Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालहलेसीमा हिन्दू र किराँत संस्कारमा आधारित होमस्टे

हलेसीमा हिन्दू र किराँत संस्कारमा आधारित होमस्टे


खोटाङ, भदौ १२
हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसीमा तीनवटा होमस्टे (घरबास) सञ्चालन गर्ने तयारी गरिएको छ । नेपाल सरकारद्वारा गठित हलेसी विकास समितिको पहलमा स्वदेश तथा विदेशबाट हलेसी घुम्न आउने पर्यटकलाई लक्षित गर्दै हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा तीनवटा होमस्टे सञ्चालन गर्ने तयारी गरिएको हो ।

महादेविस्थानस्थित तल्लो माल्खुमा किराँत र माथिल्लो माल्खुमा हिन्दु तथा ऐँसेलुखर्कमा किराँत संस्कारमा आधारित होमस्टे सञ्चालन गर्ने तयारी गरिएको हलेसी विकास समितिका अध्यक्ष एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का आमन्त्रित स्थायी समिति सदस्य टंक राईले बताए । ‘तीनवटै ठाउँमा छुट्टाछुट्टै समिति गठन गरेर होमस्टे सञ्चालनसम्बन्धी तालिम दिनुका साथै आवश्यक पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइएको छ’, पूर्वसांसदसमेत रहेका समितिका अध्यक्ष राईले भने, ‘होमस्टे व्यवसायले स्थानीय उत्पादनको प्रवद्र्धनका साथै स्थानीय बासिन्दालाई आत्मनिर्भरको बाटोमा डो-याउने अपेक्षा गरिएको छ ।’

माथिल्लो माल्खुमा यसअघि नै व्यावसायिकरुपमा गाई, स्थानीय जातका कुखुरा, टर्की, परेवालगायत पशुपन्छी पालन तथा तरकारी खेती गर्दै आएका सुवीन्द्र गिरीको अध्यक्षतमा समिति गठन गरेर आवश्यक संरचना निर्माणको काम भइरहेको छ । त्रिधार्मिकस्थल हलेसीबाट ककनी मन्दिर जाने बाटोमा पर्ने २२ घर क्षेत्री/बाहुन समुदायको बस्ती रहेको माथिल्लो माल्खुमा हिन्दू संस्कारअनुसार बालन, संगिनी, चुट्कालगायत नाच सिक्ने÷सिकाउने अभ्याससमेत भइरहेको अध्यक्ष राईले बताए ।

नगरपालिका र वडा कार्यालयसँग पनि सहकार्य गरेर सञ्चालन गर्ने गरी सुरु गरिएको माथिल्लो माल्खुको होमस्टेको नाम ‘हलेसी सामुदायिक होमस्टे माल्खु’ राखिएको छ । महादेवस्थानकै तल्लो माल्खुका १४ र ऐँसेलुखर्कका ४२ घर किराँत समुदाय समेटेर होमस्टे सञ्चालक समिति गठन गरिएको हलेसी विकास समितिका कार्यकारी निर्देशक सम्मरबहादुर भुजेलले जानकारी दिए ।

ऐँसेलुखर्कमा कोपिला राई तथा तल्लो माल्खुमा एवीन्द्र राईको अध्यक्षतामा होमस्टे सञ्चालक समिति गठन गरिएको छ । हलेसी विकास समितिको पहलमा होमस्टे सञ्चालन हुने भएपछि उक्त कार्यप्रति स्थानीय बासिन्दासमेत हौसिएका छन् । दर्शनार्थी एवम् पर्यटकको दैनिक भीड लाग्ने हलेसीमा हालसम्म होमस्टेको विकास हुनसकेको थिएन ।

हिन्दू तथा किराँत संस्कारमा आधारित होमस्टेमा हलेसी बजारस्थित होटल तथा लजमा बस्ने पाहुनालाई समेत सांस्कृतिक कार्यक्रम हेर्न टिकट लिएर प्रवेश गर्न दिने व्यवस्था गरिने जनाइएको छ । किराँत संस्कारमा आधारित होमस्टेमा साकेला नाच हेर्ने तथा नाच्ने र लोकदोहोरी गाउने व्यवस्था मिलाइने सञ्चालक समितिले जनाएको छ । किराँत समुदायको बाहुल्य रहेको हलेसीमा विभिन्न जातजातिका समुदाय आउने भएकाले पनि हिन्दू र किराँत संस्कारमा आधारित छुट्टाछुट्टै होमस्टे सञ्चालन गर्ने तयारी गरिएको हो ।

हलेसी आउने पर्यटक तथा दर्शनार्थीका लागि घुमफिर गर्ने ठाउँ नभएकाले पनि होमस्टेको अवधारणा लिइएको विकास समितिका अध्यक्ष राईले बताए । ‘हलेसीमा अहिलेसम्म बाहिरबाट आउने पर्यटकका लागि मनोरञ्जन गर्ने ठाउँ छैन’, उनले भने, ‘अहिले अधिकांश मानिस खुला रुपमा मनोरञ्जन गर्न चाहन्छन् । मनोरञ्जन गर्न चाहने व्यक्ति तथा पर्यटकका लागि केही हलेसी क्षेत्रमै अडिने व्यवस्था मिलाउन होमस्टे सञ्चालन गर्ने तयारी गरिएको हो ।’

हलेसीमा नेपालका सबै जिल्लाका साथै अन्य देशहरु भारत, चीन, भुटान, बंगलादेश, जापान, अमेरिका, थाइल्याण्डलगायत भक्तजन एवम् दर्शनार्थी आउने गरेका छन् । धार्मिक रुपले मात्र नभई प्राकृतिक रुपमै विश्व प्रसिद्ध हलेसीमा चैत महिनामा रामनवमी मेला १५ दिन, मंसिरमा बालाचतुर्दशी मेला १२ दिन, फागुनमा शिवरात्रि मेला सात दिन र भदौमा तीज मेला तीन दिन लाग्ने गरेको छ ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवीस्थानमा पर्ने त्रिधार्मिकस्थल हलेसीमा ठूलो चट्टानको बीच भागमा रहेको गुफाभित्र विराजमान शिवलिङ्ग र पार्वतीको मन्दिर छ । हलेसीलाई त्रिधार्मिकस्थलका रुपमा विकास गर्न सरकारले वि.सं. २०५३ देखि हलेसी विकास समितिमार्फत विकास योजना अघि बढाएको हो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया