Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालऐतिहासिक चक्रवर्ती मन्दिरमा देवलको उत्खनन सुरु

ऐतिहासिक चक्रवर्ती मन्दिरमा देवलको उत्खनन सुरु


दमौली ।
तनहुँको देवघाट गाउँपालिका–५ स्थित ऐतिहासिक महत्वको चक्रवर्ती मन्दिरमा रहेका देवलको उत्खनन सुरु भएको छ । पुरातत्व विभागको टोलीले मन्दिरमा रहेका देवलको उत्खनन सुरु गरेको हो । चार दिनदेखि विभागको टोलीले देवलको उत्खनन थालेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिए । ‘धार्मिक, ऐतिहासिक एवं पुरातात्विक महत्वको क्षेत्र देवघाटधामको मध्यभागमा अवस्थित चक्रवर्ती मन्दिर परिसरमा भग्न अवस्थामा रहेका देवलको उत्खनन कार्य भइरहेको छ’, उनले भने, ‘उत्खनन थप १५ दिनसम्म चल्नेछ ।’ देवल उत्खननका लागि दैनिक २० जना कामदार खटिएका छन् ।

उत्खनन कार्यले देवल कुन शैली, कुन ढाँचा र कस्तो कला संस्कृतिको हो भनेर पहिचान गर्न सहयोग पुग्नेछ । ‘केही महत्वपूर्ण चिज छन् कि भन्नलाई पनि उत्खननले सहयोग पुग्छ’, पौडेलले भने । भग्न अवस्थामा रहेको चक्रवर्ती मन्दिर दुई वर्ष पहिला पुरातत्व विभागले ८० लाख रुपैयाँको लागतमा पुनर्निर्माण गरेको थियो । उत्खनन हुँदै गर्दा पाल्पाका राजा मुकुन्दसेनले वि.सं. १५०६ मा चक्रवर्ती मन्दिरको समुद्घाटन गरेको शिलालेख भेटिएको छ । सो शिलालेखलाई हाल निर्माण गरिएको चक्रवर्ती मन्दिरको बाहिरी भागमा देखिने गरी राखिएको छ । चक्रवर्ती मन्दिर सिमेन्ट र फलामको प्रयोग नगरी निर्माण भएको छ । ‘देवघाट ऐतिहासिक, पुरातात्विक महत्वको संवेदनशील क्षेत्र हो’, अध्यक्ष पौडेलले भने, ‘पुरातत्व विभागले जिल्ला समन्वय समिति, देवघाट गाउँपालिका, क्षेत्र विकास समिति लगायतलाई पत्राचार गरेर उत्खनन गरिरहेको छ ।’

उत्खननपछि पुनर्निर्माण गर्दा कस्तो बनाउने भन्ने डिजाइन तयार गरिनेछ । मन्दिरको मूल गृह पुनः निर्मित मन्दिर नै रहने र देवी, गणेश, भैरव, सूर्यका भग्नावशेष संरचनाको ढाँचा र शैली, जग, बरण्डा कस्तो छ भनेर छलफल गर्ने र पुनर्निर्माणको योजना बनाइने जनाइएकोे छ । ‘बनाउन सक्ने बजेट नभए त्यसलाई सुरक्षित गरेर राख्ने र दर्शनीय बनाउने जिम्मेवारी पनि पुरातत्व विभागकै हो’, उनले भने । कालीगण्डकी किनारमा रहेको देवघाटधामको इतिहास मुकुन्दसेनसँग जोडिएको छ । देवघाटधाममा मध्यकालीन भग्नावशेषका रुपमा मुकुन्दसेनले पञ्चदेवल निर्माण गरेका थिए । साथै मणि मुकुन्दसेनको श्री विग्रह शिला पनि रहेको छ । जसलाई चक्रशीलाको नामले चिनिन्छ । मुकुन्दसेनले देवघाटधाममा १२ वर्ष तपस्या गरेको किंवदन्ती रहेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया