Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनेपाल र इजरायलबीच श्रम सम्झौता हुने

नेपाल र इजरायलबीच श्रम सम्झौता हुने


काठमाडौं ।
नेपाल र इजरायलबीच श्रम सम्झौता हुने भएको छ । गत मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले इराजयलसँग श्रम सम्झौता गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार असोज १४ गते जेरुसेलमस्थित इजरायली विदेश मन्त्रालयमा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । सम्झौतापत्रमा नेपालको तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य र इजरायलका विदेशमन्त्री गाबी अस्खेनाजीले हस्ताक्षर गर्नेछन् ।

मन्त्रिपरिषद्को बैठकले श्रम सम्झौतामा हस्ताक्षर गर्न इजरायलका लागि नेपाली राजदूत डा शाक्यलाई अख्तियारी दिने निर्णय गरेको थियो । दुई देशबीच श्रम सम्झौता भएपछि सरकारी तवरबाट नेपाली श्रमिक कामका लागि इजरायल जानेछन् । सम्झौतापछि नेपाली श्रमिकले इजरायली नागरिकसरहको सेवासुविधा र संरक्षण पाउने बताईएको छ ।

इजरायलको नर्सिङ क्षेत्र (अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्र) मा नेपाली केयर गिभर लैजाने सम्बन्धमा सम्झौता हुनलागेको हो । विभिन्न चरणमा भएको द्विपक्षीय छलफलका क्रममा इजरायल विशेष गरी केयर गिभरमा नेपाली श्रमिक लैजान सकारात्मक देखिएको हो । इजरायलको नर्सिङ क्षेत्रमा नेपालबाट केयर गिभर ल्याउने विषय टुङ्गोमा पुग्दै गर्दा त्यहाँस्थित नेपाली दूतावासले थप सक्रियता देखाएको छ ।

इजरायलमा नेपाली केयर गिभर लैजाने पूर्वसन्ध्यामा इजरायल सरकारका प्रतिनिधि र दूतावासका उच्च अधिकारीले कार्यस्थल एवं कार्य वातावरणको जानकारी लिने उद्देश्यले केही क्षेत्रको स्थलगत अनुमगन गरेका छन् । केही दिनअघि राजदूत शाक्यले नेपाली केयर गिभरले काम गर्नुपर्ने नर्सिङ होमको स्थलगत भम्रण गरेकी थिइन् । यसअघिको जस्तो घरभित्र काम गर्ने नभएर नर्सिङ क्षेत्रमा निश्चित योग्यता भएका व्यक्तिले मात्र इजरायलमा रोजगारीको अवसर पाउने त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । केयर गिभरमा छनोट हुनका लागि अनमी वा अन्य शैक्षिक उपाधि हासिल गरेका वा १२ कक्षा पास गरी तीन महिने केयर गिभर तालीम लिएको हुनुपर्नेछ ।

यस्तै लिखित तथा अन्तर्वार्ता दुवैमा अंग्रेजी भाषा उत्तीर्ण, निश्चित उमेर, तौल र उचाइ, स्वास्थ्यावस्था ठीक तथा कुनै आपराधिक गतिविधिमा संलग्न नभएको व्यक्ति स्वच्छ प्रतिस्पर्धाबाट छनोट गरिने दूतावासले जनाएको छ । त्यस्तै यसअघि इजरायल गएका व्यक्ति उम्मेदवार हुन नसक्ने पनि दूतावासले प्रष्ट पारेको छ । छनोट प्रक्रियामा श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागका अलावा निजी क्षेत्र वा अन्य व्यक्तिको संलग्नता नहुने पनि दूतावासले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया