Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालउद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिले बजार अनुगमन गर्ने

उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिले बजार अनुगमन गर्ने


काठमाडौं ।
चाडपर्वलाई लक्षित गर्दैै उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिले बजार अनुगमन गर्नेभएको छ । पछिल्लो समय बजारमा उपभोग्य सामग्रीहरूको मूल्य वृद्धि भएको भन्दै बजार अनुगमनको तयारी थालेको समितिले जनाएको छ । समिति सदस्य एवं नेपाली कांग्रेसका नेता प्रकाश रसाईलीले चाडपर्व पनि नजिकिँदै गएको समयमा व्यापारीहरूले उपभोेग्य वस्तुहरूको अस्वभाविक रूपमा मूल्य वृद्धि गर्नसक्ने भएकोले बजार अनुगमनमा जाने तयारी गरेको बताए ।

‘तत्कालको लागि भने हामी दशैँ, तिहार तथा छठसम्म अनुगमन गर्नेछौँ’, उनले भने, ‘उक्त समयमा उपभोग्य वस्तुहरूको समस्या नहोस् , मूल्यवृद्धि नहोस् भन्ने उद्देश्य राखी अघि बढेका हौँ । यसका साथै समितिको उत्तरदायित्व पनि भएको हुँदा बजार अनुगमन भने निरन्तर हुन्छ ।’

‘पहिलो चरणमा सम्बन्धित निकायलाई अनुगमनको लागि निर्देशन दिन्छौँ’, उनले भने, ‘त्यसपछि समिति नै बजार अनुगमनको लागि बजारमा पुग्नेछ । यही मितिबाट जाने भन्ने विषयमा भने निर्णय भइसकेको छैन तर नियमक निकायसँग छलफल गरी अघि बढ्ने छौँ ।’ पछिल्लो समय काठमाडौँ महानगरपालिका, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलगायतले बजार अनुगमन गरेका छन् भने समितिले ती नियमक निकायहरूलाई अनुगमनको लागि निर्देशन दिने बताएको छ । यसका लागि समितिले रसाइलीको संयोजकत्वमा चार सदस्यीय उपसमिति निर्माण गरेको छ । जसको सदस्यमा अमृतादेवी अग्रहरी, दिलकुमारी, माया देवी न्यौपाने रहेका छन् । बजार अनुगमन गरेसँगै उसले ४५ दिनभित्रमा प्रतिवेदन तयार गर्ने समेत बताइएको छ ।

विशेषगरी चाडपर्वमा व्यपारीहरूले आफूखुशी बजारमा मूल्यवृद्धि गर्ने गरेका छन् जसले गर्दा उपभोक्ताहरू मारमा पर्ने गरेको पाइन्छ । तर अहिले भने कोभिडका कारण समेत बजारमा चहलपहल हुने अवस्था नभएको स्थितिमा समेत तरकारी, पानी, खाद्यन्नलगायतमा व्यवसायीहरूले मूल्य वृद्धि गरेको उपभोक्ता अधिकारकर्मीहरूको भनाइ रहेको छ ।

सांसद रसाइलीले बजार अनुगमनमा जानुको साथै पछिल्लो समय जार तथा बोतलको पानीमा गरिएको मूल्यवृद्धिको विषयमा समेत सरकारी संलग्नता रहे/नरहेको अध्ययन गर्ने बताए । ‘पहिले पानीको मूल्य वृद्धि गर्ने अनि पछि पुनः मूल्य कम गर्नुले विभिन्न आशंका पैदा गरेको छ’, उनले भने, ‘त्यसैले समितिले यसको बारेमा सम्बन्धित पक्षसँग जानकारी लिई सत्य विषय बाहिर ल्याउने छ ।’ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २६ साउनमा जार र बोतलको लिटरमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) क्रमशः ५० र १६ रूपैयाँ निर्धारण गरेको थियो भने सरकारी कर्मचारी, उपभोक्ता अधिकारकर्मी र व्यापारी गरी तीनै समूहको समझदारीमा जार र बोतलको पानीको मूल्य वृद्धि गरिएको थियो ।

यस्तै समितिले बिहीबारको बैठकमा पानीको मूल्यवृद्धिको विषयमा सरोकारवालाहरू सँग छलफल गर्ने भएको छ । त्यसपछि क्रमशः खाद्य संस्थान, साल्ट ट्रडिङ, आयल निगमसँग भएको वस्तु र तिनीहरूको मूल्यको विषयमा छलफल गर्ने छ । चाडपर्वमा मूल्य नियन्त्रण तथा आवश्यक वस्तुहरूको अभाव नहोस् भन्ने विषयलाई ध्यानमा राख्दै समिति अघि बढेको बताइएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया