Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमहाकाली पुलको निर्माण कार्य ५१ प्रतिशत सम्पन्न

महाकाली पुलको निर्माण कार्य ५१ प्रतिशत सम्पन्न


धन बहादुर जप्रेल
कञ्चनपुर भदौ ८
कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निर्माणाधिन चार लेनको महाकाली पुल निर्माणको कार्य करिब आधासम्म पुगेको छ । हालसम्म पुलको ५१ प्रतिशत काम सकिएको महाकाली पुल आयोजनाले बताएको छ । कोरोना भाइरसका कारण निर्माण कार्य प्रभावित बनेको पुलको निर्माण कार्य हाल भने तीव्र गतिमा भइरहेको बताएको छ ।

पुल निर्माणको ठेक्का पाएको कुमार सीएसईसी जेभीले लकडाउन खुलेपछि निर्माणमा कार्यलाई तीव्रता दिएपछि ५१ प्रतिशत निमार्ण कार्य सकिएको हो । कोरोना भाइरसका कारण लक्ष्यअनुसार भौतिक प्रगति समात्न नसकेको कम्पनीले हाल पुलको स्ल्याब राख्ने ढलान हाल्ने, बाटो भरानलगायत ड्रेन बनाउने कामले पनि गति लिएको कुमार सीएसईसी जेभी कम्पनीका इन्जिनियर किशोरराज पाण्डेयले बताए । ‘पुलको निर्माणमा एकदमै गति दिइएको छ, पुलमा निर्माण गर्नुपर्ने ३२ ओटा स्ल्याबमध्ये ६ ओटा स्ल्याब निर्माण गरिसकेको अवस्था छ ।’ पाण्डेयले भने, ‘निर्माण हुने बाटोमा भरान गर्ने कार्य पनि सकिएको छ, १५ किलोमिटर निर्माण गर्नुपर्ने ड्रेनको निर्माण कार्य पनि साढे ४ किलो मिटर जति सकिएको छ ।’

महाकाली पुल निर्माणको बाँकी काम भने चालू अवस्थामा रहेको इन्जिनियर पाण्डेयले बताए । महाकाली चार लेन निर्माणको सम्झौता तीन अर्ब २७ करोड ९३ लाख ३४ हजारमा भएको थियो । सीमा नाका गड्डा चौकीसम्म जोड्ने ६ किलोमिटर र महाकाली नगरपालिकाको चाँदनीतर्फ डेढ किलोमिटर चार लेनको पहुँच मार्गको निमार्ण कार्य पनि लगभग सकिएको छ । यस्तै पुलको ३४ ओटा पिल्लरमध्ये ३० ओटा पिल्लरको काम सकिएको छ ।

कम्पनीका अनुसार पुलको लम्बाइ ८ सय मिटर र चौडाइ भने २३ दशमलव ८ मिटर रहेको छ । कम्पनीका इन्जिनियर पाण्डेयले कोरोनाको महामारीले गर्दा घर गएका कामदारहरूलाई निर्माण कार्यमा प्रशासनसँगको सहकार्यमा सुरक्षाका उपाय अवलम्बन गरेर निर्माण कार्य चलिरहेको छ । यस्तै उता गड्डाचौकी र भुजेला खोलामा पर्ने २ ओटा साना पुलको निर्माण कार्य सकिएको कम्पनीले जनाएको छ ।

सम्झौताअनुसार पुल निर्माण कार्य २०७८ जेठमा सकिनेछ । ‘काम गर्ने सिजन फागुनदेखि जेठ महिना भएकोले सिजनमा कोरोनाले काम गर्न पाइएन । सिजनमा काम गर्न नपाउँदा केही निर्माण कार्य पछाडि धकेलिएको भए पनि कम्पनीले निमार्ण कार्यको समयसीमाभित्रै पुल निमार्ण गरिसक्ने लक्ष्य लिएको छ’, इन्जिनियर पाण्डेयले भने ।

इन्जिनियर पाण्डेयका अनुसार सम्झौतामा चार लेनको महाकाली पुल निर्माण कार्य २०७४ भदौमा सुरु भएर २०७७ भदौमा सम्पन्न हुने भनिए पनि केही प्राविधिक कारण एक वर्षबीचमा थप गरिएको थियो । थप गरिएपछि २०७७ भदौबाट एक वर्ष थप गरेर २०७८ जेठ १९ गतेसम्म समय तोकिएको निर्माण कम्पनीले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया