Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालटेलिकमको ‘पाठशाला सीयूजी सिम’ निःशुल्क वितरण

टेलिकमको ‘पाठशाला सीयूजी सिम’ निःशुल्क वितरण


काठमाडौं ।
नेपाल टेलिकमले देशभरका सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सीयूजी सिम’ योजनाअन्तर्गत निःशुल्क सिमकार्ड वितरण गरिरहेको जनाएको छ । कोरोना महामारीको समयमा पनि अनलाइन माध्यमबाट विद्यालयको पठनपाठन जारी राख्नका लागि कम्पनीले निःशुल्क सिम उपलब्ध गराइरहेको हो ।

सो सिममार्फत ग्रुपमा आबद्ध सबै विद्यार्थी वा शिक्षकहरूले एकआपसमा जति पनि (असीमित) कुराकानी गर्न र शिक्षा मन्त्रालयको कक्षा १ देखि १० सम्मको पाठ्यसामग्री रहेको वेबसाइट लर्निङ डट सीईएचआडी डट ईडीयू डट एनपी चलाउन ५ जीबी डाटा र एकैपटक धेरै सन्देश अर्थात् बल्क एसएमएससमेत पठाउन सक्नेछन् ।

कम्पनीका अनुसार यी सुविधा प्रयोग गरेबापत मासिक रुपले लाग्ने जम्मा ९९ रुपैयाँ ‘विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ बमोजिम स्थानीय निकायमार्फत सरकारले व्यहोर्नेछ । यस योजनाबमोजिम कक्षा १ देखि १२ सम्मका सरकारी वा सामुदायिक विद्यालयका हरेक विद्यार्थी र शिक्षकले १ थान निःशुल्क पाठशाला सीयूजी सिमकार्ड लिन सक्नेछन् ।

प्रशस्त सहुलियत प्रदान गरिएको आकर्षक यस योजनामा आबद्ध हुन नेपाल टेलिकमको जीएसएम वा सीडीएमए प्रिपेड मोबाइल नम्बर आवश्यक पर्दछ । विद्यार्थी र शिक्षकले चाहेमा पहिलेदेखि नै उनीहरूले प्रयोग गरिरहेको प्रिपेड सिमकार्डलाई पनि पाठशाला सीयूजीमा आबद्ध गर्न पनि सकिनेछ । नेपाल टेलिकमको प्रिपेड सिमकार्ड नहुने विद्यार्थी वा शिक्षकहरूले निःशुल्क रुपमा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्ड लिन सक्नेछन् ।

विद्यार्थीको लागि सिमकार्ड लिँदा विद्यार्थीको नाममा वा अभिभावकको नाममा लिन सकिनेछ । निःशुल्क सिम प्राप्त गर्नका लागि शिक्षक तथा विद्यार्थीले कम्पनीले निर्धारण गरेको प्रिपेड मोबाइलको आवेदन फाराम रीतपूर्वक भरी सम्बन्धित सार्वजनिक विद्यालयमा बुझाउनुपर्नेछ । यसरी आवेदन फारमको साथमा विद्यार्थीको परिचयपत्रको प्रतिलिपि, विद्यार्थीको नागरिकताको प्रतिलिपि वा नागरिकता नबनेको भएमा अभिभावकको नागरिकताको प्रतिलिपि संलग्न गर्नुका साथै आवेदन फारामको निर्धारित स्थानमा एक प्रति फोटो टाँसिएको हुनुपर्नेछ ।

विद्यार्थीले सिमकार्ड उनीहरूकै वा अभिभावकको नाममा पनि लिन सक्नेछन् । विद्यालयले पाठशाला सीयूजीमा आबद्ध हुने सम्पूर्ण शिक्षक, विद्यार्थी र अभिभावकहरूको सीयूजीमा आबद्ध गर्नुपर्ने मोबाइल नम्बर र नामसहितको विवरण तोकिएको ढाँचामा तयार गरेर सो विवरणसहित स्थानीय तहको सिफारिस साथ नजिकैको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गरी सो बापत लाग्ने शुल्क भुक्तानी गर्नुपर्दछ । त्यसपश्चात् सो ग्रुपमा आबद्ध सबै मोबाइल नम्बरहरूमा एसएमएसमार्फत जानकारी उपलब्ध हुन्छ ।

प्रत्येक विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकलाई कम्पनीको पाठशाला सीयूजी सिममा आबद्ध गरी मासिक जम्मा ९९ रुपैयाँमा क्लोज्ड ग्रुपभित्र असीमित कुराकानी गर्न सकिने भ्वाइस सेवा, शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेबसाइट चलाउन ५ जीबी डाटा सेवा र बल्क एसएमएस सुविधा समेत उपलब्ध गराइनेछ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेबसाइटमा कक्षा १ देखि १० सम्मको पाठ्यक्रम र पाठ्य सामग्रीहरू उपलब्ध हुन्छ ।

पाठशाला सीयूजी अफरको अवधि समाप्तिपश्चात् पनि यो अफरमा आबद्ध मोबाइल नम्बरहरू प्रयोगकर्ता शिक्षक, विद्यार्थी र अभिभावकले अन्य प्रयोगकर्ताको मोबाइल नम्बरसरह नै निरन्तर प्रयोग गर्न सकिन्छ । नेपाल टेलिकमका देशभरिका सेवा केन्द्रहरूबाट सार्वजनिक विद्यालयले माग अनुसार निःशुल्क पाठशाला सीयूजी सिम लिन सक्नेछन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया