Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल३५ वटा योजना पूरा गर्न एक करोड ७० लाख बजेट

३५ वटा योजना पूरा गर्न एक करोड ७० लाख बजेट


सुबास बस्नेत
दोलखा ।
दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ३ मिर्गेले २३ वटा वडास्तरीय कार्यक्रमलाई ४० लाख र गाउँपालिकाअन्तर्गतका १२ वटा योजनाको लागि एक करोड ३० लाख बजेट खर्च गर्ने भएको छ । वडाले चालू आवमा स्वास्थ्यतर्फ दुई लाख बजेट छुट्याएको छ । त्यस्तै शिक्षातर्फ वडाका तीनवटा विद्यालय कालिढुङ्गा मावि मजुवालाई शिक्षक व्यवस्थापन तथा शैक्षिक गुणस्तर कार्यक्रमका लागि दुई लाख ५० हजार, कालिदेवी आधारभूत विद्यालय पाइलेलाई सोही कार्यक्रमको लागि दुई लाख र जनश्रमिक विद्यालय खानिगाउँका लागि ५० हजार गरी शिक्षातर्फ पाँच लाख बजेट छुट्ट्याइएको छ ।

यस्तै कृषिमा एक लाख, खेलमैदान निर्माणका लागि कुनेस्वारा खेलमैदान निर्माण गर्न दुई लाख, यार्सा खेलमैदान निर्माणका लागि एक लाख ५० हजार रकम छुट्ट्याएको वडासचिव अमृत तामाङले जानकारी दिए । वडासचिव तामाङका अनुसार वडाले विद्युत् लाइन बिस्तारको लागि एक लाख, महिला तथा बालबालिकाको लागि एक लाख, वडा कार्यालय व्यवस्थापनको लागि दुई लाख, पोखरी सोलार लिफ्ट तथा व्यवसाय खेतीको लागि दुई लाख, वडास्तरीय सडक सरसफाइ कार्यक्रमको लागि दुई लाख, कोरोना भाइरस नियन्त्रण तथा प्रकोप व्यवस्थापनका लागि एक लाख, विपत् व्यवस्थापनका लागि एक लाख बजेट छुट्याइएको छ ।

त्यस्तै वडागत सडक सुधारका लागि चिलाउनेखर्क वडा कार्यालय सडक व्यवस्थापनका लागि पाँच लाख, मजुवा खानीखोला सडकलाई तीन लाख, कृषि भवन जैनालु सडकलाई दुई लाख, लहरेमाने सुनुवार पधेँरो सडकलाई दुई लाख, पाइले सडक र वाक्चे खोला पुल निर्माण गर्न दुई लाख ५० हजार, मुलगौडा यार्सा सडकलाई दुई लाख रकम छुट्ट्याएको छ । त्यसैगरी गोरेटो बाटो व्यवस्थापनतर्फ खानी गाउँ गोरेटो बाटोलाई एक लाख ५० हजार, लहरेमाने मानेडाँडा गोरेटो बाटोलाई एक लाख गरी वडास्तरका २३ वटा कार्यक्रमलाई ४० लाख बजेट छुट्ट्याएको वडाध्यक्ष कृष्णबहादुर दाहालले जानकारी दिए ।

वडाध्यक्ष दाहालले गाउँपालिकास्तरीय योजनाअन्तर्गत १२ वटा कार्यक्रमका लागि एक करोड ३० लाख ७० हजार बजेट आएको र सो बजेट वडाका १२ वटा योजना पूरा गर्न खर्च हुने जानकारी दिए । गाउँपालिकाको एक करोड अनुदान टार पुतलिकाठ–पाइले पात्ले मजुवा सडक व्यवस्थापनमा खर्च हुने भएको छ । त्यसैगरी चिलाउनेखर्क शिव मन्दिर र मजुवा शिवमन्दिर रंगरोगन गर्न दुई लाख बजेट छुट्ट्याइएको छ ।

जैनालु खानेपानी आयोजनालाई तीन लाख अनुदान, कालिढुङ्गा माबी र कालिदेवी निमाविलाई तीन लाख अनुदान, देछेन छोईलीङ गुम्बा मर्मतका लागि पालिकाबाट दुई लाख अनुदान आएको उनले बताए । महिला समूह भवन मर्मतका लागि दुई लाख, लहरेमाने बुद्ध मूर्ति रंगरोगनलाई पाँच लाख गाउँपालिकाबाट अनुदान आएको छ ।

त्यसैगरी टगरेघर ठाडो बाटो सडकलाई पालिकाले दुई लाख अनुदान दिएको छ भने यार्सा सिचाइ कार्यक्रमको लागि पाँच लाख अनुदान दिएको छ । त्यसैगरी प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत बजिनी पात्ले सडकलाई पाँच लाख र भतरेचौर पल्लाबारी सडकलाई एक लाख ७० हजार रकम आएको वडाअध्यक्ष दाहालले बताए । कोभिड १९ संक्रमणको जोखिमको अवस्थाको बीच पनि वडास्तरमा करिब दुई सयभन्दा बढी सरोकारवाला व्यक्तिहरूको भेलाबाट बजेट तर्जुमा भएको उनले बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया