Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल११ लाख रुपैयाँको मोबाइल बरामद

११ लाख रुपैयाँको मोबाइल बरामद


बाँके, भदौ १०
सशस्त्र प्रहरी बाँकेले अहिलेसम्मकै ठूलो परिमाणमा स्मार्ट मोबाइल फोन बरामद गरेको छ । तस्करी समाप्त पार्ने उदेश्यका साथ अघि बढेका सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँकेका एसपी अशोक बम आएको ३ हप्तामै ठूलो सफलता हासिल गर्दै गएका छन् । एसपी बमको आदेश र सशस्त्र प्रहरीका अन्य अधिकृतसहित जवानहरूको कडा मेहनतले सशस्त्र प्रहरी बाँकेले धमाधम अवैध सामग्री नियन्त्रण गर्दै आएको छ ।

अवैध सामग्री नियन्त्रणकै क्रममा कालाबन्जर बीओपीबाट सशस्त्र प्रहरी निरीक्षक सन्तोष डाँगीको कमान्डको टोलीले सोमबार भारतबाट ल्याउदै गरिएको ११ लाख रूपैयाँ बराबरको अवैध स्मार्ट मोबाइल फोन बरामद गरेको छ । गस्तीमा रहेको सशस्त्र प्रहरी निरीक्षक डाँगीको कमान्डको टोलीले डुडुवा गाउँपालिका वडा नम्बर २ बेतहनीबाट भारतबाट ल्याउँदै गरेको ८५ थान स्मार्ट मोबाइल फोन बरामद गरेको हो ।

राप्ती नदीको किनारैकिनार साइकलमा मोबाइल बोकेर आउँदै गरेका तस्करहरूले सशस्त्र प्रहरीलाई देख्नासाथ सामान फालेर फरार भएको सशस्त्र प्रहरी बाँकेले जानकारी दिएको छ । त्यस्तै सशस्त्र प्रहरी निरीक्षक डाँगीले मोबाइलको साथमा ९३ थान लेडिज कुर्तासमेत बरामद गरेका हुन् ।

सशस्त्र प्रहरी बाँकेका अनुसार बरामद गरिएका मोबाइल फोनहरूमा रियलमी, भिभो, ओप्पोलगायत अन्य कम्पनीका रहेका छन् । त्यस्तै बरामद गरिएका फोनहरूको मूल्य ११ लाख २० हजार र कुर्ताको मूल्य ३७ हजार दुई सय रूपैयाँ रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । सशस्त्र प्रहरी निरीक्षक डाँगी तस्करीविरुद्ध खरो रूपमा उत्रिने प्रहरी अधिकृतमा पर्ने गर्छन् । आफूले कमान्ड सम्हालेको १ हप्ता नपुग्दै उनले यति ठूलो परिमाणमा अवैध मोबाइल बरामद गर्न सफल भएका छन् ।

तस्करहरूले राप्ती नदीको किनारैकिनारबाट भारतबाट अवैधरूपबाट ल्याउने गरे पनि सशस्त्र प्रहरीले उनीहरूको कार्य विफल बनाउँदै आएको छ । सशस्त्र प्रहरीले कोरोना महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दीको समयमा करिब ३० लाख रूपैयाँबराबरको अवैध सुर्तीजन्य सामग्री समेत बरामद गरिएसकेको छ । बरामद गरिएका मोबाइल फोन र कुर्तालाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया