Techie IT
×
गृहपृष्ठनेपालबैतेश्वरको पाँडुडाँडामा सहिद पार्क निर्माण

बैतेश्वरको पाँडुडाँडामा सहिद पार्क निर्माण


दोलखा ।
दोलखाको बैतेश्वर गाउँपालिकाले सहिद पार्क निर्माण गरिरहेको छ । गाउँपालिकाले जनयुद्ध र जनआन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा पालिका केन्द्रसँगै सहिद पार्क निर्माण गर्न लागेको हो । पर्यटकको आकर्षणको केन्द्रविन्दुका रुपमा पालिकाको केन्द्रलाई स्थापित गर्न गाउँपालिकाले सहिद पार्क निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष छवि लामाले बताए । उनका अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा गाउँपालिकाको छुट्याएको ५ लाख र चालू आर्थिक वर्षमा प्रदेश सरकारले छुट्याएको २५ लाख रुपैयाँमा सहिद पार्क निर्माण भइरहेको छ ।

जनयुद्ध र जनआन्दोलनमा सहादत प्राप्त गर्ने व्यक्तिको शालिक राखेर उनीहरूको सम्मान गर्ने बैतेश्वरवासीको चाहना रहेको हुँदा सहिद पार्क निर्माण गर्न लागिएको पालिका उपाध्यक्ष रबिचन्द्र आचार्यले बताए । उपाध्यक्ष आचार्यका अनुसार बैतेश्वर गाउँपालिका समुद्री सतहदेखि करिब ८८६ मिटरदेखि ३०४७ मिटरसम्मको उचाइमा रहेको छ । यस गाउँपालिकाको क्षेत्रफल ८० दशमलव ४१ वर्ग किमि छ ।

साविकका क्षत्रपा, नाम्दु, काबे्र, गैरीमुदी, मीर्गे गाविस मिलेर यो पालिका बनेको छ । तामाङ, क्षेत्री, बाह्मण, जिरेल, थामीलगायतका जातजातिको बाहुल्य रहेको यस गाउँपालिकाको प्रमुख व्यापारिक नाका तथा बजारहरू मैनापोखरी, खाँवा, तामाकोशी, नाम्दु, लहरेमाने, पुतलीकाठ आदि पर्दछन् । पूर्वमा जिरी नगरपालिका, पश्चिममा भीमेश्वर नगरपालिका, उत्तरमा गौरीशंकर गाउँपालिका तथा कालिञ्चोक गाउँपालिका र दक्षिणमा तामाकोशी गाउँपालिका रहेको यो पालिका जिरी जाने प्रमुख नाका हो ।



तपाईको प्रतिक्रिया