Techie IT
×
गृहपृष्ठनेपालगोरु तस्करीको ट्रान्जिट पोइन्ट बन्दै नेपाल

गोरु तस्करीको ट्रान्जिट पोइन्ट बन्दै नेपाल


बुटवल ।
पछिल्लो समय नेपाल गोरु तस्करीहरूको लागि ट्रान्जिट पोइन्ट बन्दै गइरहेको पाइएको छ । गोरु तस्करहरूले भारत र नेपालबाट गोरु तस्करी गरी बंगालादेशको बाटो हुँदै युरोप लाने गरेका छन् । पछिल्लो केही दिनयता रूपन्देही प्रहरीले जिल्लाका विभिन्न ठाउँहरूबाट तस्करी गरिएको गोरुहरू धमाधम पक्राउ गरिरहेको छ । पशु क्वारेन्टाइन चेकपोष्ट बेलहिया रूपन्देहीका कार्यालय प्रमुख तथा क्वारेन्टाइन अधिकृत डा. शिवलाल भुसालका अनुसार पछिल्लो १० दिनमा मात्रै सवारीसाधनसहित दर्जनौँ गोरु बरामद गरी प्रहरी कार्यालयहरूले आवश्यक कारबाहीका लागि पठाएको छ ।

डा. भुसालका अनुसार मंसिर २० गते इलाका प्रहरी कार्यालय बुटवलले बैजनाथ गाउँपालिका वडा नं. ५ वाट आएका पाँचवटा गाडीभित्र एक सय २१ वटा गोरु, मंसिर २२ र २३ गते इलाका प्रहरी कार्यालय लुम्बिनीले दुईवटा गाडीमा ३० वटा गोरु र इलाका प्रहरी कार्यालय धकधईले २८ वटा गोरुहरू बरामद गरी आवश्यक कारबाहीको लागि क्वारेन्टाइन कार्यालय बेलहिया पठाएको छ । तीनवटा प्रहरी कार्यालयले विभिन्न मितिमा एक सय ७९ वटा गोरु, सवारीसहित सवारीचालक नियन्त्रणमा लिएको छ । खरिदबिक्रीको बिल र भेटेनरीको प्रमाण पत्र भएपछि गोरु ओसारप्रसार गर्न मिल्ने कानुनी व्यवस्था रहेको डा. भुसालले जानकारी दिए । भुसालले बिल र भेटेनरीको प्रमाणपत्र नहुनेको हकमा प्रति सवारीसाधन पाँच हजार रूपैयाँ जरिवाना लिएर छोड्ने गरेको बताए ।

इलाका प्रहरी कार्यालय लुम्बिनीले पठाएका गोरुहरूको अनलाइन बिल तथा भेटेनरी प्रमाणपत्र थियोे तर स्थानीय तहको सिफारिस थिएन । लुम्बिनी सांस्कृतिक नगरपालिकाभित्र कहीँकतै गोरुको कारोबार नहुने कुरा स्थानीय तहले पठाएको अर्को पत्रमा उल्लेख थियो । ‘प्रहरीले हामीकहाँ आवश्यक कारबाही गर्न भनेर पठाउनु हुन्छ । भन्सारले लिँदैन । हामीले कानुनले जे अधिकार दिएको छ त्यही अधिकारलाई प्रयोग गरेर कारबाही गरी पठाउँछौँ । लिलाम बिक्री ग-यो भने पनि बिक्री नै हुँदैन । पालेर राख्न सम्भव छैन । प्रतिसवारीसाधन पाँचहजार रूपैयाँ जरिवाना तिराएर छोड्छौँ’, अधिकृत भुसालले भने ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले प्रहरीले पक्राउ गरेर क्वारेन्टाइन पठाउनुको विकल्प नभएको बताए । पशु ढुवानी मापदण्ड २०६४ का अनुसार सवारीसाधनमा एक पशु र अर्को पशुबीचको दूरी मापदण्डअनुसार नहुने, गाई, भैंसी, गोरु मिसाएर एउटै सवारीसाधनमा राख्ने, पाडापाडी र बाच्छाबाच्छीलाई ठूलाको बीचमा राखेको अवस्था र कानुनी व्यवस्थालाई हेरेर कारबाहीको लागि सम्बन्धित कार्यालयलाई सिफारिस गर्ने अधिकार मात्र प्रहरीसँग भएको बताए ।

एक सरकारी उच्च अधिकारीका अनुसार भारतमा छाडा छोडिएका गोरुहरू एकै ठाउँमा जम्मा गरिन्छ । जम्मा गरिएका उक्त गोरुहरूलाई पाँच/सात दिन जति समय लाग्छ हिँडाएर नेपालमा प्रवेश गराइन्छ । नेपालमा पनि गाईगोरुसम्बन्धीको कानुनी प्रक्रिया अलि झन्झटिलो भएकोले तस्करहरूले कानुन सम्भतः नै सहजरूपमा लैजाने व्यवस्था खोज्दछन् । सम्भव हुनेले क्रितेबिल तथा भेटनरी प्रमाणपत्र बनाएर ढुवानी गर्दछन् भने नहुनेले प्रहरीलाई स्वम् सूचना दिएर पक्राउ गराउँछन् । प्रहरीले विशेष सूचनाको आधार भन्दै पक्राउ गरेर क्वारेन्टाइन कार्यालयलाई आवश्यक कारबाहीको सिफारिस गर्छ ।

क्वारेन्टाइनले कागजात हेर्छ । बिल र प्रमाणपत्र नभएजरिवाना तिराएर छोड्छ । जरिवाना तिरिसकेपछि उनीहरूले निर्बादरूपमा देशभरि जहाँ पनि लैजान सक्ने आधार बन्छ । क्वारेन्टाइनको कारबाही कारबाही नभएर उनीहरूलाई प्रोत्साहनजस्तै हुन्छ । एक हिसाबले भन्नुपर्दा आगोमाथि घ्यू थपेझैँ हो । कानुनी उपचार कमजोर छ । भन्सारले लिँदैन । लिलाम गरे किन्ने कोही हुँदैनन् । बाटोमा छोड्ने कुरा भएन । पर्याप्त गौशाला छैनन् बाँधेर राख्न । पहाडी क्षेत्रमा जोत्न पठाए पनि ती गोरुहरूले जोत्न सक्दैनन् । यी सबै कुराहरू हेर्दा कमजोर नीति नै मुख्य समस्या हो ।

आखिर किन तस्करहरूले नेपाल रोज्छन् ? विभिन्न स्रोतहरूका अनुसार खुल्ला भारतीय सीमा भएका सबै क्षेत्रहरूमा यो समस्या विकराल छ । तस्करहरूले नेपालको बाटो रोज्नुको मुख्य कारण भनेको यहाँको सहजता नै हो । अर्को ढुवानी खर्चमा हुने कमी पनि हो । भारत ठूलो देश हुँदा धेरै दूरीको यात्राले ढुवानी खर्च बढी आउनुका साथै भारतमा गाईगोरुसम्बन्धी कानुनी व्यवस्था कडा हुनाले पनि उनीहरूको रोजाइमा नेपाल पर्दछ । उनीहरूले भारतबाट कृषि प्रयोजन देखाएर नेपालमा गोरुहरू भित्र्याउने गरेका छन् ।

नेपालमा जम्मा गरिएका तथा भारतबाट नेपाल ल्याइएका गोरुहरू झापा र सर्लाहीबाट विशेष च्यानल थु्रबाट बंगलादेश पठाइन्छ । बंगलादेशबाट पुनः नयाँ प्याकेजिङ गरी युरोपियनलगायतका अन्य देशहरूमा पठाइन्छ । गोरु कहाँबाट कसले ल्याउँछ, किन ल्याउँछ के गर्छ भन्ने भरपर्दो सूचना र आधार राज्यका कुनै निकायमा पनि छैन । नत एक निकाय र अर्को निकायबीच राम्रो समन्वय हुन्छ । रूपन्देहीमा पक्राउ गरेको प्रहरी कार्यालय अथवा क्वारेन्टाइन कार्यालयले गोरु लैजाने भनिएको गन्तव्य स्थलको कार्यालयसँग समन्वय गर्ने हो भने सहजरूपमा पत्ता लाग्ने सम्भावना उच्च हुन्छ । तर त्यसो हुन नसक्दा कमजोर नीतिमा तस्करहरूले बलियो आधार बनाएका छन् ।



तपाईको प्रतिक्रिया