Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलन सम्पन्न

२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलन सम्पन्न


काठमाडौं ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन आइतबार सम्पन्न भएको छ । शुक्रबारदेखि आयोजना गरिएको उक्त सम्मेलन २६ बुँदे विश्व नेपाली स्वास्थ्य घोषणापत्र समेत जारी गर्दै सम्पन्न भएको हो ।

दोस्रो विश्व स्वास्थ्य सम्मेलनले तयार गरेको घोषणापत्रमा डाक्टर, नर्स, फिजिसियनलगायत विश्वभर छरिएर रहेका सबै स्वास्थ्यकर्मीहरुलाई एकै ठाउँमा समेट्ने उल्लेख गरिएको छ । त्यस्तै स्वास्थ्यकर्मीको भूमिका, आपसी समझदारीलगायत विषय समेत घोषणापत्रले समेटेको छ । घोषणापत्रले नेपाली नर्सहरु तथा मानसिक रोग विशेषज्ञहरुको विश्वव्यापी सञ्जाल निर्माणमा जोड दिएको छ । जडीबुटीजन्य औषधिको उत्पादन तथा विकासमा जोड दिइएको छ ।

त्यस्तै मातृशिशु स्वास्थ्य, बालबालिका, किशोरकिशोरी तथा युवावस्थाको स्वास्थ्यलगायत विषय घोषणापत्रमा समावेश गरिएको छ । प्राकृतिक प्रकोपका लागि स्वास्थ्यकर्मीहरुको समिति, दीर्घरोग व्यवस्थापनलगायत विषय घोषणापत्रमा समेटिएका छन् । सामाजिक चेतना अभिवृद्धिका लागि सबै स्वास्थ्यकर्मी एकजुट हुन समेत घोषणापत्रले आह्वान गरेको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय, सरकारी, गैरसरकारी, स्थानीय निकायलगायत सबैसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता प्रस्तुत गरिएको छ । तीन दिनसम्म चलेको सम्मेलनले घोषणापत्रमाथि व्यापक छलफल गरेको थियो । त्यसमा विज्ञ तथा सरोकारवाल व्यक्तिहरुले सुझाव दिएका थिए । विज्ञ तथा सरोकारवालाहरुको सुझावअनुसार घोषणापत्रमा आवश्यक कुराहरु थप गर्दै लैजाने समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाले बताए । ‘धेरै विज्ञ, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुले आफ्नोे अभिव्यक्ति दिनुभएको छ । सो टिप्पणीअनुसार बाँकी कुराहरुलाई हामी समावेश गर्दै लैजान्छौँ’, उनले भने ।

घोषणापत्रले विश्वभर छरिएर रहेका स्वास्थ्यकर्मीहरुलाई एकै ठाउँमा समेट्ने प्रयास गरेको डा. सापकोटाले उल्लेख गरे । तीन दिनको सम्मेलनबाट जारी घोषणापत्र कागजमा मात्रै सीमित हुन नदिन कार्यान्वयन पक्षमा जोड दिनुपर्ने अधिकांशको धारणा थियो । यसमा सरकारको भूमिका कम देखिकाले सरकारलाई पनि घचघच्याउँदै जानुपर्ने अधिकांश सहभागीले बताएका थिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया