Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालरमेश विकल साहित्य प्रतिष्ठानद्वारा स्रष्टाहरु पुरस्कृत

रमेश विकल साहित्य प्रतिष्ठानद्वारा स्रष्टाहरु पुरस्कृत


काठमाडौं ।
नेपाली साहित्यका विराट् स्रष्टा रमेश विकलको स्मृतिमा स्थापित विविध पुरस्कार शनिबार वितरण गरिएको छ । रमेश विकल साहित्य प्रतिष्ठानले शनिवार गोकर्णेश्वर नगरपालिकास्थित प्रतिष्ठान परिसरमा एक कार्यक्रम गरी स्रष्टाहरुलाई पुरस्कार वितरण गरेको हो । प्रतिष्ठानले यस वर्षको विकल वाङमय साहित्य पुरस्कार वरिष्ठ भाषासेवी शान्तदास मानन्धरलाई प्रदान गरेको छ । यो पुरस्कारको राशी ३० हजार रुपैयाँ रहेको छ ।

यसैगरी २० हजार रुपैयाँ राशीको रमेश विकल सुशीला समाजसेवा पुरस्कार सीता पोख्रेल (अनाथाश्रम विराटनगर) लाई प्रदान गरिएको छ । साथै रमेश विकल सृजना पुरस्कार साहित्यकार तथा सौन्दर्य चिन्तक आहूतिलाई, रमेश विकल बालसाहित्य पुरस्कार बालसाहित्यकार प्रभा भट्टराईलाई र रमेश विकल सुशीला नारी पुरस्कार मिठाइ देवी विश्वकर्मालाई प्रदान गरिएको छ । रमेश विकलको कला प्रतिभालाई सम्मान गर्न स्थापित रमेश विकल कला संगीत पुरस्कार वरिष्ठ कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिएको छ । यी सबै पुरस्कारको राशी १० हजार रुपैयाँ छ । वाग्मती प्रदेशका भौतिक योजना मन्त्री रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेलगायतले स्रष्टाहरुलाई पुरस्कार वितरण गरेका हुन् ।

प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा, पुरस्कृत स्रष्टाद्वय शान्तदास मानन्धर, हरिप्रसाद शर्मा, ललितकला प्रतिष्ठानका कुलपति तथा प्रतिष्ठानका उपाध्यक्ष के. के कर्माचार्य, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य तथा प्रतिष्ठानका उपाध्यक्ष हेमनाथ पौडेल, प्रतिष्ठानका महासचिव विजय चालिसे, प्रतिष्ठानका सदस्य मातृका पोखरेल लगायतले विकलको बहुआयामीक व्यक्तित्व तथा प्रतिष्ठानका गतिविधि बारे चर्चा गरेका थिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया