Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालप्रादेशिक अस्पताल जनकपुरको आईसीयू सञ्चालनमा

प्रादेशिक अस्पताल जनकपुरको आईसीयू सञ्चालनमा


बटुकनाथ झा
जनकपुरधाम, भदौ ७
केही समयदेखि बन्द रहेको प्रादेशिक अस्पताल जनकपुरधामको आईसीयू फेरि सञ्चालनमा आएको छ । सो आईसीयूमा काम गर्ने चिकित्सक तथा नर्सहरुमा दुई साता पहिला कोरोना संक्रमण देखिएपछि आईसीयू बन्द भएको थियो । उनीहरु कोरोनालाई जितेर फेरि आफ्नो कार्य क्षेत्रमा फर्केपछि आईसीयू सञ्चालनमा आएको प्रादेशिक अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष सञ्जय कुमार सिंहले जानकारी दिए ।

प्रादेशिक अस्पतालको आईसीयू सेवा बन्द भएपछि जनकपुरसहित यस क्षेत्रका सिकिस्त बिरामीहरूलाई उपचारको लागि निजी अस्पताल वा जनकपुरबाहिर जानुपर्ने बाध्यता थियो । अस्पताल प्रशासनले कोरोनाका शंकास्पद बिरामीलाई जबर्जस्ती जेनेरल आईसीयूमा भर्ना गर्न थालेपछि आईसीयू इञ्चार्ज डा. सञ्जय यादवले पदबाट राजीनामा समेत दिएका थिए । तर, कोरोना महामारीको अवस्थामा अस्पतालले राजीनामा स्वीकृत नगरेको यादवले बताएका छन् ।

चिकित्सक, नर्स, सफाइ कर्मचारीलगायत ७० प्रतिशत जनशक्ति कोरोनाबाट संक्रमित भएपछि बन्द भएको आईसीयू सेवा पुनः सञ्चालनमा आइसकेको डा. यादवले जानकारी दिए । संक्रमितमध्ये कतिपय कर्मचारीहरू अझै आइसोलेसनमा रहेको र केही निको भएर फर्किएपछि आईसीयू सेवा सुरु भएको उनले बताएका छन् । चिकित्सक र स्वास्थ्यकर्मी अभावका कारण तत्काल ६० प्रतिशत बेडमात्र सञ्चालनमा ल्याइएको छ । सम्पूर्ण कर्मचारी निको भएर फर्किए पछि सम्पूर्ण बेड सञ्चालनमा ल्याइने जनाइएको छ ।

आईसोलेन सेन्टरमा चिकित्सकको काम स्विपरबाट : प्रदेश सरकारले आफ्नो स्वामित्वमा सञ्चालनमा ल्याएका प्रदेशस्तरीय आइसोलेसन सेन्टरमा स्वास्थ्यकर्मीको स्थानमा स्विपरले काम गरिरहेको पाइएको छ । करोडौको खर्चामा संचालनमा रहेको धनुषाको नगराईन नगरपालिका–५ गंगुलीस्थित मिथला आयुर्वेद मेडिकल कलेजको भवनमा समयमा चिकित्सकको उपस्थिती नभएपछि स्विपर नै चिकित्सकको काम गर्ने गरेका हुन् । आइसोलेसन सेन्टरको व्यवस्थापन पक्षले बिरामीको स्वास्थ्य परिक्षण गर्नका लागि स्विपरलाई भित्र पठाएको बताए । उनले भने,‘चिकित्सकहरु डरले भित्र आउँदैनन् ।

बिरामीको स्वास्थ्य अवस्था बुझ्नुपरे त्यहाँ कार्यरत स्विपरलाई पीपीई लगाएर भित्र पठाइन्छ ।’ यता, प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर साहले स्विपरबाट गराइएको उक्त कामका सन्दर्भमा दोषी देखिने जो कोहिलाई पनि कारवाही गरिने बताए । मन्त्री साहले भने, ‘यस्तो लापरवाही गर्ने जो कोहि होस कारवाही हुन्छ ।’ सामाजिक विकास मन्त्रालयको निगरानीमा प्रदेशस्तरीय उक्त आइसोलेसन सेन्टर पहिला क्वारेन्टाईनको रुपमा संचालित थियो । विरामीहरुको संख्यामा बृद्धि भएपछि उक्त क्वारेन्टाईनलाई आईसोलेसन सेन्टरका रुपमा स्थापना गरी अहिले दर्जनौ कोरोना पोजेटिभ विरामीको उपचार भईरहेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया