Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालचाडपर्वलक्षित विशेष ट्राफिक सुरक्षा योजना सुरु

चाडपर्वलक्षित विशेष ट्राफिक सुरक्षा योजना सुरु


काठमाडौं ।
नजिकिँदै गरेको बडादशैं, तिहार तथा छठजस्ता चाडपर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन र स्वास्थ्य मापदण्डको विषयलाई केन्द्रमा राखेर ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना सुरु गरेको छ । उपत्यकाको सवारी आवागमनलाई सहज बनाउन, सडक प्रयोगकर्ताहरूको सुरक्षा सुनिश्चित गर्न, सवारी दुर्घटना न्यूनीकरण गर्न र चाडपर्वमा हुनसक्ने ठगी नियन्त्रणका लागि आइतबारबाट सुरक्षा योजना लागू गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले जानकारी दिए ।

चाडपर्वको समयमा यात्रुसँग बढी भाडा लिने, बाटोमै यात्रुलाई ओरालदिने, स्वास्थ्य मापदण्ड पालना नगर्ने जस्ता समस्या आउन नदिन ट्राफिक प्रहरी चनाखो भएको उनको भनाई छ । भीडभाड हुने स्थल र टिकट काउन्टरहरूमा महाशाखामा रहेको पीडित सहायता ईकाईबाट सादा पोसाकमा प्रहरी परिचालन गरी निगरानी गरिरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

बसपार्क क्षेत्र, कलंकी, बल्खु, कोटेश्वर, पुरानो बसपार्क, गौशालालगायत टिकट काउन्टर भएका स्थानमा सादा पोसाकमा प्रहरी परिचालन गरी विशेष निगरानी राखिएको महाशाखाका प्रवक्ता तथा एसपी रामेश्वरप्रसाद यादवले बताए । सादा पोसाकका ट्राफिक प्रहरीले बढी भाडा लिई टिकट काट्ने, फर्जी टिकट तथा डबल टिकट काट्ने व्यक्तिमाथि निगरानी राख्नेछ भने भाडाका बसहरूमा चढी तोकिएको मूल्यअनुसार टिकट लिएको छ कि छैन चेकजाँच पनि गर्नेछ । यसका साथै टिकट काउन्टरमा टिकट काट्ने व्यक्तिहरूको सहजै पहिचानका लागि परिचयपत्रको व्यवस्था गरिएको महाशाखाले जनाएको छ ।

साथै महाशाखाले लामो दूरीका भाडाका सवारी साधनमा दुई जना चालक अनिवार्यरूपमा भए÷नभएको प्रविधिबाट निगरानी गर्नेभएको छ । ट्राफिक प्रहरीको ट्राफिक कम्युनिकेसन एप्सबाट भाडाका सवारीमा दुई जना चालक भए/नभएको हेर्ने र नियमानुसार नभए कारबाही गरिने एसपी यादवले बताए ।

यस्तै, मोटरसाइकल चालकले हेल्मेट प्रयोग नगर्ने, तीव्र गतीमा सवारी चलाउने, ओभरलोड, सवारी अन्य भाग तथा छतमा यात्रु मालसामान राख्न, जिकज्याक सवारी चलाउनेजस्ता ट्राफिक नियम उल्लंघन गर्नेउपर सीसीटीभी निगरानीबाट कडाइका साथ कारबाही गरिने महाशाखाले जनाएको छ । बसपार्कबाट बाहिरिने गाडीहरूलाई अनिवार्यरूपमा यान्त्रिक परीक्षण गर्न समन्वय गरिने महाशाखाले जनाएको छ । महाशाखाले चाडपर्वका बेला घट्नसक्ने सम्भावित घटनालाई लक्षित गरेर बिहान, दिउँसो, साँझ र राति चार पटकसम्म विशेष चेकजाँचको व्यवस्था गर्नेभएको छ ।

उपत्यकाबाट बाहिरिने नाका तथा अन्य स्थानहरूमा सवारी साधनहरूको मापसेसहितको सम्पूर्ण चेकजाँच हुने महाशाखाले जनाएको छ । ट्राफिक प्रहरीले नागढुंगा, कलंकी, स्वयम्भु, माछापोखरी, नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा, पुरानो बसपार्कलगायतका ठाउँमा लामा दुरीका सवारीसाधनलाई लक्षित गरेर विशेष जाँचको व्यवस्था गरेको छ ।यसका साथै महाशाखाले उपत्यका भित्रिने नाका, व्यापारीक क्षेत्रहरू तथा बसपार्क एरियामा आवश्यकताअनुसार थप जनशक्ति परिचालन गरिने जनाएको छ ।

एसएसपी ढकालका अनुसार एक सय ७२ स्थानहरूमा दैनिक नियमित ड्युटीका लागि नौ सय जनशक्ति परिचालन भइरहेको छ । चाडपर्वको समयमा अतिरिक्त थप एक सय ५० ट्राफिक प्रहरी जनशक्ति परिचालन गरिनेछ । महाशाखाका अनुसार काठमाडौं उपत्यका भित्रको सुरक्षा संयन्त्रलाई मध्यनजर गर्दै १४ वटा नागरिक तथा यात्रु सहायता कक्ष सञ्चालमा ल्याइनेछ । टिकट काउन्टर रहेको तथा बसहरू छुट्ने ठाउँमा सहायता कक्ष रहनेछन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया