Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालघरेलु कार्यालयमा कर्मचारी अभाव हुँदा सेवाग्राही मर्कामा

घरेलु कार्यालयमा कर्मचारी अभाव हुँदा सेवाग्राही मर्कामा


धन बहादुर जप्रेल
कञ्चनपुर ।
कोरोना महामारीसँगै कञ्चनपुरमा लकडाउनपछि घरेलु तथा उद्योग व्यवसाय अपनाउनेहरूको संख्या वृद्धि भएको छ । कोरोनाका कारण रोजगारी गुमाएकादेखि सरकारी जागिरवालाहरूले समेत स्वावलम्बन र स्थायित्वका लागि उद्योग व्यवसाय दर्ता गराउने क्रम बढेको हो । आफ्नो फर्म/उद्योग दर्ता गराउनका लागि घरेलु तथा साना उद्योग कार्यालय महेन्द्रनगरमा बिहानैदेखी सेवाग्राहीको लर्को हुन्छ । दैनिक ५० देखि ६५ जना उद्योग व्यवसाय दर्ताका लागि घरेलु कार्यालयमा आउने गरेका छन् ।

उद्योग तथा व्यवसाय दर्ताका लागि फारम भर्नकै लागि पनि घण्टौँ लाइन लाग्नुपर्ने र काम भने ४÷५ दिनसम्ममा पनि नहुने सेवाग्राहीको गुनासो छ । उद्योग दर्ताका लागि आएका वेदकोट नगरपालिका–५ बाट पुरन धामीले दर्ता प्रक्रिया चार दिनपछि पूरा भएकोे बताए । सेवाग्राही धामीले घरेलु कार्यालयमा आफ्नो नास्ता पसल दर्ता गराएका हुन् । त्यस्तै अर्का सेवाग्राही नवराज भट्टले कार्यालयले कर्मचारी अभाव भन्दै काम ढिलो गर्नेगरेको छ । कोरोना महामारी र कर्मचारी अभावका कारण आफूहरूले सेवाग्राहीलाई छिटोछरितो सेवा दिन नसकेको घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत धर्मानन्द भट्टले बताए ।

अधिकृत भट्टले भने, ‘हाम्रो कार्यालयमा जम्मा नौ जनाको दरबन्दी मात्र छ । त्यसमा पनि तीन जना कार्यालय सहयोगी, अझ एक जना प्राविधिक कर्मचारीको (शिक्षक) दरबन्दी हो । जो दरबन्दी खाली नै छ ।’ पाँच जना कर्मचारीको भरमा कार्यालय चलेको उनले बताए । उनका अनुसार गरिबी निवारणका लागि लघु उद्यम विकास परियोजनाअन्तर्गतका तीन जना कर्मचारी कार्यालयमा असार मसान्तसम्म कार्यरत थिए ।

तर उक्त परियोजना स्थानीय निकायबाट सञ्चालन हुने भएपछि हाल घरेलु कार्यालयमा कर्मचारी अभाव भएको हो । ५० देखि ६५ जनासम्म सेवाग्राही आउने गरेकोमा २० देखि २५ जनासम्मको काम दैनिक हुनेगरेको छ । दैनिक ३०/३५ वटा फर्मको दर्ता पेन्डिङमा रहने गरेको घरेलु तथा साना उद्योग कार्यालय महेन्द्रनगरले जनाएको छ । उद्योग दर्ताका लागि कार्यालयलाई आवश्यक पर्ने प्रमाणपत्रहरू सेवाग्राहीले पु-याउन नसक्दा पनि काममा ढिलो हुनेगरेको अधिकृत भट्टको दाबी छ ।

‘कार्यालयमा फाइल पुगेको हुन्छ डकुमेन्ट अभाव भएमा दर्ताको प्रक्रिया रोक्नुपर्ने हुन्छ । फोन गरेर सोध्दा पनि आवश्यक प्रमाणपत्र अपुग भएपछि, सेवाग्राही हामीसँग झोक्किन्छन्’, अधिकृत भट्टले भने । कर्मचारी अभावका कारण घरेलु कार्यालय महेन्द्रनगरले सेवाग्राहीको सहजरूपमा सेवा प्रवाह गर्न सकिरहेको छैन । आफूसँग भएका तीन जना दक्ष कर्मचारी समायोजन हुँदै स्थानीय तहमा गएपछि घरेलु कार्यालय महेन्द्रनगरको सेवा दिनमा ढिलासुस्ती बढेको हो ।

यद्यपि गरिबी निवारणका लागि लघु उद्यम विकास परियोजनाअन्तर्गतका कर्मचारीहरूलाई स्थानीय निकायले अंगीकार गर्न नसकेको स्रोतको दाबी छ । सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिमका नौवटै जिल्लाका घरेलु तथा साना उद्योग कार्यालयहरूलाई असोज २ गतेको मन्त्रिपरिषद्को निर्णयानुसार प्रचलित कानुन प्रतिकूल नहुने गरी एक/एक जना उद्यम विकास सहजकर्ता (ईडीएफ) पाँचौँ तह र कम्प्युटर अपरेटर चौथो तहको कर्मचारी करार सेवामा लिई कामकाज गर्नसक्ने भन्दै १५ असोजमा पत्राचार गरिसकेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सुदूरपश्चिम प्रदेशले जनाएको छ ।

घरेलु कार्यालयमा सुरुदेखि नै कार्यरत रहँदै आएका गरिबी निवारणका लागि लघु उद्यम विकास परियोजनाका कर्मचारीलाई स्थानीय निकायले अंगीकार गर्न नसकेको अवस्थामा सोही कार्यालयले पुनः स्थापना गर्दै करार पदपूर्ति गरेमा कार्यसम्पादनको ढिलासुस्ती तत्काल हट्ने छ । तर उक्त कार्यालय करार सेवामा कमर्चारी लिन समेत ढिलासुस्ती गरेको छ । एकातिर घरेलु तथा साना उद्योग कार्यालय महेन्द्रनगरमा सेवाग्राहीको चाप बढ्दो छ, भने अर्कोतर्फ कार्यालयले कर्मचारी अभाव भएको जनाउने र अभाव कर्मचारीको पदपुर्तिमा ढिलाइ गर्दै आएको छ । यद्यपि सुदूरपश्चिमका अन्य घरेलु कार्यालयहरूले भने प्रदेश सरकारको निर्णयानुसार कर्मचारीको पदपूर्ति गरिसकेका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया