालयले ताकेता गरिरहेको जिल्ला आयोजना कार्यान्वय एकाइ भवन दोलखाका कार्यालय प्रमुख अर्जुन तमाङले बताए । त्यसै गरी भीमेश्वर नगरपालिका वडा नम्बर १ मा पनि ५७ घरमध्ये ५० घरको निमार्ण कार्य तीव्र गतिमा भइरहेको र बाँकी ७ घर निमार्णका लागि पनि कार्यलयले छिटो गर्न अनुरोध गरिरहेको प्रमुख तमाङले बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया