Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालचार्थलीको सिंगो टोल नै ठगेर एक निजी कम्पनी फरार

चार्थलीको सिंगो टोल नै ठगेर एक निजी कम्पनी फरार


सुबास बस्नेत
दोलखा ।
अनुदानको लोभ देखाई एक निजी कम्पनीले दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ३ चार्थलीका सयौं किसानलाई ठगेर फरार भएको छ । कृषकसँग ठूलो रकम उठाएर सम्पर्कविहीन बनेका उक्त कम्पनी एक वर्ष बितिसक्दा पनि सम्पर्कमा नआएपछि यहाँका कृषकहरूले कम्पनीलाई कारबाही गरिदिन माग गरेका छन् ।

एसोसियसन अफ एग्रिकल्चर नेपाल प्रालि नामक कम्पनीले दोलखाको भीमेश्वर नगरपालिका र विगु गाउँपालिकाका कृषकहरूसँगबाट ३१ लाख छ हजार पाँच सय रुपैयाँ उठाई फरार भएको हो । उक्त कम्पनीका प्रोपाइटर गणेशदत्त भट्टले दोलखाका कृषकहरूलाइ कम्पनीको सदस्य बनाई सदस्यबाट उठाएको रकम १२ लाख २४ हजार पाँच सय, पशुपन्छी माग गर्न उठाएको तीन लाख २४ हजार, घरभाडा एक लाख आठ हजार र कर्मचारीको तलबबापतको १३ लाख ५० हजार गरी ३१ लाख छ हजार पाँच सय रुपैयाँ उठाई फरार भएको भीमेश्वर नगरपालिका चार्थलीकी कृषक सुन्दरी कार्कीले जानकारी दिइन् ।

आफूलाई गाउँमा आएर जागिर र अनुदानको आस देखाएर आठ लाख रुपैयाँ रकम उठाएर कम्पनी नै फरार भएको उनको भनाइ छ । त्यस्तै सोही गाउँकी कृषक रिता सुवेदीले पनि आफूलाई अनुदानमा बाख्रा दिने लोभ देखाएर उक्त कम्पनीले सदस्य बनाइ रकम असुल गरेर फरार भएकोले कारबाही गर्न माग गरेकी छन् । उक्त कम्पनीबाट ठगिएका कृषकहरूहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै कम्पनीको सञ्चालनलाई खोजी गरी क्षतिपूर्ति भराउन र कारबाही गर्न माग गरेका छन् । उक्त कम्पनीले गाउँगाउँमा गएर कम्पनीको सदस्य बन्नेलाई व्यावसायिक कृषि खेती गर्नको लागि ५० प्रतिशत अनुदान दिने भन्दै सदस्य बनाएको थियो ।

सहकारीको शैलीमा सदस्यता बनाउने तथा मासिक रकम उठाउँदै आएको उक्त कम्पनीले, उन्नत जातका बाख्रा, गाई र बीउबिजन ल्याउने भन्दै कृषकहरूसँग रकम असुलेको थियो । ५० प्रतिशत कम्पनीले व्यहोर्ने र ५० प्रतिशत कृषकले व्योहोर्ने भन्दै रकम उठाएर गाई लिन हिँडेका कम्पनीका प्रोपाइटर गणेशदत्त भट्ट एक वर्षदेखि सम्पर्कविहीन छन् । कम्पनीले मासिक १६ हजार तलब दिन्छ भन्ने आशामा कृषकको घर घरमा पुगी पाँच सयका दरले पैसा उठाउँदै सदस्य बनाउन हिँडेकी स्थानीय कर्मचारी सुन्दरी कार्कीलाई कृषकले पैसा फिर्ता दिन दबाब दिइरहेका छन् ।

आफूहरूलाई कृषकहरूले दबाब दिन थालेपछि जिल्ला प्रशासन दोलखामा ज्ञापनपत्र बुझाएको उनले बताइन् । उक्त कम्पनीले करिब एक हजार पाँच सय कृषकलाई ठगी गरेको छ । एसोसियसन अफ एग्रिकल्चर नेपाल प्रालि नामक कम्पनी कोहलपुर नगरपालिका ११, बाँके २०७३ सालमा दर्ता भएको छ । ठगसंस्थालाई तत्कालीन भीमेश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण उप्रेतीले २०७५ कात्तिक १४ गते र बिगु गाउँपालिकाका प्रमुख युधिष्ठर खड्काले २०७६ साउन १९ गते कार्यक्रम सञ्चालन गर्न अनुमति दिएका थिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया