Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालखर्च अभावले मलेसियामा नेपाली अलपत्र

खर्च अभावले मलेसियामा नेपाली अलपत्र


महेन्द्र शाही
सोलुखुम्बु, साउन ३०
मलेसियाको एक कम्पनीमा कार्यरत ११ जना नेपाली पाँच महिनादेखि अलपत्र परेका छन् । अल्फा कम्पनीमा कार्यरत सबैको ५ महिनाअघि नै भिसा अवधि सकिएकाले अलपत्र परेको सोलुखुम्बु घर भई त्यहाँ कार्यरत घनश्याम श्रेष्ठले जानकारी दिएका छन् । नेपालमा गरिएको लकडाउन तथा अन्तर्राष्ट्रिय उडान बन्द हुँदा उनीहरू स्वदेश फर्कन पनि सकेका छैनन् । पाँच महिनादेखि कामबिना नै कोठामा बसिरहँदा खर्च अभाव भएको उनीहरूले बताएका छन् । ‘पाँच महिनादेखि काम गर्न पनि पाएको छैन,’ श्रेष्ठले भने, ‘नेपाल फर्कनका लागि मलेसियास्थित नेपाली दूतावासमा पटक–पटक अनलाइन फर्म पनि भ-यौं, तर नियमित उडान नहुँदा महंगो पर्ने भन्दै कम्पनीले पठाउन नै मान्दैन ।’

नियमित उडानका लागि भनेर कम्पनीले टिकटसमेत खरिद गरिसकेको उनको भनाइ छ । तर चार्टर्ड उडानका लागि करिब ५० प्रतिशत रकम थप गर्नुपर्ने भएकाले खर्च नहुँदा समस्या भएको भन्दै अलपत्र परेका नेपालीहरूले सहयोगका लागि अनुरोध गरेका छन् । मलेसियाबाट नेपाल आउन लागि नियमित उडानमा छ सयदेखि सात सय रिङ्गेट लाग्ने, तर चार्टर्ड उडानमा भने एक हजार ५ सय ९० रिङ्गेट तोकिएको छ । कम्पनीबाट आफूहरू विमानस्थलसम्म पुग्नकै लागि ६ घण्टा हिँड्नुपर्ने र यसका लागि ७० रिङ्गेट लाग्ने तथा कोरोना परिक्षणका लागि ३ सय ५० रिङ्गेट खर्च लाग्ने हुँदा समस्या भएको निरकुमार तामाङले बताए ।

कम्पनीले खर्च नव्यहोर्दा नेपाल आउनका लागि उनीहरूले ५६ हजार ७९ रूपैयाँ तिर्नुपर्ने हुन्छ । खाना र बस्नका लागि व्यवस्था गरे पनि कम्पनीले दिएको खाद्यान्नले पेटभर खानसमेत नपुग्ने गरेको विकास विश्वकर्माले बताए । ९ जनालाई एक साताका लागि २० किलो चामल दिने गरे पनि अपुग हुँदा किन्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । त्यो समेत नेपाली दूतावासलाई भनेपछि एक महिनायता मात्रै व्यवस्था गरेको अलपत्र परेका नेपालीहरूले बताएका छन् ।

खानाकै लागि एक जनालाई चार सय रिङ्गेट खर्च हुने गरेको घनश्याम श्रेष्ठले बताए । अहिले त्यस क्षेत्रमा पनि कोरोना फैलन थालेकाले जोखिम बढेको भन्दै उद्धारका लागि अनुरोध गर्नुको विकल्प नभएको उनीहरूले बताएका छन् । उनीहरूलाई अब खानाकै लागि नेपालबाट खर्च मगाउनुपर्ने अवस्था निम्तिएको छ । अलपत्र परेका नेपालीहरूमा झापाका निरकुमार तामाङ, धरानका विकास विक र राजु विक, भक्तपुरका निख पौडेल, चितवनका सुन्दर माल, बाग्लुङका अमर आचार्य र अमृत गुरुङ, गोर्खाका भीमबहादुर मगर, सिरहा लहानका बद्रीप्रसाद यादव र सोलुखुम्बुका घनश्याम श्रेष्ठ रहेका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया