Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालस्थापनाको दोस्रो वर्षमा पातञ्जल योग समिति

स्थापनाको दोस्रो वर्षमा पातञ्जल योग समिति


काठमाडौं ।
वैदिकभूमि नेपालमा योग र आयुर्वेदको प्रवद्र्धनमा काम गर्ने उद्देश्यले स्थापना भएको पातञ्जल योग समितिले स्थापनाको दोस्रो वर्ष पूरा गरेको छ । योग र आयुर्वेदका माध्यमबाट निरोगी जीवन बिताउन सकिने प्राचीन परम्परालाई पुनः स्थापित गर्ने उद्देश्यले विसं २०७५ असोज ५ गते समितिको स्थापना भएको थियो।

दोस्रो वार्षिकोत्सवका अवसरमा जुम प्रविधिबाट आयोजित कार्यक्रमका वक्ताले कोरोना सङ्क्रमणको महामारीबाट बच्न पनि योग र आयुर्वेद नै लाभदायी भएको नेपालकै अभ्यासका क्रममा प्रमाणित भएकाले यसको प्रवद्र्धनमा सरोकार भएका निकायको ध्यान जानुपर्नेमा जोड दिएका थिए । आयुर्वेद अनुसन्धान केन्द्र कीर्तिपुरमा राखिएका कोरोना सङ्क्रमितलाई आयुर्वेद औषधि सेवना गराउँदा एक हप्तामै ठीक भएको सहभागीले बताए । कार्यक्रममा सांसद महेश बस्नेतले प्राचीनकालमा ऋषिमुनिले अध्ययन अनुसन्धानबाट मानव जीवनका लागि आवश्यक भनी प्रमाणित गरेका योग र आयुर्वेदको अहिले पनि उत्तिकै महत्व रहेको बताए ।

कोरोना महामारीका बेला जडीबुटीको उपयोग एवं महत्वबारे चर्चा भएकाले मानव स्वास्थ्यका लागि आयुर्वेदकै प्रयोग गरिनुपर्ने पुनः प्रमाणित भएको उनले बताए । कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ योग र प्राकृतिक चिकित्सा विभाग प्रमुख डा हरिप्रसाद पोखरेलले दैनिक भान्सामा प्रयोग हुने बेसार, अलैँची, दालचिनी र अदुवाल सही तरिकाले उपयोग गर्न सके धेरै रोगबाट मुक्ति मिल्ने बताए ।

आयुर्वेदशास्त्रले पनि ‘यस्य देशस्य यो जन्तो : तस्य तद् औषधं हितम्’ अर्थात् मानिस जुन स्थानमा जन्मिन्छन्, तिनलाई त्यहीँको जडीबुटीले औषधिको काम गर्छ भन्ने भनाइले पनि आत्मनिर्भर हुन सकिने सङ्केत गर्ने उनले बताए । मानिसमा रोग प्रतिरोधी शक्ति निर्माण गर्न आयुर्वेद नै उपयोगी भएकाले पनि स्थानीय जडीबुटीको महत्व बढ्दै गएको छ । अष्ट्रेलियाबाट कार्यक्रममा सहभागी भएका योग गुरु भीमसेन सापकोटा (राजन) ले हिमालयको काख नेपालबाट शुरु भएको योग र आयुर्वेदको महत्व हाल विश्वका धेरै देशमा बढ्दै गएको बताए ।

समितिका अध्यक्ष सुदर्शन सुवेदीले दुई वर्षमा सात प्रदेश र २७ जिल्लामा पातञ्जल योगका शाखा स्थापना गरी कार्यक्रम अघि बढाइएको जानकारी दिए । बाँकी जिल्ला र ७५३ वटै स्थानीय तहमा समेत शाखा खोली योग र आयुर्वेदका क्षेत्रमा काम गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । स्थानीय सरकारलाई समेत यससम्बन्धी कार्यक्रम बनाउन सहयोग गरिने समितिको लक्ष्य छ । समितिले असोज १५ गतेदेखि जुम प्रविधिबाट योग शिक्षक प्रशिक्षण गर्न लागिएको समितिले जनाएको छ । प्रशिक्षणपछि नेपालमा योग र आयुर्वेदको पुनर्जागरणमा सहयोग पुग्ने समितिको विश्वास छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया