Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसुदूरपश्चिमका जिल्ला नगरका अध्यक्षहरूको प्रधान समूहलाई सघाउने प्रतिबद्धता

सुदूरपश्चिमका जिल्ला नगरका अध्यक्षहरूको प्रधान समूहलाई सघाउने प्रतिबद्धता


काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयन गर्नका लागि आगामी मंसिर दोस्रो साता हुने निर्वाचनलाई लक्षित गर्दै वरिष्ठ उपाध्यक्षका प्रत्याशी किशोर प्रधानले देशव्यापी भ्रमणलाई तीव्र पारेका छन् । यस क्रममा महासंघका भावी अध्यक्ष शेखर गोल्छा, पूर्वअध्यक्षहरु पशुपति मुरारका, जिल्ला नगरतर्फका उपाध्यक्षका प्रत्याशी दिनेश श्रेष्ठलगायतसँग प्रधानले सुदूरपश्चिम प्रदेशको जिल्ला नगर संघका मतदातासँग भेटघाट गरेका छन् ।

आफ्ना उम्मेदवार तथा पूर्वअध्यक्षहरुसहित सुदूरपश्चिम पुगेका किशोर प्रधानलाई सुदूरपश्चिम प्रदेशका नौवटै जिल्ला संघले सर्वसम्मत विजयी गराउने प्रतिबद्धता जनाएका छन् । महासंघमा किशोर प्रधान र दिनेश श्रेष्ठको धेरै लामो अनुभव भएकाले जिल्ला नगरको भावना बुझ्नसक्ने क्षमता भएका व्यक्तिलाई सर्वसम्मत निर्वाचित गरिनुपर्ने सुदूरपश्चिमका जिल्ला नगरका प्रतिनिधिहरुले बताएका छन् ।

बुधबार महेन्द्रनगरमा भएको मतदातासँगको भेटघाट कार्यक्रममा उपस्थित जिल्ला नगर उद्योग वाणिज्य संघका प्रतिनिधिले किशोर प्रधानलाई एकजुट भएरै निर्वाचित गराउने प्रतिबद्धता जनाएका हुन् । भावी अध्यक्षले समर्थन गरेको समूहलाई मत दिएको खण्डमा महासंघको नयाँ कार्यसमिति बलियो हुने जिल्ला नगरका अध्यक्षहरुको भनाइ छ । भावी अध्यक्षले समर्थन नगरेको समूह महासंघमा आउँदा कार्यसमिति कमजोर हुने भन्दै उनीहरुले प्रधानको समूहलाई मात्र नभई गोल्छालाई सघाउने प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नर बहादुर चन्द, बाजुरा उद्योग वाणिज्य संघका अध्यक्ष देव बहादुर रोकाया, डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्ट, दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगल सिंह थगुना, बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दान बहादुर सुर्मेली, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प बहादुर कुँवर र कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जङ्ग बहादुर मल्लको सहभागिता रहेको थियो । डोटी र अछाम उद्योग वाणिज्य संघका अध्यक्ष भने कोभिड संक्रमणका कारण कार्यक्रममा उपस्थित हुन सकेनन् । उनीहरुले भर्चुअल माध्यमबाट किशोर प्रधानलाई एक ढिक्का भएर समर्थन गर्ने प्रतिबधता जनाएका छन् ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्षका प्रत्याशी किशोर प्रधानले महासंघको साख जोगाउन र जिल्ला नगरका वास्तविक समस्याको पहिचान गर्दै समाधान गर्न जिल्ला नगरतर्फका व्यक्ति महासंघको नेतृत्वमा पुग्नुपर्ने बताए । उनले निर्वाचन भीडले नभई भोटले जितिने सन्देश प्रवाह गर्दै महासंघलाई नयाँ उचाइ दिने व्यक्तिलाई मतदान गर्न आग्रह गरेका थिए । आफू भीड जम्मा गर्न नभई भोट जम्मा गर्न अभियानमा लागेको भन्दै भोटको उचित सदुपयोग गर्न पनि उनले मतदाताहरुसँग आग्रह गरेका छन् । अनुभवले नतिजा देखाउन सकिने भन्दै महासंघको शाख अझै उकास्न बलियो र सबल कार्यसमिति चयन गराउनुपर्ने प्रधानको भनाइ थियो । महासंघका भावी अध्यक्ष गोल्छासहितको आफ्नो समूहले मात्र महासंघलाई नयाँ उचाइमा पु¥याउने प्रधानले बताए ।

कार्यक्रममा महासंघका भावी अध्यक्ष शेखर गोल्छाले आफ्नो कार्यकालमा धेरै काम गर्ने योजना बनाएको र त्यसका लागि प्रधानको समूह आवश्यक रहेको बताएका थिए । गोल्छाले आफूलाई अनुभवी मान्छेसँग काम गर्ने चाहना भएकाले प्रधानको समूहलाई नेतृत्वमा ल्याउने वातावरण बनाइदिन मतदातासँग आग्रह गरेका थिए । प्रधानले जनकपुरबाट सुरु गरेको मतदाता भेटघाट कार्यक्रम मध्यनेपाल हुँदै सुदुर पश्चिम पुगेको हो । जिल्ला नगरका प्रतिनिधिहरुसँगको भेटघाट अभियान अझै जारी रहेको प्रधानले जानकारी दिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया