Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालदोलखामा क्रसर उद्योग बन्द

दोलखामा क्रसर उद्योग बन्द


दोलखा ।
जिल्लाको प्रमुख नदी तामाकोशी आसपासको किनारमा वर्षौंदेखि अवैधरूपमा नदीजन्य पदार्थको बिक्रीवितरण तथा उत्खनन हुँदै आएको छ । नदिजन्य पदार्थ ढुङ्गा, बालुवा, गिट्टीको व्यापार नदीछेउमा अस्तव्यस्त ढङ्गले खोलेका क्रसर उद्योगले गर्दै आएका छन् । कतिपय स्थानमा केही व्यक्तिहरू नै सक्रिय भएर नदिजन्य पदार्थको तस्करी गर्दै आएका छन् ।

पछिल्ला दिनमा नदीजन्य पदार्थको अवैध उत्खनन बढ्दै गएको पाइएपछि जिल्लाका सरोकारवाला निकायले सबै प्रकारका क्रसर उद्योग बन्द गर्ने निर्णय गरेका छन् । जिल्लामा ढुङ्गा, गिट्टी बालुवा तथा नदीजन्य पदार्थको उत्खनन बिक्री तथा व्यवस्थापन गर्न गठित जिल्ला अनुगमन समितिको बैठकले अर्को सूचना नआउँदासम्मलाई जिल्लाभित्र संचालनमा रहेका क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका संयोजक डबल पाण्डेले जानकारी दिए ।

अनुगमन समिति तथा क्रसर व्यवसायीहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । जिल्लाको तामाकोशी आसपास क्षेत्रमा केही समयअघि अनुगमन समितिले अनुगमन समेत गरेको थियो । जिल्लामा सञ्चालनमा रहेका एक दर्जनभन्दा बढी क्रसर उद्योगले मापदण्ड पूरा नगरेको र केही क्रसर उद्योग दर्ताविना सञ्चालन भइरहेको पाइएकाले अनुगमन टोलीले सबै उद्योग बन्द गर्न निर्देशन दिएको हो । अहिलेसम्म दर्ता नभएका र मापदण्ड पूरा नगरी सञ्चालन गरिएका क्रसर उद्योगहरूलाई दर्ता प्रक्रियामा जान निर्देशन दिएको जिल्ला समन्वय समिति दोलखाका प्रमुख एवं अनुगमन समितिका संयोजक डबल पाण्डेले बताए ।

वातावरण संरक्षणका लागि कडारूपमा प्रस्तुत हुने अनुगमन समितिले जनाएको छ । क्रसर उद्योगद्वारा उत्पादन गरिएका मौज्दात सामग्री सम्बन्धित पालिकाबाट स्टक प्रमाणित गरेर मात्र बिक्रीवितरण गर्न निर्देशन दिइएको छ । यसैगरी कालिञ्चोक गाउँपालिका ७ कोशिखेतमा तामाकोशी नदीको किनारमा अवैधरूपमा प्राकृतिक स्रोत नदीजन्य पदार्थ बालुवा उत्खनन तथा निकासी गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएका तीनवटा सवारी साधनलाई जरिबाना गर्ने निर्णय गरिएको छ ।

दोलखा जिल्ला प्राकृतिक स्रोत तथा नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) उत्खनन् एवम् संकलनसम्बन्धी नियमन कार्यविधि २०७६ मा भएको व्यवस्थाअनुसार अवैधरूपमा उत्खनन् तथा संकलन कार्यमा संलग्न ब्याकलोडरलाई एक लाख र टिपरको हकमा प्रतिटिपर ३० हजारका दरले ६० हजार जरिबाना गराउने निर्णय भएको हो । यसअघि अवैध ढङ्गले तामाकोशी नदीमा बालुवा उत्खनन गरेर बिक्री गर्ने करिब दुई दर्जन साधनलाई प्रहरीले कारबाही गरेको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया