Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालदोलखाका ३२ संक्रमितमध्ये २३ जना संक्रमणमुक्त

दोलखाका ३२ संक्रमितमध्ये २३ जना संक्रमणमुक्त


सुबास बस्नेत
दोलखा, भदौ २१
दोलखामा एक महिनाको अवधिमा २३ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । पछिल्लो एक सातामा मात्र १२ जनाले कोरोना जितेर घर फर्केका हुन् । दोलखामा बिहीबार चरीकोट अस्पतालको आइसोलेसनमा रहेका सात जना कोरोनाका बिरामीले कोरोना जितेर घर फर्किएका थिए भने शनिबार पनि सोही अस्पतालबाट गौरीशंकर र बिगु गाउँपालिकाभित्रका पाँच जना कोरोना संक्रमित निको भएर घर फर्केका हुन् ।

जिल्लाको चार स्थानीय तहबाट स्वाब संकलन गरिएका २३ जनाको दोस्रो पटक गरिएको पीसीआर परीक्षणमा पनि रिपोर्ट नेगेटिभ आएकाले उनीहरु घर फर्केको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिए । कोरोना संक्रमणमुक्त भएकाहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र चरीकोटका स्वास्थ्यकर्मीको टोलीले विदाइ गरेका थिए । प्रस्तावित चरीकोट अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद दंगालले उनीहरुलाई कोरोना संक्रमणमुक्त भएको प्रमाणपत्र प्रदान गरेका थिए ।

जम्मा ३२ जना संक्रमित रहेको दोलखा जिल्लामा अहिले नौवटा मात्र सक्रिय केस रहेको र उनीहरुको पनि अवस्था सामान्य रहेको जानकारी दिए । जिल्लामा हालसम्म एक हजार चार सय जनाको पीसीआर परीक्षण गरिएको छ । जिल्लाको गौरीशंकर गाउँपालिकामा सबैभन्दा बढी कोरोना संक्रमण देखिएको छ । गौरीशंकर गाउँपालिकाको सुरी र जुँगुमा १७ जनामा कोरोना संक्रमण देखिएको हो ।

गौरीशंकर गाउँपालिकामा शुक्रबार थप एक व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । दोलखाबाट स्वाब संकलन गरिएकामध्ये शनिबारसम्ममा १२ महिला र २० पुरूष गरी ३२ जनामा कोरोना संक्रमण देखिएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया