Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालचार हजार ४७ संक्रमित थपिए

चार हजार ४७ संक्रमित थपिए


काठमाडौं ।
नेपालमा पछिल्लो समय विश्व महामारी कोरोना संक्रमणको दर दिनप्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै चार हजार ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार थपिएकासँगै देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय ८० पुगेको छ । उनीहरुमध्ये संस्थागत आइसोलेसनमा १३ हजार ९ सय २३ र होम आइसोलेसनमा १९ हजार ९ सय ५७ जना छन् । यस्तै देशभर कुल संक्रमितको संख्या एक लाख ११ हजार ८ सय २ पुगेको छ । क्वारेन्टाइनमा रहनेहरु चार हजार ८ सय ३१ छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १४ हजार ५ सय ३० जनाको पीसीआर परीक्षण गरिएको बताए । पछिल्लो समय एक हजार ४ सय ७३ जना कोरोनामुक्त भएपछि हालसम्म निको हुनेको कुल संख्या ७७ हजार २ सय ७७ पुगेको छ । भाइरसबाट निको हुने दर ६९ दशमलव १ प्रतिशत छ ।

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप दुई हजार २८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तिनमध्ये काठमाडौंमा एक हजार ८८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ जनामा संक्रमण पुष्टि भएको बताइएको छ । हाल मनाङ जिल्लामा मात्रै कोरोनाको सक्रिय संक्रमित छैनन्  ।

पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका नौ जिल्लामा मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, चितवन, रुपन्देही, काठमाडौँ, ललितपुर र भक्तपुर छन् । देशभर संक्रमितमध्ये २७९ जना सघन उपचार कक्ष र ६७ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । थप नौ जनाको मृत्यु पछिल्लो समय नौ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । यससँगै सोमबारसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको मन्त्रालयले जनाएको छ ।

उपत्यकाका सबै सरकारी अस्पताल अब ‘कोभिड अस्पताल’  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंँ उपत्यकाका अस्पताललाई आकस्मिकबाहेक अन्य शल्यक्रिया नगर्न निर्देशन दिएको छ । पछिल्लो समय हरेक दिन लक्षण भएका कोरोना संक्रमितको संख्या बढिरहेका समयमा मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

यस किसिमको व्यवस्था भएमा कोरोनाका बिरामीलाई केही हदसम्म भए पनि सघन उपचार कक्ष र भेन्टिलेटर बेड पाइने मन्त्रालयको भनाइ छ । काठमाडौँ उपत्यकामा तीन सय शय्याको सरुवा रोग अस्पताल निर्माणका लागि भवन तथा जग्गा खोज्ने कार्यको सुरुवात भएको सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।

त्यसैगरी सरकारले काठमाडौँ उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने जनाएको छ । सार्वजनिक स्थान तथा सार्वजनिक यातायातमा सुरक्षाका मापदण्ड कडाइका साथ लागु गर्न गराउन सम्बद्ध निकायलाई अनुरोध गरिने भएको छ । यात्रापूर्व सात दिन र गन्तव्यमा पुगिसकेपछि पुनः सात दिन एकान्तबास बसी कोरोनासँग सम्बन्धित कुनै लक्षण देखिए चिकित्सकको निगरानीमा बस्न मन्त्रालयले आग्रह गरेको छ ।

यसैबीच, सोमबार बसेको मन्त्रिपरिषद बैठकले सर्वसाधारणलाई यसपटकको दशैँ यथास्थानमा रहेर मनाउन सार्वजनिक आह्वान गर्ने निर्णय गरेको छ । त्यसको लागि सरकारले विज्ञप्ति जारी गर्ने भएको हो । तर हवाइ सेवा र लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा केही खुकुलो पार्ने निर्णय पनि सरकारले गरेको छ । यसअघि यात्रु ओसारपसारमा कडाइ गरिएकोमा अब केही खुकुलो पार्न लागिएको हो । यसअनुसार एकतर्फको सिटमा एक जना मात्रै बस्नुपर्ने व्यवस्था हटाइएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया