Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालस्वावलम्बन विकास केन्द्रको २९औँ साधारणसभा

स्वावलम्बन विकास केन्द्रको २९औँ साधारणसभा


काठमाडौं ।
स्वावलम्बन विकास केन्द्रको २९औं साधारणसभा सम्पन्न भएको छ । कोरोना महामारीका कारण केन्द्रले शुक्रबार आफ्नो साधारणसभा अनलाइन माध्यमबाट सम्पन्न गरेको हो । साधारणसभाले उद्यमशीलता प्रवद्र्धन र पर्यावरणमैत्री गाउँ विकास गर्न पहल गर्नेलगायतका निर्णयहरू गरेको छ ।

सभामा केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले केन्द्रको आर्थिक वर्ष २०७६/०७७ को आयव्यय विवरण तथा कार्यप्रगति विवरणसहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । केन्द्रले गत आर्थिक वर्ष २०७६/०७७ मा लघुवित्त संस्थाका पदाधिकारी तथा कर्मचारीहरूको क्षमता तथा दक्षता अभिवृद्धि गर्न विभिन्न विषयमा सातवटा तालिम, २० वटा गोष्ठी तथा अन्तर्राष्ट्रियस्तरमा लघुवित्तमा भएका नयाँ–नयाँ कार्य प्रणालीबारे जानकारी गराउन छवटा अन्तर्राष्ट्रिय अध्ययन अवलोकन भ्रमणहरूको आयोजना गरेको थियो । जसबाट विभिन्न लघुवित्त संस्थाका आठ सय ८० जना पदाधिकारी तथा कर्मचारीहरू लाभान्वित भएका थिए ।

श्रेष्ठले आर्थिक वर्ष २०७६/०७७ मा ‘स्वच्छ लघुवित्त हाम्रो अभियान’को सन्देश गाउँस्तरसम्म पु-याउन सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा प्रदेशस्तरीय लघुवित्त सदस्य सम्मेलन सम्पन्न गरेको र जसमा २ सय ९ महिला र ५७ जना पुरुष गरी २ सय ६६ जना सहभागी रहेको तथ्य प्रस्तुत गरेका थिए । यसैगरी केन्द्रले दुईवटा कार्यविवरण र तीनवटा अध्ययन प्रतिवेदन तयार गरेकोे जानकारी दिए ।

प्रतिवेदन प्रस्तुतिका क्रममा अध्यक्ष शंकरमान श्रेष्ठले आगामी दिनमा गरिब, विपन्न तथा पिछडिएका समुदाय र महिलाहरूको जीवनस्तर उकास्न लघुवित्त संस्थाहरूमार्फत पहल गर्ने बताए । जसअन्तर्गत आर्थिक र्ष २०७७/७८का लागि लकडाउनका कारण लघुवित्त क्षेत्रमा परेको असर र चुनौतीहरूको सामना गर्न नियमित रुपमा अनलाइन वेबिनारहरू आयोजना गर्ने, सदस्यको क्षमता विकास र तिनका छोराछोरीहरू एवं विदेशबाट फर्केका युवा जनशक्तिलाई स्वदेशमै लघुउद्यम/व्यवसाय गर्न आवश्यक सीप विकासको लागि तालिमको व्यवस्था गर्ने, स्थानीयस्तरमा लघु उद्यम तथा उद्यमशीलता प्रवर्द्धन गर्न उत्कृष्ट लघुउद्यमी महिला सदस्यहरूलाई उद्यमशीलता विकास पुरस्कार प्रदान गरी प्रोत्साहित गर्नेलगायतका रणनीति तय गरेको जानकारी गराएका थिए ।

सोही क्रममा केन्द्रले चालू आर्थिक वर्षमा लघुवित्त सेवाबाट वञ्चित अतिविपन्न परिवार तथा समुदायसम्म सेवा पु-याउन लघुवित्त संस्थाहरूसँग समन्वय गर्ने तथा बढ्दो पर्यावरणीय विनाश र यसको कारण उत्पन्न जोखिमहरूसँग जुध्न पर्यावरणमैत्री गाउँ विकास कार्यक्रमहरू सञ्चालन गर्न लघुवित्त संस्थाहरूलाई आग्रह गर्नेजस्ता रणनीतिहरू प्राथमिकतामा राखेको जानकारी गराए ।

लेखा परीक्षणसहित, नीति तथा कार्यक्रम प्रतिवेदन २९औँ साधारणसभाबाट सर्वसम्मतिले पारित भएको छ । सभामा उपस्थित सदस्यहरूले स्वावलम्बन विकास केन्द्रको संयोजन तथा ग्रामीण प्रविधि केन्द्रको सहकार्यमा सुरु गर्नलागेको पर्यावरण मैत्री गाउँ (इको भिलेज) निर्माण अभियानलाई सबैले सहकार्य गरेर देशव्यापी अभियानको रुपमा लैजान सकिने धारणा राखेका थिए ।

वित्तीय पहुँचको माध्यमबाट ग्रामीण क्षेत्रका विपन्न समुदायको जीवनस्तरमाथि उकास्दै गरिबी निवारण गर्ने दूरदृष्टिका साथ विक्रम संवत् २०४८ साउन २८ गते स्थापना भएको स्वावलम्बन विकास केन्द्रका देशभर ४३ वटा संस्थागत सदस्य, १२ जना व्यक्तिगत सदस्य तथा करिब एक दर्जन अन्तर्राष्ट्रिय साझेदार संस्थाहरू छन् । विगत २९ वर्षको दौरानमा केन्द्रले पिछडिएको समुदाय, विपन्न वर्ग, विशेषतः गरिब पिछडिएका महिला वर्गको सामाजिक र आर्थिक अवस्था उकास्न विभिन्न परियोजना तथा कार्यक्रमहरू सञ्चालन गरेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया