Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालटेलिकमको ‘पाठशाला सीयूजी सेवा’ विद्यालयका कर्मचारी, अभिभावक र सञ्चालक समितिलाई पनि

टेलिकमको ‘पाठशाला सीयूजी सेवा’ विद्यालयका कर्मचारी, अभिभावक र सञ्चालक समितिलाई पनि


काठमाडौं ।
नेपाल टेलिकमले हाल देशभरका सार्वजनिक विद्यालयका शिक्षक तथा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुका लागि वितरण गरिरहेको ‘पाठशाला सीयूजी सेवा’ विद्यालयका कर्मचारी, अभिभावक, विद्यालय सञ्चालक समितिका सदस्यहरुलाई पनि उपलब्ध गराउने भएको छ । महामारीको अवस्थामा मुलुकभरका विद्यार्थीहरु शिक्षाबाट वञ्चित हुनु नपरोस् भनी नेपाल सरकारले लागू गरेको आकस्मिक शैक्षिक योजना २०७७ अन्तर्गत कम्पनीले पठनपाठनका लागि सहुलियत दरमा ‘पाठशाला सीयूजी सेवा’ वितरण गरिरहेको छ ।

यो अफरमा आबद्ध हुन नेपाल टेलिकमको जीएसएम वा सीडीएमए प्रिपेड मोबाइल नम्बर आवश्यक हुन्छ । पहिलेदेखि प्रयोगमा रहेका प्रिपेड सिमकार्डलाई पाठशाला सीयूजी सेवामा आबद्ध गर्न सकिन्छ । टेलिकमको प्रिपेड सिमकार्ड नहुने प्रयोगकर्ताहरुले निःशुल्क रुपमा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्ड लिई सीयूजी सेवा उपयोग गर्न सक्नेछन् ।

यसअन्तर्गत कुनै एक सार्वजनिक विद्यालयसँग सम्बद्ध भई कम्पनीको संस्थागत प्रयोगकर्ता समूह (सीयूजी) मा आबद्ध हुन सेवाग्राहीलाई मासिक जम्मा ९९ रुपैयाँ मात्र (सरकारी कर र स्वामित्व करबाहेक) लाग्दछ । यसमा आबद्ध सेवाग्राहीले क्लोज्ड ग्रुपभित्र असीमित कुराकानी गर्न सकिने भ्वाइस सेवा उपलब्ध हुनेछ । यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेबसाइटमा रहेका शैक्षिक सामग्री प्रयोग गर्न ५ जीबी डाटा उपलब्ध भएकोमा यसलाई बढाएर ८ जीबी डाटा उपलब्ध गराइनेछ ।

त्यसैगरी समूहभित्र थप शुल्कविना बल्क एसएमएस पठाउन सकिने सुविधा यथावत् छ । साथै, कुनै पनि समयमा जुनसुकै प्रयोजनका लागि १ जीबी डाटा र समूहभित्र १ सयवटा एसएमएस पठाउन सकिने सुविधा थप गरिएको छ । विद्यालयले ‘पाठशाला सीयूजी सिम’मा आबद्ध हुने सम्पूर्ण शिक्षक, विद्यार्थी र अभिभावकको मोबाइल नम्बर र नामसहितको विवरण तोकिएको ढाँचामा तयार गर्नुपर्दछ ।

सो विवरण स्थानीय तहको सिफारिसका साथ नजिकैको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गरी शुल्क भुक्तानी गर्नुपर्दछ । त्यसपश्चात् सो ग्रुपमा आबद्ध सबै मोबाइल नम्बरहरुमा एसएमएसमार्फत पाठशाला सीयूजी सेवाको जानकारी उपलब्ध हुन्छ । आकस्मिक शैक्षिक योजना २०७७ मा उल्लेखित प्रावधानबमोजिम सार्वजनिक विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरुका लागि यस समूहमा आबद्ध हुन लाग्ने रकम स्थानीय निकायले व्यहोर्ने भएकाले योजनामा सामेल हुनुअघि स्थानीय निकायको सिफारिश लिनुपर्दछ ।

यसका अलावा सार्वजनिक विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक, कर्मचारी र सञ्चालक समितिका सदस्यहरुले चाहेमा आकस्मिक शैक्षिक योजना २०७७ वाहेक पनि विद्यालयको सिफारिसमा एकमुष्ट प्रति सदस्य ९९ रुपैयाँ मात्र (सरकारी कर र स्वामित्व करबाहेक) प्रति महिनाका दरले नेपाल टेलिकमको काउन्टरमा रकम भुक्तानी गरी पाठशाला सीयूजी सेवा प्राप्त गर्न सक्नेछन् । यसका लागि स्थानीय तहको सिफारिश आवश्यक पर्नेछैन । पाठशाला सीयूजी अफरको अवधि समाप्तिपश्चात् यो अफरका लागि प्राप्त मोबाइल साधारण प्रयोगकर्ता सरह नै निरन्तर प्रयोग गर्न सकिनेछ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया